नेपालमा ४० लाख रेन्जका गाडी धेरै बिक्री, ती कुन कुन हुन् ?



काठमाडौं । नेपालमा गाडी चढ्नेहरु बढ्दै जाँदा यसको माग पनि हरेक वर्ष बढिरहेको छ । नेपालमा मागअनुसार चलिरहेका कम्पनीले नयाँ नयाँ मोडलहरु ल्याइरहेका छन् भने नयाँ कमम्पनीहरु थपिरहेका छन् ।

नेपालमा हरेक वर्ष १५ हजारभन्दा धेरै प्यासेन्जर गाडी बिक्री भइरहेका छन् । यी गाडीहरु सस्तोमा २२–२३ लाखदेखि अढाइ तीन करोडसम्मका बिक्री भइरहेका छन् ।

भन्सार दर धेरै भएका कारण भारतको तुलनामा नेपालमा प्रायः गाडीहरु महंगो पर्छन् । नेपालमा विभिन्न रेन्जका गाडीहरु उपलब्ध भए पनि ४० लाख मूल्य पर्ने गाडीहरु धेरै बिक्री भइरहेको व्यवसायीहरुले बताउँछन् ।

नेपाल लामो समयदेखि अटो मोबाइल्स क्षेत्रमा अनुभवी रहेका लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले ४० लाख सेग्मेन्टका गाडीहरु धेरै बिक्री भइरहेको बताए ।

‘नेपालमा ४० लाखका सेग्मेन्टका एसयुबी गाडीहरु धेरै बिक्री भइरहेका छन्,’ श्रेष्ठले भने, ‘नेपालमा गाडी बिक्री गर्ने धेरै कम्पनीको बिक्री ट्रेन्ड त्यस्तै देखिन्छ ।’

नेपालमा पछिल्लो सयम म्याचव्यागभन्दा एसयुबी गाडीहरु धेरै बिक्री भइरहेका छन् । श्रेष्ठका अनुसार अहिले नेपालमा बिक्री हुने गाडीहरुमध्ये ५५ प्रतिशत एसयुबी छन् । यो हरेक वर्ष बढ्दै गएको छ भने ह्याचव्यागको बिक्री घट्दै गएको छ ।

नेपालमा बाटोअनुसार उपयुक्त भएकाले एसयुबी गाडी धेरै बिक्री भइरहेको श्रेष्ठ बताउँछन् ।

एसयुबी गाडी यात्रा गर्न सजिलो हुन्छ भने ह्याचव्यागभन्दा उपभोक्ताले ‘प्रेस्टिज’को अनुभव गर्छन् । त्यसैले अहिले विश्वका गाडी उत्पादक कम्पनीहरुले भविष्यको लागि सानो एसयुबीतिर बढी फोकस गरिरहेको श्रेष्ठले बताए ।

यी हुन नेपालमा धेरै बिक्री हुने ४० लाख रेन्जका गाडीहरुः

हुन्डाइको भेन्युः नेपालमा हुन्डाइ गाडीको आधिकारित बिक्रेता लक्ष्मी ग्रुपअन्र्तगतको लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गरिरहेका एक दर्जन मोडलका गाडीहरु मध्ये हुन्डाइको भेन्यु ४० लाखको रेन्जमा पर्छ । तुलनात्मक रुपमा यो गाडी धेरै बिक्री भइरहेको श्रेष्ठले बताए ।

मारुतीको ब्रेजाः मारुती सुजुकीको ब्रेजा मोडल पनि ४० लाख रेन्जको गाडी हो । यो मारुतीका गाडीहरुमध्ये धेरै बिक्री हुनेमा यो गाडी पर्छ । ब्रेजा पनि विभिन्न मोडलमा छन् । मोडलअनुसार मूल्यमा केही तलमाथि पर्छ ।

फोर्डको इको स्पोर्टः ४० लाख रेन्जमा धेरै बिक्री हुने अर्को गाडी हो फोर्डको इको स्पोर्ट । विभिन्न मोडलमा रहेको फोर्डको इको स्पोर्ट गाडी ३७ लाख ५१ लाखसम्म रहेका छन् ।

निशानको म्याग्नाइटः ४० लाखको रेन्जमा धेरै बिक्री हुने अर्को गाडी हो निशानको म्याग्नाइट । नेपालमा यो गाडीको मूल्य ३२ लाखदेखि शुरु हुन्छ ।

कियाको सोनेटः कियाको सोनेट गाडीको ४० लाख रेन्जमा धेरै बिक्री हुनेमा पर्छ । नेपालमा यो गाडी तीन मोडलमा उपलब्ध छ । एउटा प्रोट्रोलको छ भने अरु दुई डिजेलका छन् । तीन मोडलमा रहेको यी गाडीको मूल्य ३६ लाख ९० हजारदेखि ५४ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।


क्लिकमान्डु