भरतपुरमा एमालेका उम्मेदवार सुवेदीले रेनुसँगको मतान्तर घटाए



भरतपुर । भरतपुर महानगरको प्रारम्भिक मत परिणाम रोचक बन्दै गएको छ ।

नेपाली कांग्रेसलगायत पाँच दलसँग गठबन्धन गरेर माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालको एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर साँघुरिँदै गएको छ ।

यसअघि सुवेदीभन्दा १२१ मतले अगाडि रहेकी रेनु दाहाल पछिल्लो मतपरिणाम अनुसार जम्मा ६७ मतले मात्रै अघि छन् । पछिल्लो परिणामअनुसार रेनुले १३७२ मत प्राप्त गरेकी छन् भने सुवेदीले १३०५ मत प्राप्त गरेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन् । पौडेलले बागी दिएका कारण भरतपुरको मेयर बन्न रेनुलाई निकै सकस पर्ने देखिएको छ ।

यसअघिको चुनावमा पनि हार्ने निश्चत भएपछि रेनुका प्रतिनिधिले मतपत्र चपाएका थिए । त्यसपछि भएको अर्को निर्वाचनमा उनले जितेकी थिइन् ।

यो पटक पनि भरतपुरमा अप्रिय घटना घट्न सक्ने अनुमान गर्दै सरकार निकै चनाखो भएको छ । साथै सुरक्षा व्यवस्था पनि निकै कडाइ बनाइएको छ ।


क्लिकमान्डु