पूराना जीवन बीमा कम्पनीको नाफाः गुँरास, बीमा संस्थान र एशियनको बाहेक सबैको घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा पूराना जीवन बीमा कम्पनीहरूको नाफामा उच्च गिरावट देखिएको छ ।

चैत मसान्तसम्मको अवधिमा पूराना जीवन बीमा कम्पनीतर्फ गुँरास लाइफ, राष्ट्रिय बीमा संस्थान र एशियन लाइफ बाहेक सबै कम्पनीको नाफा घटेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी), सूर्या लाइफ, मेट लाइफ, प्राइम लाइफ र नेशनल लाइफको नाफा घटेको हो ।

नेपाल लाइफले भने हालसम्म चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

८ पूराना जीवन बीमा कम्पनीहरूले चालु आवको तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब १४ करोड ८१ लाख ८६ हजार रूपैयाँ खुद नाफा कमाएका छन् ।

जुन गत आवको यसै अवधिको तुलनामा कम्पनीहरूको खुद नाफामा २५.६२ प्रतिशतले कम हो ।

गत आवको यसै अवधिमा ८ कम्पनीले १ अर्ब ५४ करोड ३६ लाख ३० हजार रूपैयाँ खुद नाफा कमाएका थिए ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार ८ कम्पनीमध्ये गुराँस लाइफको नाफा धेरै प्रतिशतले बढेको छ ।

गत आवको यसै अवधिको तुलनामा गुराँसको नाफा २६.१९ प्रतिशतले बढेर १३ करोड १६ लाख ४ हजार रूपैयाँ पुगेको हो ।

गत आवको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १० करोड ४२ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा गुराँस लाइफको व्यवसाय २१.९९ प्रतिशतले घटेको छ ।

लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी र बीमालेख धितोमा कर्जाबाट हुने आम्दानी बढे पछि गुराँस इन्स्योरेन्सको खुद बीमाशुल्क घट्दा पनि नाफा बढेको हो ।

यस्तै, यस अवधिमा गुराँससँगै राष्ट्रिय बीमा संस्थान र एशियन लाइफले पनि खुद नाफा बढाएका छन् ।

राष्ट्रिय बीमा संस्थानको नाफा २.१६ प्रतिशतले बढेर ४ करोड ९६ लाख ७७ हजार रूपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा संस्थानले ४ करोड ८६ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

एशियन लाइफको खुद नाफा १.०७ प्रतिशतले मात्र बढेको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सले १८ करोड ४० लाख ५४ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले १८ करोड २१ लाख ११ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

एलआइसीको नाफा सबैभन्दा धेरै प्रतिशतले घट्यो

पूराना ८ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले नाफा घट्ने कम्पनीमा एलआइसी नेपाल परेको छ ।

इन्स्योरेन्सको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६० लाख १ हजार रूपैयाँमा सीमित भएको छ ।

गत आवको चैत मसान्तसम्मा कम्पनीले १५ करोड ३७ लाख ७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

एलआइसी पछि सूर्या लाइफ, मेट लाइफ र प्राइम लाइफको नाफा धेरै प्रतिशतले घटेको छ ।

सूर्या लाइफको नाफा ३८.४६ प्रतिशत, मेट लाइफको ३०.०७ प्रतिशत र प्राइम लाइफको नाफा १७.०९ प्रतिशतले घटेको हो ।

सूर्या लाइफको नाफा ३८.४६ प्रतिशतले घटेर १५ करोड ६ लाख ९५ हजार रूपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा कम्पनीले २४ करोड ४८ लाख ७६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

मेट लाइफको नाफा २५ करोड ८८ लाख २० हजार रूपैयाँबाट घटेर १८ करोड १० लाख ३ हजार रूपैयाँ र प्राइम लाइफको नाफा २२ करोड ८६ लाख २५ हजार रूपैयाँबाट घटेर १८ करोड ९५ लाख ४३ हजार रूपैयाँमा सीमित भएको छ ।

यस्तै, नेशनल लाइफको नाफा २०.७६ प्रतिशतले घटेर २५ करोड ५६ लाख ९ हजार रूपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा नेशनलले ३२ करोड २५ लाख ७० हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गुराँस र मेट लाइफ बाहेक सबै कम्पनीको व्यवसाय घट्यो

चालु आवको तेस्रो त्रैमासको अवधिसम्ममा गुराँस लाइफ र मेट लाइफको व्यवसाय घटेको छ भने अरू सबै कम्पनीको व्यवसाय बढेको छ ।

गुराँस लाइफको खुद बीमाशुल्क २१.९९ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रूपैयाँमा झरेको छ । भने मेट लाइफको खुद बीमाशुल्क १.३२ प्रतिशतले घटेर ३ अब ८३ करोड ८ लाख १८ हजार रूपैयाँमा सीमित भएको छ ।

नेशनल लाइफको खुद बीमाशुल्क संकलन धेरै प्रतिशतले बढेको छ ।

यस अवधिमा नेशनलको खुद बीमाशुल्क १७.०४ प्रतिशतले बढेको हो । इन्स्योरेन्सले तेस्रो त्रैमाससम्मको अवधिमा १० अर्ब १७ करोड ५६ लाख २५ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले ८ अर्ब ६९ करोड ३९ लाख २९ हजार रूपैयाँ खुद बीमाशुल्क संलकलन गरेको थियो ।

प्राइम लाइफको खुद बीमाशुल्क १३.५९ प्रतिशत, एशियन लाइफको ११.४१ प्रतिशत, सूर्या लाइफको १०.९० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ७.४३ प्रतिशत र एलआइसी नेपालको ०.१७ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु