रोकिएन बीमा कम्पनीमा पोलिसी त्याग्नेको संख्या, ४ महिनामा ३ अर्ब बढीका पोलिसी सरेण्डर



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढे पछि बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको थियो ।

तर, जीवन बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर रोक्ने समितिको प्रयास भने असफल भएको देखिन्छ ।

समितिले बीमालेख सरेण्डरमा कडाइ गरेको भए पनि बीमा कम्पनीहरूमा पोलिसी त्याग्ने क्रम भने रोकिएको छैन ।

बीमा समितिको पछिल्लो तथ्यांकअनुसार बीमाको पहुँच ३७ प्रतिशत जनसंख्यामा पुगेको छ । देशभरमा सक्रिय जीवन बीमालेखको संख्या १ करोड नाघेको बीमा समितिको तथ्यांक छ ।

तर, जीवन बीमाको दायरामा आएको जनसंख्या बढी रहँदा बीमालेख सरेण्डर गर्ने बीमितको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।

बीमा योजनाका बारेमा बुझेर आफ्नो आवश्यकताअनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास हुन सकेको छैन । जसले गर्दा बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र, बीचमै सरेण्डरको बाटो रोज्ने गर्छन् ।

बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सिर्जना हुने विज्ञहरूको भनाइ छ ।

उनीहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्री गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई नवीरकण गर्न नसक्ने उनीहरूको तर्क छ । आफ्नो बीमालाई नविकरण गर्न नसकेपछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्ने विज्ञहरूको भनाइ छ ।

तर, कानूनअनुसार भने बीमितलाई आफ्नो बीमालेख समर्पण गर्न पाउने व्यवस्था छ ।

कानूनअनुसार जीवन बीमालेख खरिद गरेका बीमितले बीमालेख प्रारम्भ भएको मितिले ३ वर्षसम्मको किस्ता तिरेपछि आफ्नो बीमालेख समर्पण गर्न सक्छन् ।

जसले गर्दा पनि पोलिसी सरेण्डरको दर बढी देखिने सरोकारवालाहरूको भनाइ छ ।

जानकारहरूका अनुसार पोलिसी सरेण्डर गर्ने व्यवस्था नेपालमा मात्र नभई विश्वका सबैजसो देशमा छ ।

बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक वर्षको पुस, माघ, फागुन र चैतको तथ्यांकलाई हेर्दा जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डरको ग्राफ बढ्दै गएको देखिन्छ ।

४ महिनाको अवधिमा १९ जीवन बीमा कम्पनीमा ३ अर्ब १४ करोड ९४ लाख ८ हजार रूपैयाँका पोलिसी सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । सो अवधिमा २५ हजार ३५२ वटा बीमालेख सरेण्डर भएका हुन् ।

पुस महिनामा १९ जीवन बीमा कम्पनीहरूमा ६६ करोड २५ लाख ३९ हजार रुपैयाँका ६ हजार ७५८ वटा बीमालेख सरेण्डर भएका थिए । माघ महिनामा ६१ करोड १७ लाख ५० हजार रुपैयाँका ४ हजार ९२५ वटा बीमालेख त्याग भएका थिए । फागुन महिनामा जीवन बीमा कम्पनीहरूमा ८६ करोड ८४ लाख ६१ हजार रुपैयाँका ५ हजार ९५७ वटा बीमालेख सरेण्डर भएको समितिको तथ्यांक छ ।

चैत महिनामा १ अर्ब ६६ लाख ५८ हजार रूपैयाँका ७ हजार ७१२ वटा बीमालेख सरेण्डर भएका छन् ।

This image has an empty alt attribute; its file name is 1111-768x407.jpg

फागुनको तुलनामा चैतमा पोलिसी त्याग्ने बढे

बीमा समितिले उपलब्ध गराएको ४ महिनाको तथ्यांकअनुसार चैत महिनामा बीमितले सबैभन्दा धेरै त्याग गरेका छन् ।

चैत महिनामा १ अर्ब ६६ लाख ५८ हजार रूपैयाँका ७ हजार ७१२ वटा बीमालेख सरेण्डर भएका छन् ।

फागुन महिनाको तुलनामा चैतमा यी कम्पनीहरूमा २ हजार ७८७ वटा बढी बीमालेख त्याग भएका छन् ।

नेपाल लाइफका २ हजार ७५५ जनाले बीमालेख त्याग गरेका छन् ।

फागुनमा २ हजार १७७ बीमितले आफ्नो बीमालेख समर्पण गरेका थिए ।

चैतमा राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ, मेटलाइफ तथा लाइफ इन्स्योरेन्समा पनि बीमालेख त्याग्नेको संख्या बढेको छ ।

नयाँ जीवन बीमा कम्पनीमा पनि पोलिसी त्याग्नेको संख्या फागुनको तुलनामा बढेको छ । सबैभन्दा धेरै आईएमई लाइफको बढेको छ ।

नेशनल लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, प्राइम लाइफलगायतका कम्पनीको बीमा पोलिसी सरेण्डर संख्या भने घटेको छ ।

नेपाल लाइफको मात्रै ३४.१२ प्रतिशत पोलिसी सरेण्डर

नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ । कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ३४.१२ प्रतिशत सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । चैत कम्पनीको १ अर्ब ४४ करोड ८९ लाख १ हजार रूपैयाँका ८ हजार ६५० वटा बीमालेख सरेण्डर भएका हुन् । जुन कुल समर्पण मूल्यको ४६.०१ प्रतिशत हुन आउँछ ।

राष्ट्रिय बीमा संस्थानमा ३५ करोड १६ लाख २ हजार रूपैयाँ बराबरका ६ हजार ८४७ वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको २७.०१ प्रतिशत हो ।

सबैभन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफको ४७ लाख २२ हजार रूपैयाँका पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.१८ प्रतिशतमात्रै हो । भने कुल सरेण्डर रकमको ०.१५ प्रतिशतमात्रै हो ।

बीमितहरूले एशियन लाइफबाट १ हजार ८५७ वटा, नेशनल लाइफबाट २ हजार ७९ वटा, मेट लाइफको १ हजार ३८८ वटा, एलआइसी नेपालबाट १ हजार ३४५ वटा, प्राइम लाइफबाट ६१८ वटा, सूर्या लाइफबाट ४२८ वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, नयाँ जीवन बीमा कम्पनीमा आईएमई लाइफका बीमितले सबैभन्दा धेरै पोलिसी त्याग भएका छन् । ४ महिनामा आइएमई लाइफबाट बीमितले ४४९ वटा बीमालेख त्याग गरेका छन् । यस अवधिमा कम्पनीमा ४ करोड ५७ लाख ४३ हजार रूपैयाँका पोलिसी सरेण्डर भएका हुन् ।

यस्तै, ज्योति लाइफ इन्स्योरेन्समा २ करोड १२ लाख ९२ हजार रूपैयाँका १५९ वटा, यूनियन लाइफमा ५ करोड ५४ लाख ८८ हजार रूपैयाँ बराबरका १९७ वटा, सन नेपाल लाइफमा ६८ लाख ३ हजार रूपैयाँका ५५ वटा, रिलायन्स लाइफका ११ करोड ९१ लाख १९ हजार रूपैयाँ बराबरका १२३ वटा बीमालेख सरेण्डर भएको समितिको तथ्यांक छ ।

यस्तै, बीमा समितिको तथ्यांकअनुसार सिटिजन लाइफमा १ करोड ३१ लाख १३ हजार रूपैयाँ बराबरका १२४ वटा, सानिमा लाइफका ४ करोड ५३ लाख रूपैयाँ बराबरका ९९ वटा र प्रभु लाइफका १० करोड ३४ लाख ४५ लाख रूपैयाँ बराबरका १२७ वटा बीमालेख त्याग भएका छन् ।


बिजया बास्कोटा