जेठको पहिलो सातादेखि लाइसेन्समा नयाँ प्रणाली लागू हुँदै, १५ दिनमै पालो आउने



काठमाडौं । यातायात व्यवस्था विभागले आगामी जेठ पहिलो हप्ताबाट सवारी साधन अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नयाँ प्रणाली लागू गर्ने भएको छ ।

लाइसेन्स लिनका लागि अत्यधिक चाप हुने र समय धेरै लाग्ने भएपछि छिटो, छरितो र सहज तरिकाले लाइसेन्स वितरण गर्ने उद्देश्यले विभागले आगामी जेठबाट नयाँ प्रणाली लागू गर्ने भएको हो ।

कोरोना महामारीका कारण निकै प्रभावित भएको लाइसेन्स वितरणका लागि विभागमा सेवाग्राहीले सन् २०२४ सम्मका लागि आवेदन दिएका थिए । जसले गर्दा लाखौं मानिस लाइसेन्स नभएर मर्कामा परेका थिए ।

विभागले उक्त समस्यालाई मध्यनजर गर्दै २०२४ सम्ममा परीक्षा हुने मिति तोकिएको परीक्षार्थीहरूलाई यही वैशाखसम्ममा लिखित तथा ट्रायलको व्यवस्था गरेको छ । जसमा सन् २०२४ सम्मका परीक्षार्थीहरूले यही वैशाख मसान्तसम्ममा सबै आवेदकहरूले सहजै परीक्षा र ट्रायल सकाउने गरी विभागले काम गरिरहेको छ ।

विभागका सुचना अधिकरी ईश्वरीदत्त पनेरुले २०२४ सम्म पालो परेका आवेदकहरूले परीक्षा सकाएर लाइसेन्स वितरणको कार्य भइरहेको बताए । उसनले पुराना आवेदकहरूको परीक्षा सकिने वित्तिकै विभागले जेठको पहिलो हप्ताबाट नयाँ प्रणालीमा जाने तयारी भएको बताए ।

‘विभागले जेठको ४ गतेबाट नयाँ प्रणाली औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘प्रणालीमा केही समस्या आएमा सञ्चालन मितिमा केही तलमाथि हुनेछ ।’

नयाँ प्रणाली लागू गर्नका लागि विभागले तीव्र रुपमा कार्य अगाडि बढाएको छ । साथै, विभागले यसअघि आवेदन परेका सबै परीक्षार्थीहरूको लिखित र ट्रायल परीक्षा सकिन लागेको जनाएको छ ।

विभागकाअनुसार सबैभन्दा बढी आवेदक रहेको काठमाडौंमा बढी चाप हुने गर्दछ । त्यसैले, काठमाडौंमा पुराना आवेदकहरू केही संख्यामा छन् । तर, उपत्यका बाहिरका यातायात कार्यालयहरूले लिखित परीक्षा र ट्रायल परीक्षा सकाइसकेको विभागको दाबी छ ।

‘अहिले अधिकांश कार्यालयहरूले छिटोभन्दा छिटो परीक्षा सक्ने गरी तीव्र कार्य अगाडि बढाएको छ,’ उनले भने ।

कोरोना महामारीका कारण लामो समयसम्म बन्द हुँदा आवेदन दिनेको अत्यधिक चाप थियो । उच्च चापले गर्दा विभागले पटक–पटक समस्या आएको भन्दै आवेदन बन्द गरेका थिए ।

१५ दिनमै परीक्षाको पालो आउने
विभागले नयाँ प्रणाली लागू गरेसँगै आवेदन दिएको १५ दिनमै ट्रायलको पालो आउने विभागले जनाएको छ । अहिले भएको लाइसेन्सको परीक्षाका लागि वर्षौ कुर्नुपर्ने बाध्यता हट्ने विभागको दाबी छ ।

‘नयाँ प्रणालीको व्यवस्थाले १५ दिनसम्ममा आवेदकहरूले परीक्षा दिन पाउनेछ,’ उनले भने ।

विभागका अनुसार नयाँ प्रणालीबाट सीमित संख्यामा मात्रै आवेदन लिनेछ । आवेदन दिएका परीक्षार्थीहरूको परीक्षा सकाएर मात्रै नयाँ आवेदन खुल्ला गर्नेछ ।

सो प्रणालीले देशभर कति जनाले आवेदन दिए र कति जनाले लाइसेन्स पाए भन्ने सहजै थाहा पाउने विभागले जनाएको छ । साथै, मासिक रुपमा तथ्याङ्क उपलब्ध हुने पनेरुको भनाइ छ ।

अहिले दैनिक देशभरका यातायात कार्यालयबाट ५ सयदेखि एक हजारको हाराहारीमा परीक्षा भइरहेको छ । तर, स्मार्ट कार्ड वितरणको भने समस्या त्यस्तै रहेको छ ।

विभागले अहिले दैनिक ६ हजार स्मार्ट कार्ड छापिरहेको जनाएको छ । तर, पनि १ लाख बढीको कार्ड छपाइ बाँकी रहेको विभागको भनाइ छ । तर, आगामी दिनमा भने उक्त समस्या नआउने विभागको दाबी छ ।

विभागले नयाँलाई क्युआर कोडसहितको अस्थायी कार्ड वितरण गर्दै आएको छ । कार्ड छपाइमा ढिला भएकाले सेवाग्राहीले स्मार्ट कार्ड नपाउने हुँदा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरू गरेको छ । जसमा ट्रायल पास भएको दिन राजस्व बुझाएमा एक वर्षको म्याद राखेर वितरण हुनेछ ।

उक्त वितरण गरेको कार्ड एक वर्षमा पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे खारेज हुनेछ । साथै, कारबाहीमा नपरे चालकले १ वर्षपछि स्मार्ट लाइसेन्स पाउनेछ ।


क्लिकमान्डु