एलजीको आम्दानी ५३ प्रतिशतले बढ्यो, ४ अर्ब ऋणको रेटिङ
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको एलजी ब्राण्ड र सीजी ब्राण्डका इलेक्ट्रोनिक तथा घरायसी सामग्रीको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालि (सीजीआई) को आम्दानी ५३ प्रतिशतले बढेको छ ।
बजारमा पाइने इलेक्ट्रोनिक तथा घरयसी सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने सीजी र एलजी ब्राण्डको बिक्री वितरणबाट सन् २०२१ मा ५३ प्रतिशतले आम्दानी बढेको हो ।
कम्पनीले सन् २०२१ मा मात्रै ६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले ४ अर्ब २० करोड ३० लाख मात्रै आम्दानी गरेको थियो । त्यसैगरी, कम्पनीले सन् २०१८ मा ३ अर्ब ५० करोड र सन् २०१७ मा २ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरको जनाएको छ ।
कम्पनीले पछिल्लो ३ वर्षदेखि निरन्तर २३ प्रतिशतले आम्दानी बढाउँदै आएको थियो । सीजी र एलजी ब्राण्डको इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको आयात तथा वितरण गर्दै आएकाले बजारमा ठूलो हिस्सा रहेको छ । कम्पनीले बिक्री गर्ने सामग्रीमध्ये ७० प्रतिशत एलजी ब्राण्डको हिस्सा रहेको जनाएको छ ।
सीजीआई एलजी ब्राण्डको इलेक्ट्रोनिक्स र घरायसी सामग्रीको सन् २००४ बाट वितरकको रुपमा काम गर्दै आएको छ । साथै, कम्पनीले स्वदेशमै सन् २००६ देखि स्वदेशमै सीजी ब्राण्डको इलेक्ट्रोनिक्स बिक्री वितरण गर्दै आएको छ । कम्पनीले स्वदेशी उत्पादन गरेको पिजन, ब्ल्याक र डेकरजस्ता ब्राण्डको इलेक्ट्रोनिक्स उत्पादन गर्दै आएको छ ।
कम्पनीअनुसार आम्दानी भएकोमध्ये ६८ प्रतिशत एलजी ब्राण्डको रहेको छ भने २१ प्रतिशत सीजी ब्राण्डको रहेको छ । कम्पनीको देशभर ६०० भन्दा बढी डिलर रहेको छ भने १९ वटा आफ्नै शाखा रहेको छ ।
कम्पनीले यसअघि ९ देखि १० प्रतिशत मात्रै नाफा कमाउन सफल भएका थिए । तर, सन् २०२१ मा भने १४.४ प्रतिशतले नाफा कमाएको कम्पनीको भनाइ छ । सन् २०२० मा ९.६ प्रतिशत मात्रै नाफा कमाएको थियो ।
यस कम्पनीमा विनोद चौधरीका छोरा निर्भाना चौधरीको ८५ प्रतिशत शेयर रहेको छ भने १५ प्रतिशत बरुण चौधरीको रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले सीजीआईलाई अल्पकालिन कर्जाका लागि ३ अर्ब ९२ करोड रुपैयाँको एथ्री रेटिङ गराएको छ ।