अब विज्ञापन बोर्डमा सूचिकृत नभएका मिडियाले विज्ञापनको कारोबार गर्न नपाउने



काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यामहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताएका हुन् । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामहरुको सूचिकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ । बोर्डमा सूचिकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताए ।

बोर्डले शुक्रबार र शनिबार ९हिजो र आज० काठमाडौंमा आयोजना गरेको विज्ञापन सम्बन्धि तालिम कार्यक्रममा बोल्दै उनले भने, ‘विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चार माध्यामहरुको सूचिकरण गर्ने, सञ्चार माध्यामहरुलाई वर्गीकरण गर्ने र सञ्चार माध्यामहरु विज्ञापन बोर्डमा सूचिकरण नभई विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दैछौं भने अर्को विज्ञापन एजेन्सीहरु पनि विज्ञापन बोर्डमा सूचिकरण हुनुपर्ने र सूचिकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दैछौं । यी व्यवस्थाहरु आगामी साउन १ गतदेखि लागू हुनेछन ।’

बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम संचालन गर्नु परेको पनि स्पष्ट पारेको छ । बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साईज एकीन गर्ने, आम सञ्चार माध्यामहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ ।

बोर्डका अध्यक्ष हुँमागाईले भने, ‘यो तालिममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापनको आचारसंहिता, विज्ञापनको क्रियटिभिटी, ब्राण्डिङ, रिसर्चलगायतका विभिन्न विषयहरुमा प्रशिक्षण दिईरहेका छौं । र, यो प्रशिक्षणबाट विज्ञापन व्यवसाय गर्ने व्यक्तिहरुको क्षमता विकास हुने, उनीहरुले आफ्नो कामलाई अझ बढि प्रभावकारी ढंगले संचालन गर्न सक्ने, विज्ञापन बजारलाई पारदर्शी बनाउन सकिने अपेक्षा राखेका छौं । र, यो तालिमबाट हामीलाई के सिकाई भएको छ भने सबभन्दा पहिलो कुरा विज्ञापन बजारको साईजको अनुसन्धान गर्नुपर्ने, दोस्रो चाँही सञ्चार माध्यामहरुको सर्कुलेशन एकीन गर्नुपर्ने । तेस्रो, विज्ञापन बजारलाई पारदर्शी बनाउनुपर्ने । आगामी वर्ष विज्ञापन बोर्डको विज्ञापन बजारको अनुसन्धान गर्नेछ । र, यो बजारको साईजलाई एकीन गर्नेछ । यसलाई निकट भविष्यमै सार्वजनिक गर्नेछ ।’


क्लिकमान्डु