यो आर्थिक वर्ष ५.८ % को आर्थिक बृद्धिदर हुने प्रक्षेपण, तामाकोशी जलविद्युत् आयोजनाको योगदान



काठमाडौ । चालु आर्थिक वर्षमा ५.८ आर्थिक बृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ ।

विभागले बिहीबार पत्रकार सम्मेलनले गरेर आर्थिक बृद्धिदरको तथ्यांक सार्वजनिक गर्ने छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिदर लक्ष्य हासिल हुने अनुमान गरेको थियो ।

सरकारले भनेभन्दा कम ५.८ प्रतिशत आर्थिक बृद्धिदर हुने देखिएको केन्द्रिय तथ्यांक विभाग स्रोतले जानकारी दियो । ‘बेसिक प्राइसमा ५.५ प्रतिशत बृद्धिदर हुने देखिएको छ,’स्रोतले भन्यो ।

चालु आर्थिक वर्षमा सबैभन्दा राम्रो जलविद्युत् क्षेत्रमा बृद्धिदर देखिएको छ । जलविद्युत् क्षेत्रमा ३६ प्रतिशतको बृद्धिदर देखिएको छ । यस्तै कोभिडको कारण समस्यामा परेको होटल क्षेत्रमा ११ प्रतिशतको बृद्धिदर देखिएको छ ।

कृषि उत्पादनमा देखिएको बृद्धि तथा जलविद्युत्मा भएको बृद्धिले चालु आर्थिक वर्षमा ५.८ प्रतिशतको बृद्धिदर हुने अनुमान विभागको छ । गतवर्ष तामाकोशी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

स्वदेशी लगानीमा बनेको ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजना गतवर्ष निर्माण सकिएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

गतवर्ष केन्द्रीय तथ्यांक विभागले ४.१ प्रतिशतको आर्थिक बृद्धिदर हुने अनुमान गरेको थियो ।

गतवर्ष बैशाखदेखि सुरु भएको निषेधाज्ञाले विभागले प्रक्षेपण गरे अनुसारको आर्थिक बृद्धिदर भने भएको छैन । विश्व बैंकले गत आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर १.८ प्रतिशत रहेको अनुमान सार्वजनिक गरेको थियो ।

विश्व बैंकले चालु आर्थिक वर्षमा ४.१ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको थियो ।

अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले भने ६.१ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

विभागका अधिकारीहरु ३ महिनामा खर्च प्रणालीमा सुधार भएमा यो वर्ष ६ प्रतिशतसम्मको बृद्धिदर पुग्न सक्नेमा विश्वासमा छन् । ‘हाम्रो अनुमान आर्थिक बृद्धिदर ५.८ प्रतिशतको हो,खर्च राम्रोसँग भएमा ६ प्रतिशत पुग्न सक्छ,’विभाग स्रोतले भन्यो ।

विभागले कात्तिकसम्म भएको खर्चको आधारमा ५.११ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण यसअघि गरेको थियो । जुन सार्वजनिक भने भएको थिएन ।


क्लिकमान्डु