आयात प्रतिबन्ध लागेका १० वस्तुको खरिदमा ९ महिनामा ५८ अर्ब बाहिरियो



काठमाडौं । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरू, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र तास आयातमा प्रतिबन्ध लगाएको छ ।

सरकारले यसअघि प्रतिपत्र (एलसी) नखोल्ने निर्णय गरेका वस्तुमा समेत आयातमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयका अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गर्न बाधा पर्ने छैन ।

साथै, वैशाख १३ गतेभन्दा अघि बैंकिङ च्यानलबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेकाहरुको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले उच्च आयात भएको भन्दै प्रतिबन्ध लगाइएको १० वस्तु नेपालले ९ महिनाको अवधिमै करिब ५८ अर्ब रुपैयाँको आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार सरकारले हालै प्रतिबन्ध लगाइएको वस्तु ९ महिनाको अवधिमा ५७ अर्ब ९४ करोड ३० लाख रुपैयाँको आयात भएको छ । उक्त आयातित वस्तुबाट नेपालले ४४ अर्ब ११ करोड ६९ लाख ८९ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

त्यस्तै ९ महिनाको अवधिमा नेपालले ५८ करोड ७६ लाख रुपैयाँको १२ लाख ९३ हजार केजी कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरू आयात गरेको छ । उक्त आयातित वस्तुबाट नेपालले ३६ करोड ६४ लाख २४ हजार भन्सार महसुल संकलन गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी नेपालले १ अर्ब ४९ करोड ७१ लाख रुपैयाँको १२ लाख ५० हजार लिटर सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), ११ करोड ६८ लाख रुपैयाँको चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), २ अर्ब १४ करोड ६४ लाख रुपैयाँको हिरा (औद्योगिक कच्चा पदार्थबाहेक) र ३४ अर्ब ९७ करोड ९७ लाख रुपैयाँको मोबाइल सेट आयात गरेको छ ।

चैतसम्ममा नेपालले २ अर्ब ६७ करोड ८९ लाख रुपैयाँको रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि), १३ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बराबरको १२ हजार ६४४ जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक), १ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको २५० सीसीभन्दा माथिका मोटरसाइकल, ७१ करोड ७९ लाख रुपैयाँको सबै प्रकारका खेलौनाहरू र १९ करोड ५५ लाख रुपैयाँको तास आयात गरेको छ ।


क्लिकमान्डु