बजेटमा हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्य योजना ल्याउन अर्थमन्त्री शर्माको निर्देशन



काठमाडौं । आगामी आर्थिक बर्ष २०७९-८० को नीति कार्यक्रम र बजेटका बिषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग अर्थ मन्त्रालयमा छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आबको बजेटमै समावेश गर्न निर्देशन दिए । ‘हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौं । निजी क्षेत्रले कति प्रगति गरिसके’ उनले भने ‘हामी चाँही पुरानै शैलीमा बसेर हुँदैन ।’

सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले हुलाक सेवा परम्परागत शैलीले चलेको भन्दै सुधारको खाँचो रहेको बताए ।
अर्थमन्त्री शर्माले पुराना जनशक्तीलाई अवकाश दिएर नयाँ जनशक्ती भर्ना गरेर भएपनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने आवश्यकता रहेको बताए ।

सञ्चार मन्त्रालयले हुलाक कार्यालयहरुलाई इ-कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने सञ्चारको प्रस्तावमा अर्थ मन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।

सबै सरकारी निकायले बिज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य रुपले कट्टा गर्ने र यसरी कट्टा गरेको रकम बिज्ञापन बोर्डको कोषको दाखिला गर्ने व्यवस्था लागू गर्न पनि प्रस्ताव गरेको छ । ‘सबै कार्यालयहरुबाट यसरी बिज्ञापन बापत भुक्तानी हुने रकमको ३ प्रतिशत कट्टा गरी बिज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था हुने हो भने लोककल्याणकारी बिज्ञापनको बजेट बिनियोजनमा चाप पर्दैन’ सञ्चार सचिव अर्यालले भने ।

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आबको बजेटमा ठोस बिषय बस्तुमात्रै समेटेर आर्थिक विकास केन्द्रित हुनुपर्ने सुझाव दिए । ‘यहाँ श्रीलंकाको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ’ उनले भने ‘यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ ।’


क्लिकमान्डु