किन ढिला हुँदैछ फाइभजी परीक्षण ?



काठमाडौं । विश्वका धेरै ठाउँमा फाइभजी सेवा सञ्चालन भइरहँदा नेपालमा भने परीक्षणसमेत हुन सकेको छैन । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गएको पुस महिनामै फाइभजी परीक्षण तालिका बनाए पनि कार्यान्वयन हुन सकेन ।

प्राधिकरणले फाइभजी परीक्षण गर्ने भनेर नेपाल टेलिकमलाई फ्रिक्वेन्सी निर्धारण गरेर निर्देशन दिइसकेको छ । तर, अहिलेसम्म परीक्षण हुन सकेको छैन ।

फाइभजी परीक्षणका लागि चाहिने पूर्वाधार तयार गर्न आवश्यक उपकरणसमेत अहिलेसम्म आउन सकेका छैनन् । फोरजी विस्तारको ठेक्का पाएका दुई कम्पनीले नै फाभइजीको परीक्षणको लागि पूर्वाधार तयार गर्नुपर्ने सम्झौता भएको थियो ।

फाभइजीको लागि आवश्यक पर्ने सामान आउने क्रममा रहेको नेपाल टेलिकमले जनाएको छ ।

‘फोरजी विस्तारकै क्रममा फाइभजी परीक्षणको सम्झौता भएको थियो,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘त्यही दुई कम्पनीलाई सामान ल्याएर पूर्वाधार तयार गर्न जिम्मा दिइसकेको छ ।’

डेढ दुई महिनामा फाभइजीको उपकरण आउने उनले बताए । फाभइजी परीक्षणका लागि नेटवर्क वान, नेटवर्क टु र र्याम तयार गर्नुपर्नेछ ।

अन्य पूर्वाधारहरु जस्तो कि बिटिएसम्म १० जीको अप्टिकल लिंक, टावरमा स्पेस, पावर सिस्टम, एप्लिकेसन, कोर साइडलगायतमा पनि काम गर्नुपर्ने छ ।

फाभइजी परीक्षणका लागि प्राधिकरणले २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

कुन-कुन ठाउँमा फाभइजी परीक्षण गर्ने भनेर यकिन नभए पनि काठमाडौंलगायत ग्रामीण क्षेत्र र सहरी क्षेत्र मिलाएर फाभइजी परीक्षण गर्ने योजना टेलिकमको छ ।


क्लिकमान्डु