स्थानीय तह निर्वाचनले ल्यायो लगानीकर्तामा उत्साह, सेयर बजारमा उछाल



काठमाडौं । स्थानीय तह निर्वाचन-२०७९ को प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि त्यसको प्रभाव पनि सेयर बजारमा देखिएको छ ।

स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार निर्वाचनको लागि मनोनयन दर्ताको समय रहेको छ । त्यही समय बजार बुम बुम बनेको छ । निकै समय घटेको बजार आइतबार भने उछाल आएको छ । बजार मापन गर्ने सूचक ९५.४६ अंकले बढेर परिसूचक २४२०.९१ बिन्दुमा रोकिएको छ । आइतबार २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन बजारसँगै कारोबार रकम पनि बढेको छ । एकाएक बजारमा उछाल आउँदा सबै समूहको उपसूचकमा पनि हरियाली छाएको छ । बैंकिङ ४२.१२, विकास बैंक २६२.३७, वित्त १४३.६७, जलविद्युत १८९.०८, जीवन बीमा ४२३.३७, माइक्रोफाइनान्स १७९.४२, निर्जीबन बीमा समूहको उपसूचकमा ४३४.३७ अकको सुधार आएको छ । कारोबारका करिब ३ दर्जन कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिनको कारोबारमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा नकारात्मक सर्किट लागेको छ भने नेष्डो समृद्ध लघुवित्त, लक्ष्मी बैंकको ऋणपत्रमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु