सरकारका ४३ मन्त्रालय र निकायको कूल सम्पत्तिभन्दा विनोद चौधरी एक्लैको धेरै, कुन मन्त्रालयको कति ?



काठमाडौं । विनोद चौधरी नेपालका एक मात्रै डलर अर्बपति हुन् । नेपाली रुपैयाँमा हेर्दा उनी खर्बपति हुन् ।

चौधरीसँग स्वदेश र विदेशमा कैयन कम्पनी छन् । जसको कूल सम्पत्तिको हिसाब गरेर फोर्ब्सले उनलाई विश्वको १९२९औं धनीको स्थानमा सूचीकृत गरेको छ ।

फोर्ब्सका अनुसार सन् २०१८ मा चौधरीसँग १.५ बिलियन डलर सम्पत्ति थियो, सन् २०१९ मा आइपुग्दा यो बढेर १।७ बिलियन डलर भयो । सन् २०२० मा कोरोना महामारीमा चौधरीको सम्पत्ति १.४ बिलियन डलरमा सीमित भयो ।

त्यसपछि सन् २०२१ मा पनि १।४ बिलियन डलर रहेको उनको सम्पत्ति सन् २०२२ को पछिल्लो तथ्यांकमा १.५ बिलियन डलर अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढी छ ।

तर के तपाईंलाई थाहा छ, चौधरीको जति सम्पत्ति सरकारको ४३ वटा मन्त्रालय र निकायसँग पनि छैन । अर्थात् चौधरी सरकार मातहतमा रहेको सम्पत्तिभन्दा धेरै धनी छन् ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको नेपालका मन्त्रालय तथा मातहतका निकायको कूल सम्पत्ति १ खर्ब ८० करोड ४ लाख २१ हजार ७४९ रुपैयाँ छ ।

तथ्यांक हेर्दा चौधरीसँग साढे ८३ अर्ब रुपैयाँ बढी सम्पत्ति छ

महालेखाले सार्वजनिक गरेको यो रकम राष्ट्रपति कार्यालयदेखि सबै मन्त्रालय तथा मातहतका ४३ वटै सरकारीको एकमुष्ठ हो ।
राष्ट्रपति कार्यालयसँग १८ करोड ७७ लाख ६१ हजार रुपैयाँको सम्पत्ति रहेको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ६६ करोड ५९ लाख ९५ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

महालेखाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयसँग २ अर्ब ५२ करोड ८ लाख रुपैयाँ बढीको सम्पत्ति छ ।

मन्त्रालयमध्ये सबैभन्दा धनी गृह मन्त्रालय छ । मन्त्रालयसँग २७ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बराबरको सम्पति रहेको छ ।

त्यस्तै, रक्षा मन्त्रालयसँग २१ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ६ अर्ब २० करोड रुपैयाँ र अर्थमन्त्रालयसँग ४ अर्ब ६७ करोड २८ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

कार्यालयका अनुसार सबैभन्दा कम आदिबासी तथा जनजाति आयोगसँग १७ लाख ५७ हजार रुपैयाँ बराबरको सम्पत्ति छ ।


क्लिकमान्डु