भारतबाहेक विनोद चौधरी दक्षिण एशियाका एक्ला अर्बपति



काठमाडौं । विश्वभरीका धनीहरुकोबारेमा सुची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । गएराती सार्वजनिक सुचीअनुसार दक्षिण एशियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् ।

दक्षिण एशियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एशियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिप्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् ।

नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सका अनुसार उनको सम्पत्ती गत वर्ष १.४ अर्व डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सुचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सुचीमा निरन्तर रहँदै आएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्तिमात्र धनी हुदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउदै चौधरीले देशलाई आर्थिकरुपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए ।

‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो,’ चौधरीले भने, ‘आफुसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हुँ ।’

यस्तै उक्त सुचिकाअनुसार दक्षिण एशियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमिकी चीनमा ५ सय ३९अर्वपति रहेका छन् । सुचिको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको छ ।

२९०.३ अर्व डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् ।

भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।


क्लिकमान्डु