काठमाडौंका मेयर विद्यासुन्दरको समीक्षाः सपना ठूला देखाए तर झिनामसिना काममा अल्झिए, टिकट पाउन फेरि दौडधुप
५ वर्षमा ७२ अर्ब रुपैयाँको बजेट ल्याएका शाक्यले सबै बजेट खर्च गर्न सकेको भए काठमाडौं देशले नै गर्व गर्न लायक बन्न सक्थ्यो । तर, ५ वर्षमा ४० प्रतिशतमात्रै बजेट खर्च गर्न सकेका शाक्यले आफैंले सार्वजनिक गरेका १०१ काम गर्न पनि असफल रहे ।
काठमाडौं । काठमाण्डौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा गर्ने काम भन्दै विद्यासुन्दर शाक्यले सार्वजनिक गरेका १०१ बुदाँमध्ये तेस्रो नम्बरमा लेखिएको थियो, ‘ मेयरको पदभार ग्रहण गर्नु अगावै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरुले मूल्यवान फल लाग्ने, रुख रोपी ‘ग्रिन एण्ड क्लिन काठमाण्डौ’ अभियानको कार्य शुभारम्भ गर्ने ।’
उक्त प्रतिबद्धताअनुसार शाक्यले विरुवा त रोपे । तर, न उक्त बिरुवाले मुल्यवान फल दिन सक्यो न त ‘ग्रिन एण्ड क्लिन काठमाण्डौ’ अभियान कार्यान्वयन हुन सक्यो ।
नेपाली कांग्रेसको काठमाडौं महानगर कमिटीका सचिव सुसन बैद्य मेयर शाक्यले आफैंले छानेको कामसमेत गर्न नसकेको बताउँछन् ।
‘उहाँले मेयरमा निर्वाचित भए १०१ काम गर्ने सूचि सार्वजनिक गर्नु भएको थियो,’ बैद्य भन्छन्,‘तर आफैंले छानेका १० प्रतिशत पनि काम पनि मेयरले गर्न सक्नु भएन ।’
मेयर शाक्यले काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा दीर्घकालिन सोच नै नबनाएको बैद्यको आरोप छ ।
‘काठमाडौंको मेयरले साना साना काममा रमाएर बस्ने हो भने राम्रो र ठुलो काम कसले गर्ने ? ’ बैद्य गर्छन्, ‘काठमाडौं महानगर सफाई अड्डाको रुपमा स्थापना भएको थियो । उहाँ सरसफाईमा पूर्णरुपमा फेल हुनु भयो । स-साना कामलाई ठुलो उपलब्धी मान्नु भयो ।’
तर, मेयर शाक्यले विभिन्न सार्वजनिक कार्यक्रममा संघीय सरकारले सिस्डोल जाने बाटो मर्मत नगर्दा फोहर व्यवस्थापनमा समस्या भएको बताउने गर्छन् । बैद्य समस्या आएपछि मात्रै समाधान गर्नै मेयरको चरित्रले रिजल्ट नदिएको बताउँछन् ।
‘साढे ३ वर्ष संघ र प्रदेशमा मेयरकै पार्टीको सरकार थियो’, वैद्य भन्छन्, ‘उहाँले तीन वर्षमा त केही काम गर्न सक्नु भएको छैन । अहिले आफ्नो असफलता ढाक्न संघीय सरकारले बाटो नबनाएको आरोप लगाउनु भएको हो ।’
१४ वर्षपछि पनि राजनीतिक नेतृत्वले महानगरको नेतृत्व गरेकाले जनप्रतिनिधीले ठुलो भिजनमा काम गर्छन् भन्ने जन अपेक्षा थियो । तर, मेयर शाक्यले कुनै पनि ठुला योजनामा काम गर्न सकेन्न । २०४९ र ०५४ सालका स्थानीय निर्वाचनबाट वडा नम्बर २१ बाट वडाध्यक्षका रुपमा शाक्य निर्वाचित भएका थिए । जसले गर्दा मेयरभएपछि उनले काम गर्छन् भन्ने अपेक्षा सर्वसाधारणको थियो ।
१०१ काम गर्ने घोषणा कागजमा सिमित
मेयरले आफुले सार्वजनिक गरेको प्रतिबद्धताअनुसार काम भएको भए सोह्रखुट्टे पुनस्र्थापनाको कार्य समेत अगाडी बढेको हुन्थ्यो । काठमाण्डौं महानगरका प्रमुख पर्यटकीय गन्तव्यमा दु्रत गतिको निशुल्क वाइफाई सेवा सञ्चालन हुने थियो । र, काठमाडौं उपत्यकामा बाटो विस्तार गर्दा कुनै विवाद हुने थिएन ।
शाक्यले महानगरलाई साइकल सिटी बनाउने, काठमाडौं महानगर शहर योजना आगोग गठन गरि काम शुरु गर्ने, महानगरको आफ्नै निर्माण समिति बनाउने, लगानी कम्पनी खोल्ने महत्वकांशी योजना सार्वजनिक गरेका थिए ।
नयाँ संगठनिक संरचना निर्माण गर्ने, भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन प्रविधिमा आधारित सेवा सुरु गर्ने, महानगर अन्तर्गतका सबै कार्यकक्षमा सिसिटिभी जडान गर्ने योजना कागजमा सिमित भएका छन् ।
युवाहरुलाई खेलमा लाग्न प्रेरित गर्ने, रोजगारीको वातावरण सिर्जना गर्न अनलाइन इम्प्लोइमेन्ट सुचना केन्द्र सुरुवात गर्ने कार्यक्रम आफुले घोषणा गरेको समेत मेयर शाक्यले थाहा पाएनन् ।
महानगरभित्रका संवेदनशिल क्षेत्रमा सिसिटिभी जडान गर्ने, स्वयंम्भू, बौद्ध, पशुपति र बसन्तपुर लगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाई कार्य सुभारम्भ गर्ने, जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीहरु सहितको ‘मिनी असन बजार’ विभिन्न ठाउँहरुमा स्थापना गर्ने योजनाका लागि मेयर शाक्यले कुनै पनि बजेट विनियोजन गरेनन् ।
पछिल्लो ५ वर्ष ७१ अर्ब रुपैयाँ बराबरको बजेट बनाएका शाक्यले सार्वजनिक–निजी–साझेदारीको मोडलमा काम गर्ने भन्दै गरेको प्रतिवद्धतासमेत ख्याल गरेनन् । भित्री शहरको हरेक ५०० मिटर र बाहिरी शहरमा आवश्यकता अनुसार सार्वजनिक निजी साझेदारीमा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रियासमेत शाक्यले ५ वर्षको अवधीमा अगाडी बढाउने समेनन् ।
शाक्यले सार्वजनिक गरेको घोषणापत्रमा भने डिजिटल सुचना पाटी भएको निशुल्क वाइफाइ, र चार्जिङ सुविधा, शौचालन, तौल मेसिन, रिचार्ज कार्ड, खाजा, स्यानिटरी प्याडसमेत पाइने महिला, अपाङ्गता भएका, बृद्ध, बालकालिकामैत्री पब्लिक सर्भिस सेन्टर बनाउने उल्लेख थियो ।
करदाताको सुविधाका लागि स्मार्ट कार्ड जारी गर्ने, महानगरबाट सञ्चालित चःमति, मनोहरा लगायतका स्थानहरुमा अवरुद्ध ल्याण्डपुलिंगको कार्यलाई यथासिघ्र सम्पन्न गर्ने, ‘घरघरमा अचम्मको सियो र घरघरमा गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने मेयर शाक्यका योजना थिए ।
सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने, ‘सही समय सही ठाम, नो ट्राफिक जाम’ को अभियान शुरु गर्ने महानगरमा थन्किएर रहेका मुद्दालाई १०० दिनभित्र टुंगो लगाउने योजना कुनै ठुला र धेरै स्रोत लाग्ने थिएनन् ।
तर, आफुले जारी गरेको प्रतिबद्धतापत्र बिर्सदाँ शाक्य योजना अनुसार काम गर्न असफल भएका हुन् ।
नगरपालिकामा स्वयमसेवी सेवा शुरु गर्ने, बर्षेपानी संकलनको अभियान शुरु गर्ने, संकलनबाट बढी भएको पानी भूमिगत जलभण्डार गर्ने अभियान पनि काजममा सिमित भयो ।
घर-घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्याङ्की जडानको अभियानसमेत शाक्यले शुरु गर्न सकेनन् ।
चोभारमा बालवालिकाका लागि मनोरञ्जन पार्क बनाउने र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा बृहत प्रर्दशनी केन्द्र बनाउने योजना समेत शाक्यले काम गर्न सकेनन् । सुपथ मूल्य पसल सञ्चालन गर्ने नियमित सार्वजनिक सुनुवाई गर्ने, नो केटिएम एप बनाउने, स्मार्ट पार्किङ लागु गर्ने विषयमा समेत शाक्य असफल भएका छन् ।
शाक्यले टेकुमा पार्किङ बनाइरहेको बताउने गर्छन् । तर, भाटभटेनी सुपर मार्केटले ६ महिनामा बहुतले पार्किङ सहजै सञ्चालनमा ल्याएको तथ्यबाट समेत शाक्यको प्राथमिकता भएको भए महानगरले पनि पार्किङ व्यवस्थापन गर्न सक्ने थियो बुझिन्छ । वास्तवमै भन्दा शाक्यले आफ्ना चुनावी घोषणापत्र मेयरमा जितेपछि पल्टाएर पनि हेरेको जस्तो देखिँदैन ।
सवारीसाधन निषेधित क्षेत्र बनाउने, काठमाडौं महानगर झिलिक्क बनाउने योजना पनि कागजमा सिमित रहेको अर्काे घोषणा हो ।
धरहरा प्रिमिसेशको गुरुयोजना बनाई कार्यान्वयन गर्ने र नदी किनारमा रहेका मठमन्दिरको संरक्षण सहित बाग्मती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया शुरु गर्ने काम पनि शाक्य सुरुवात नै गर्न सकेनन् ।
महानगर र गोकर्णेश्वरको समन्वय र सहकार्यमा तारेभिर परियोजना अगाडी बढाउने, टोखा नगरपालिका सँगको समन्वय सहकार्यमा टोखाको संस्कृति सम्वदा संरक्षण, पर्वधन एवम् झोर स्थित बाणेश्वर वाटर फल पार्क बनाउने, ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरुको नयाँ ललितपत्तनम नामको आर्ट र क्राप्ट सिटी बनाउने र काठमाडौंको भित्री शहरको दक्षिणी भेगको ‘क्वःने’ को ‘आर्ट र क्राप्ट सिटी’ लाई आवश्यक प्रक्रिया पूरा गरी जिवन्त संग्रहालय घोषणा गर्ने योजनासमेत कागजमा सिमित भयो ।
तर, मेयर शाक्यले आफुले घोषणा गरेका कार्यक्रम कार्यान्वन गर्न नसकेपनि काठमाडौं उपत्यकाका नगरपालिकालाई आर्थिक सहयोग भने गरेका थिए ।
शाक्यले ४८औं नम्बरमा घोषणा गरेको रानीपोखरीको पुनर्निर्माण भने सम्पन्न गरेका छन् । चुनावी घोषणा पत्रमा पुरातात्विक मापदण्ड अनुसार रानीपोखरी पुनर्निर्माण गर्ने उल्लेख भएपनि व्यवसायी प्रकृतीको ‘स्विमिङ पुल’ बनाउन खोजेको भन्दै रानीपोखरी पुनर्निमाण विवादमा समेत परेको थियो ।
शाक्य जान्ने बुझ्ने व्यक्तिले आफुलाई बद्नाम गर्न रानीपोखरीलाई ‘स्विमिङ पुल’ बनाउन लागेको भनेर अनावश्यक आरोप लगाएको बताउँछन् ।
दरबार हाईस्कुल पनि गत वर्षदेखि मात्रै सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय कला र संस्कृतिको केन्द्र बनाउने योजनाका विषयमा शाक्यले कुनै अध्ययन नै बनाएनन् । भद्रकाली मन्दीर परिसरको सामान्य जिर्णाेद्धार गरेका शाक्यले आफ्नो १०१ कामको सूचिमा भद्रकाली मन्दिर र परिसरको विस्तृत परियोजनाको सर्वेक्षण गर्ने उल्लेख गरेका थिए ।
पूर्वअध्ययन भइसकेको हनुमानढोकाको पूर्ववत प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रुपमा परिमार्जन गरी निर्माण कार्य आरम्भ गर्ने घोषणा गरेका शाक्यले प्रहरी परिसरको भवनमा रहेको फोहोरसमेत हटाउन सकेका छैनन् ।
निश्चित समयतालिका अनुसार यातायात सञ्चालन गर्ने र अपाङ्ग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा शुरु गर्ने योजना साझा यातायातलाई सार्वजनिक बस सञ्चालन गर्ने पैसा दिएर समाप्त भएको छ ।
कार पार्किङ मल बनाउने घोषणा गरेका शाक्यले सडक छेउमा पार्किङ संकलन गर्ने ठेक्का दिए । जन्जालमुक्त सडकसञ्जाल बनाउने योजनासमेत कागममा मात्रै सिमित भयो । महानगरले ४ मिटरभन्दा चौडाई भएका कुनै सडक नै बनाउन सकेन । महानगर कोषमा अर्बांै रकम राखेर साना साना काममा पनि मेयर शाक्यले सडक विभागलाई दोष लगाए ।
निर्माणाधिन चक्रपथ विस्तारको कार्यलाई यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने र भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म वागमती किनार हुँदै केवल बसको सम्भाव्यता अध्ययन आरम्भ गर्ने योजनाका विषयमा मेयर शाक्यले सामान्य छलफल समेत गरेनन् ।
धुँवा धुलोले मास्क लगाउनु पर्ने बाध्यतालाई हटाउने पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारस्थित वालुवा खानीलाई व्यवस्थापन गरी ‘पाशुपत सरोवर’ निर्माणका लागि पहल गर्ने योजनामा पनि कुनै प्रगती हुन सकेन ।
काठमाण्डौलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्रीहरु व्यवस्थित रुपमा जम्मा गरेर राखे वापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने, शहरको सुन्दरता र दुर्घटना न्यूनिकरणको लागि अव्यवस्थित पोल तथा तारहरुको उचित व्यवस्थापनको लागि आवश्यक खाका तयार गर्ने योजनामा उल्लेख काम हुन सकेनन् ।
विपन्न, असहाय र विभिन्न कारणले विचल्लीमा परेका नागरिकहरुलाई उच्च प्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धार कार्य प्रारम्भ भएको भए जनता मेयर शाक्यसँग निकै खुसी हुने थिए ।
त्यस्यैगरी राज्यको लगानी वा विभिन्न संघ-संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तर वृद्धिका लागि अनुगमन गर्ने, महानगरपालिका, सम्वन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा शहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्र नजिकै ‘शिशु स्याहार र बाल विकास केन्द्र’ सुचारु गर्ने योजना कार्यान्वयन भएको भए मेयर शाक्यलाई यसपटकको निर्वाचनमा उम्मेद्वार बन्नबाट कसैले रोक्न सक्ने थिएन् ।
महानगरलाई दुव्र्यशनमुक्त शहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाई कार्यारम्भ गर्ने, सेवानिवृत्त कर्मचारी, ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै वहाँहरुको ज्ञान, सीप अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लव, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र/व्यायाम/योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदिसहितको सुविधा सम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्थ मिलाएको भए शाक्यले झिनासमिना कामलाई आप्mनो प्रगती भन्नु पर्ने थिएन ।
घर निर्माण प्रमाणपत्र दिन समय लाग्ने समस्या समाधान भएन । क्रिकेट रंगशाला बनाउने, भ्यालेन्टाइन डे लगायत अन्य विभिन्न दिवसको अवसर पारी युवा जोडीहरुलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरु रोप्ने व्यवस्था मिलाउने योजना कार्यान्वयन भएका भए काठमाडौं हराबरा हुने थियो ।
छाडा जीवजन्तु तथा फोहोर मैला लगायत समस्याहरु तत्काल समाधान गर्ने, घरबाट आएको कुहिने फोहोरको व्यवस्थापन गरी जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्ने । त्यसका लागि महानगरले प्राविधिक सिप र प्रविधिका लागि अनुदान दिने योजना कार्यान्वयनमा जान सकेन ।
तिनकुनेको जग्गाको समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरुवात गर्ने, अपांगमैत्री पार्क निर्माण कार्य आरम्भ गर्ने, अव्यवस्थित र असुरक्षित भविष्यको कारण जीवनदेखि निराशाका कारण बढ्दै गैरहेको मानसिक समस्याहरुको रोकथाम र उपचारको लागि उचित प्रवन्ध गर्ने योजना समेत प्रगती हुन सकेन ।
हिंसा पीडित महिलाहरुको तत्काल उद्धार र पुनव्र्यवस्थापन गर्ने, तरकारी, फलफूल र खाद्यान्नमा विषादी नियन्त्रणका लागि परिक्षण गर्ने व्यवस्था मिलाउने, राजधानी महानगरलाई देशका सबै नेपालीको साझा मैत्रीनगरको रुपमा विकास गर्न सातै प्रदेशको लागि ‘प्रदेश भवन’ निर्माणका लागि प्रक्रिया थालनी गर्ने योजनापनि काम भएन । वैद्यले मेयर शाक्यको सबैभन्दा ठुलो असफलता भनेको कुनै पनि ठुला र दीर्घकालनमा गर्व गर्न मिल्ने आयोजना बनाउन नसक्नु भएको बताउँछन् ।
पुरानो वसपार्कमा प्रस्तावित काठमाण्डौ टावर निर्माण सम्वन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने, महानगरभित्रका सबै होलसेल मार्केटहरुलाई यातायात सुविधासहित व्यवस्थित गर्ने, गोंगबु बसपार्कको मास्टर प्लानको परिमार्जनसहित अघि बढाउने जस्ता आकर्षण योजना कार्यान्वयन भएको भए काठमाडौं निकै गर्व गर्न लायक बन्ने थियो ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरुको लगत संकलन गरी कार्ययोजना अघि बढाउने र परम्परागत शिल्पी तथा व्यवसायमा आवद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण भएको भए काठमाडौंमा कयौं रोजगारीका अवसर सिर्जना हुने थिए ।
मझौला तथा साना व्यवसाय शुरु गर्नेहरुलाई लगानीमैत्री बिनियमहरु बनाउन शुरु गएको भए नेपालमा उच्च दरमा बढीरहेको आयात प्रतिस्थापन गर्न केही सहयोग पुग्ने थियो ।
तर, शाक्यले १०० दिनमा गर्ने कार्यक्रममा राखेको बागबजारमा रहेको भक्तपुर बसपार्क व्यवस्थापन गर्ने, घर पहिँचान प्रणाली बनाउने, भाडामा बस्ने व्यक्तिका लागि आचारसंहिता बनाउने, भुकम्प प्रतिरोधी भवन बनाउन प्राविधिक सहयोग गर्ने काम ५ वर्ष कार्यकाल समाप्त हुँदा समेत गर्न सकेका छैनन् ।
काठमाडौं स्मार्ट नागरिक कार्ड बनाउने, पत्रकारका लागि सुविधा सम्पन्न मिडिया सेन्टर बनाउने, स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार बनाउने, हाइड्रोजन इन्धनका सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका मेयर शाक्यले भाडाको भवनमा बसिरहेको महानगरको कार्यालय समेत सार्न सकेनन् ।
चौबिस घण्टे ‘जीवन्त शहर’ को योजना निर्माण, महानगर मातहतका हरेक कार्यालयहरुलाई आधुनिक, चुस्त, जनमैत्री र प्रविधिमैत्री कार्यालयको रुपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने योजनासमेत अलपत्र पर्याे ।
उल्टो मेयर भएको ४ वर्ष सम्म महानगरको आफ्नो भवन नै बन्न सकेन । गत वर्ष भवन निर्माण सुरुवात भएपनि उक्त विषय विवादित बन्यो । मेयर शाक्यले आफु निकटको ठेकेदार कम्पनीलाई ठेक्का दिन खोजेको आरोप पनि लाग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भवन निर्माणमा अनियमिता भएको आरोप लगाएपनि मेयर शाक्यमाथि मुद्दा चलाएन । महानगरका इन्जिनियर माथि आयोगले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधिन छ ।
नेकपा एमाले निकट केही व्यक्तिहरु मेयर शाक्यले तयार गरेको १०१ कामको सूची काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले तयार गरेको बताउँछन् ।
‘मेयरसापलाई त १०१ कार्यक्रमको विषयमा खासै जानकारी थिएन,’ एमालेका एक नेता भन्छन्, ‘केशव स्थापीतले आफु मेयर लड्न भन्दै तयार पारेको सूचि शाक्यमार्फत् सार्वजनिक गराएका थिए । त्यसैले मेयरले आफैंले सार्वजनिक गरेका सूचीलाई समेत अपनत्व लिन सकेनन् ।’
खर्च गर्ने क्षमता भएन
नेपालमा विनियोजित बजेट खर्च नहुनु पुरानै समस्या हो । विगतमा संघीय सरकारले बनाउने बजटे प्रदेश र स्थानीय सरकारले समेत बनाउन लागे । तर, बजेट खर्च गर्न नसक्ने रोग समाधान गर्न सकेनन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ५ वर्षमा ७१ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएका थिए । तर, शाक्यले ५ वर्षमा २८ अर्ब ८२ करोड रुपैयाँमात्रै खर्च गर्न सकेका छन् । पछिल्लो ५ वर्षमा कुल बजेटको ४० प्रतिशतमात्रै खर्च गर्न सकेका शाक्यले महानगरको १२ अर्ब रुपैयाँ बैंक वित्तीय संस्थामा राखेका छन् ।
‘काठमाडौंका सडकमा धुलो उडेको छ, घर घरमा फोहर गनाएको छ,’ महानगरका एक कर्मचारी भन्छन्, ‘महानगरको कोषमा भएको पैसा खर्च गर्ने चासो मेयरलाई छैन । तर, संघीय सरकारले पैसा नदिँदा फोहर व्यवस्थापनमा समस्या भएको तर्क गर्नु हुन्छ ।’
नेपाली कांग्रेस नगर कमिटी सचिव सुसज बैद्य सरकारले बैंकमा पैसा राखेर ब्याज बुझ्न खोज्ने प्रवृति गलत भएको बताउँछन् ।
‘मेयरले प्रदेश र स्थानीय सरकारबाट समेत स्रोत जुटाएर विकास गर्ने सोच बनाउनु पर्छ,’ शाक्य भन्छन्, ‘आफुसँग भएको पैसा खर्च गर्न नसक्नुले मेयरमा महानगर चलाउने क्षमता नै छैन भन्ने पुष्टी हुन्छ ।’
महानगरका एक कर्मचारी मेयर शाक्यसँग निर्णय क्षमता नै नभएको बताउँछन् ।
‘५ वर्ष महानगरको नेतृत्व गर्दा उहाँ आर्थिक विवादमा (भवनको ठेक्का बाहेक) पर्नु भएन,’ ती कर्मचारी भन्छन्, ‘काम गरेर विवाद सामना गर्ने भन्दा पनि काम नै नगर्ने उहाँको नीति थियो । कुनै ठुला आयोजनाका विषयमा उहाँले कुनै निर्णय दिन सक्नु भएन् । झिनामसिना कुरामा अल्झेर उहाँ बस्नुभयो ।’
हुन पनि मेयर शाक्य गुठीयार बस्ने घर बनाउनु, जात्रा पर्वमा सहयोग गर्नु, गुठीलाई व्यवस्थीत गर्न, जेष्ठ नागरिक भत्ता बढाउनुलाई निकै ठूलो काम भएको बताउने गर्छन् ।
‘मसँग महानगरका जनता धेरै खुसी छन्,’ शाक्यले विभिन्न कार्यक्रममा भन्ने गरेका छन्, ‘मैले महानगरको जनताको माग अनुसार काम गरेको छु । गुठियार बस्ने भवन बनाएको छु । साना साना जात्रा र पर्वमा महानगरले सहयोग गरेको छ । महानगरबासीले पहिलो पटक सरकारबाट सहयोग पाएका छन् ।’
काठमाडौंको भोटेबाहल घर भएका अर्जुन नकर्मी मेयर शाक्यले गुठियार बस्ने घर बनाएको बताउँछन् ।
‘नेताले केही गर्ने होइन भन्ने आम मानिसको सोच छ’ अर्जुन भन्छन्, ‘तर, मेयरसापले साना साना काम गर्नु भएको छ ।’
नेपाली कांग्रेसको काठमाडौं महानगर कमिटीमा सचिव बैद्य मेयर शाक्यले गरेको कामलाई वडा अध्यक्षले गर्ने काम भएको बताउँछन् ।
‘काठमाडौंको मेयरले गुठीलाई सहयोग गर्नु काम हो भन्ने होइन् । अर्बाैं राजस्व उठाउन सक्ने मेयरले देशलाई नै लाभ हुने काम गरेर देखाउनु पर्छ,’ बैद्य भन्छन् ‘उहाँले जुन काम गर्नु भएको छ, त्यो वडा अध्यक्षले गर्ने हो । महानगरले त्यसका लागि बजेटमात्रै दिँदा हुन्छ ।’
निकै कम काम भए
शाक्यले १०१ काममा उल्लेख गरे अनुसार जेष्ठ नागरिकको भत्ता भने वार्षिक १२ हजार रुपैयाँ बढाएका छन् । यस्तै काठमाडौं उपत्यकाभित्रका भित्री बाटोमा स्थानीय सरकार बनेपछि सडक कालोपत्रे गर्ने केही काम भएको बानेश्वरका स्थानीय सन्तोष खत्री बताउँछन् ।
मेयर शाक्यले भने अनुसार नभएपनि काष्ठमाण्डपको निर्माण भने पुर्ननिर्माण प्राधिकारणको नेतृत्वमा सम्पन्न भएको छ । यस्तै सम्पदा पुर्ननिर्माणमा स्थानीय सहभागिता बढाउने शाक्यको घोषणा केही कार्यान्वयन भएको देखिन्छ । भुकम्पपछिको पुर्ननिर्माणमा स्थानीय सरकारले समेत केही सहयोग गरेको थियो । र, धेरै ठाउँमा घर पुर्ननिर्माण सम्पन्न समेत भएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा ट्राफिक लाइट जडानमा शाक्य केही सफल भएका छन् । वर्षाैंदेखि बन्द रहेका ट्राफिक लाइट पछिल्लो समय सञ्चालनमा आएका छन् ।
ज्येष्ठ नागरिकहरुका लागि घरघरमा निःशुल्क सेवाको लागि महानगरपालिकाको स्वयंसेवकहरु परिचालन गर्ने योजनामा केही काम भएका छन् । यस्तै कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिनुको साथै कौशी तरकारी खेती गर्न अनुदान समेत दिएको थियो । महानगरको सरकारी र सार्वजनिक जग्गा संरक्षणमा समेत केही काम भएका छन्
मेयर शाक्यले काठमाडौंबासीले गौरब गर्ने गरी केही काम गर्न नसके पनि प्रशासन भने ठिकै चलाएको वैद्य बताउँछन् ।
‘गुठिको भवन बनाउनु भएको छ, गुठियारलाई भत्ता दिनु भएको छ,’ वैद्य भन्छन्, ‘भक्तपुर र ललितपुरमा यस्ता काम त कयौँ बनेका छन् । ठुलो कामको सपना देखाउने त नेतृत्वको काम हो । दैनिक समस्याबाट काठमाडौँको बासिन्दाले ठुलो सपना देख्न सक्नु भएको छैन । त्यो सपना हामी राजनीति गर्नेले देखाउने हो । र, सपना साकार पार्न काम समेत राजनीतिक नेतृत्वले गर्नु पर्छ । तर, मेयरसाप ठुलो सपना देखाउन नै असफल हुनु भयो ।’
फेरि उम्मेद्वार बन्न दौडधुप
५ वर्षे कार्यकालमा सपना ठूला देखाएर काम भने केही पनि गर्न नसकेका मेयर शाक्य फेरि मेयरको उम्मेद्वार बन्ने दौडधुपमा छन् । अधुरा रहेका कामहरु पूरा गर्नका लागि आफू फेरि मेयर बन्न चाहेको उनले बताए ।
‘पार्टीले पत्याएर टिकट दियो भने अधुरा कामहरु पूरा गर्नेछु,’ शाक्यले क्लिकमाण्डूसँग भने, ‘अहिले टिकटको चक्करमा भएकाले कार्यकालको समीक्षातिर नलागौं । केही दिनभित्रै तपाईंहरुसँग कुरा गर्छु ।’
यस्तो थियो शाक्यको चुनावी घोषणापत्र