अधिकार सम्पन्न मेयरको कमसल फिनिसिङ, चिरिबाबुलाई कति अंक ?



काठमाडौं । मेयर चिरिबाबु महर्जनका चुनावी प्रतिविद्धता पूरा भएको भए आज ललितपुर महानगरपालिका कस्तो हुन्थ्यो होला ?

चक्रपथमा मोनोरेल कुदिरहेको हुन्थ्यो । पुल्चोक र कुपन्डोलसहित चार ठाउँमा फ्लाइओभर बन्थे ।

विद्युत, टेलिफोन र केवलका तार भूमिगत गरेर ललितपुर महानगरपालिका सफा देखिन्थ्यो । बाटोघाटो चिटिक्क हुन्थे । धुलोमैलो फोहर कतै हुँदैनथ्यो । ललितपुरको चक्रपथ बनिसकेको हुन्थ्यो र त्यहाँ लामालामा विद्युतीय बस सञ्चालन हुन्थे ।

ऐतिहासिक राजकुलोले आफ्नो बाटो समाएको हुन्थ्यो । ललितपुरका छेउछाउ कृषि खेती लहलह हुन्थ्यो । शिक्षा, स्वास्थ्य, रोजगारीले भरिपूर्ण हुन्थ्यो । विभिन्न सांस्कृति सम्पदा, नाच, जात्राहरु विश्व सम्पदा सूचिमा सूचिकृत भइसक्थे ।

आज ललितपुर मुलुककै उत्कृष्त आधुनिक र सांस्कृतिक शहर बन्थ्यो ।

तर, पाँच वर्षपछि पनि ललितपुर महानगरपालिका झन्डै उस्तै छ ।

यी सबै घोषणा घोषणापत्रमै सिमित भए भन्दा फरक पर्दैन । ललितपुर महानगरपालिकाको वार्षिक बजेटमा ल्याएका कार्यक्रमलाई पूर्ण कार्यान्वयन गरेको भए शहरको स्वरुप नै अर्कै हुन्थ्यो ।

पछिल्ले पटक चुनिएका स्थानीय प्रतिनिधिहरुको कार्यकाल सकिँदै छ । पाँच वर्ष ललितपुर महानगरपालिकको मेयर पदको चुनाव हुँदा चिरिबाबु महर्जन नेपाली कांग्रेसका तर्फबाट उमेदवारी थिए ।

चुनावको मत परिणाम आउँदै गर्दा उनको प्रतिद्वन्द्वी थिए नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार । व्यञ्जनकारलाई ३२६ मतले पछि पार्दै काठमाडौं उपत्यकाभित्रको ललितपुर महानगरपालिका हाँक्ने मौका पाए चिरिबाबुले ।

स्थानीय तहले गर्ने काम भनेको आफ्नो क्षेत्रका हरेक व्यक्तिको समस्या पहिचान गर्ने र समाधान गर्ने हो । जस्तो कि सार्वजनिक यातायातको सुधार, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सफा वातावरण स्थानीयका मूल मुद्दा हुन् ।

यी मुद्दामा चिरिबाबु कति सफल भए त ? कति पाउँछन् अंक ?

चिरिबाबु आफैं भने घोषणापत्रमा गरेको प्रतिवद्धतामध्ये ९० प्रतिशत काम गरेको बताउँछन् ।

‘घोषणापत्रको प्रतिवद्धतामा ९० प्रतिशतभन्दा धेरै काम भएको छ,’ क्लिकमाण्डूसँग कुरा गर्दै चिरिबाबुले भने, ‘घोषणापत्रभन्दा बाहिरका पनि केही काम गरेका छु । त्यो पनि जोड्यो भने १५० प्रतिशत काम भएको छ ।’

उनले घोषणापत्रमा भएका प्रद्धिवद्धतामा फ्लाइभर र मोनोरेलको काम हुन नसकेको बताए ।

‘फ्लाइओभरमा पनि अध्ययन गरेर ओके अवस्थमा पुगेको छ,’ उनले भने, ‘यसको कार्यान्वयनको लागि प्राविधिक समस्या आएको छ ।’

काठमाडौं उपत्यकाको मेयरहरुको काम देखिरहेका विज्ञहरुले भने चिरिबाबुले औषतभन्दा माथि उठेर काम गर्न नसकेको बताउँछन् ।

पूर्वाधारविद् सूर्यराज आचार्यले अधिकार सम्पन्न कार्यकारी मेयरले महानगरबासीले अनुभव गर्नेगरी काम गर्न नसकेको बताए ।

‘चिरिबाबु महर्जन निकै क्षमतावान र बुझेको व्यक्ति हो तर उहाँले सक्नेजति कार्यसम्पादन गर्न चुक्नुभयो,’ आचार्यले भने, ‘यसको प्रमुख कारण गहन कामभन्दा अलि बढी प्रचारमुखी कार्यमा बहकिनु भयो ।’

अध्ययन नगरिकनै फ्लाइओभर र मोनोरेलको प्रचारमा लागेको उनको भनाइ छ । साथै, ट्राफिक चाप रहेको सडकमा साइकल लेनको नाममा लाइन कोर्ने जस्तो प्रचारमुखी काममा व्यस्त भएको उनको भनाइ छ ।
फ्लाइओभर र मोनोरेलको प्रचारभन्दा सार्वजनिक यातायातको व्यापक सुधारमा लाग्नुपथ्र्यो उनी । मोनोरेल अन्तर्राष्ट्रिय अनुभवले त्यत्ति सफल प्रोजेक्ट नभएको उनी बताउँछन् ।

‘चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको सार्वजकि यातातात सुधार गर्न ‘मास ट्रान्जिट’का लागि केन्द्रिय सरकारको संयोजनको पहल गर्नुपथ्र्यो,’ आचार्य भन्छन्, ‘महानगरले मेट्रो बनाउन सक्दैन । स्रोतले पुग्दैन ।’

सहरी विकासका पक्ष महानगरले पहल गरेर पूर्वधार विकास गर्न सक्ने प्रशस्त एजेन्डा थिए । बाहिरबाट हेर्दा देखिनेगरी काम भएको देखिँदैन ।

इलेक्ट्रिक बस ल्याउने बजेट छुट्याइएको छ । तत्कालका लागि बस समाधानको उपाय भए पनि ‘मास ट्रान्जिट’ दीर्घकालीन समाधान भएको आचार्यको भनाइ छ ।

नगरपालिको स्रोत साधनबाट नै साना योजनामा आम नागरिकले अनुभव गर्ने गरी उदाहरणीय काम गर्न सक्थे । तरकारी मण्डी, सार्वजनिक शौचालयदेखि सडक सुधार, सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल स्थापना र सुधारका काम गर्न सकिन्थ्यो । त्यसमा काठमाडौं उपत्यका मेयरहरु चुकेको उनको भनाइ छ ।

जनस्वाथ्य, सार्वजनिक ठाँउमा पार्क बनाउने, सार्वजनिक सेवा चुस्त बनाउने, आम नागरिकलाई वडामै नगइकन डिजिटल प्रविधिको सेवा दिने जस्ता काम गर्ने अवसर मेयरलाई थियो । जुन काम महानगरपालिकाको आफ्नै साधन स्रोतबाट गर्न सकिन्थ्यो । स्थानीयस्तरका सार्वजनिक सेवामा पनि सुधार हुन नसकेको आचार्य बताउँछन् ।

ट्रान्सपोर्ट एण्ड ट्राफिक इन्जिनियर आशिष गजुरेलले ललितपुर महानगरपालिका केही काम गर्न प्रयास भएको तर रिजल्ट भने नदेखिएको बताउँछन् ।

‘गर्न खोजेको भन्ने भान हुन्छ तर साइकल लेनबाहेक ठ्याक्कै यही भयो भन्ने ठाउँ देखिँदैन,’ गजुरेलले भने, ‘हाम्रोमा रिजल्ट ओरियन्टेड काम हुदैनन् ।’

ललितपुरमा काम गर्ने धेरै अवसर हुँदाहुँदै पनि त्यसअनुसारको काम हुन नसकेको तर साइकल लेन र फुटपाथमा केही कम भएको उनको भनाइ छ ।

पूर्वाधार क्षेत्रमा चिरिबाबुले निकै ठूला सपना बाँडेका थिए । चक्रपथमा मोनोरेल निर्माण गर्ने भन्दै उनले मतदातासँग भोट मागे । हुन त हरेक महानगरपालिकाका मेयरले मोनोरेलको सपना बाँडेका होइनन् ।

मोनोरेलमात्र होइन ट्राफिक जामलाई कम गराउने भनेर पुल्चोकदेखि कुपन्डोलसम्मको १.४ किलोमिटरको फ्लाइओभरले समेत मूर्तरुप लिन सकेन ।

योसँगै ललितपुरमा पर्ने चक्रपथको ७.९ किलोमिटरमा पर्ने ग्वार्को, चापागाउँ जाने बाटो, सातदोबाटो र एकान्तकुनामा इन्टरसेक्सन फ्लाइओभर बनाउने भनिएको थियो ।

यसको प्रारम्भिक अध्ययन भने भएको छ । पुल्चोकदेखि थापाथलीको बाटोमा ६ वटा घर भत्काउनु पर्ने र अन्य प्राविधिक समस्या भएपछि अगाडि बढ्न नसकेको चिरिबाबु बताउँछन् । ग्वार्कोमा संघीय सरकारअन्र्तगत नै फ्लाइआभेर बनाउने भनेर टेन्डरको काम अगाडि बढाएको छ ।

फ्लाइओभर वा मोनोरेल नबन्दा केही नबिग्रिएको तर त्यसमा लगाउने पैसा सार्वजनिक यातायातमा लगाउने हो भने बल्ला राम्रो प्रतिफल आउने गजुरेलको भनाइ छ । व्यवस्थित सार्वजनिक यातायात भएमा बल्ला राम्रो हुन्थ्यो ।
‘मोनोरेल र फ्लाइओभर शुरु गर्दा खर्चमात्रै हुन्छ,’ गजुरेल भन्छन्, ‘सबैभन्दा पहिला सार्वजनिक यातायातलाई राम्रो बनाउनु पर्छ ।’

सहरको आवतजावत सहज बनाउने पुल पनि बन्न नसक्नु पाँच वर्षमा पनि जनताले सुशासनको अनुभूति गर्न नपाउनु हो । पाटन अस्पताल र साझा भवन अगाडि आकाशे पुल बनाउने भनेर घोषणा भएको काम अम्भाव्यता अध्ययनमै रोकियो ।

पुल्चोक, मंगलबजार, हात्तीवन, हरिसिद्धि, ठैब, सन्तानेश्वर, नागदह, बज्रबाराही, ठेंचो, सुनाकोठी, बुङती, खोकना, सैंबु हुँदै पुल्चोकसम्म चक्रपथ बनाउने योजना अलपत्र पर्यो ।

महानगरले वडा नम्बर २४ मा आयुर्वेवेदिक अस्पताल सञ्चालन गर्ने भन्दै जग्गा खोज्ने काम शुरु गरेको थियो । यसको लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको भएको छ । तर, त्यो कार्यान्वयन हुन सकेको छैन ।
साथै, प्रत्येक वडामा योग तथा प्राकृतिक चिकित्सा केन्द्र बनाउने योजना थियो । दुवै योजना सफल भएनन् ।

टीकाभैरवदेखि जावलाखेल हुँदै कुपण्डोलसम्म बग्ने राजकुलोलाई जिवन्तता दिने निर्णय भएको थियो । यो निर्णयको कागजमै सीमित भयो । ढुंगेधाराहरूलाई पुरानै अवस्थामा फर्काउने योजना थियो ।

चिरिबाबु मेयर भएपछि महानगरलाई सफा चिटिक्क बनाउन हप्ताको दुई पटक सडक पखालेर धुलोमुक्त बनाउने घोषणा गरेका थिए । उनले घोषणा गरेअनुसार सफा भने देखिदैन । महानगरले ३ वटा ब्रुमर प्रयोग गरेर भित्री सकडमा सफा गर्ने काम गरिरहेको महानगरले जनाएको छ ।

अपांगमैत्री सार्वजनिक पूर्वाधार बनाउने, अस्तव्यस्त विज्ञापन बोर्ड हटाउने, सार्वजनिक यातायात सुधार गर्ने प्रतिवद्धता पूरा भएन । सहरभि ठूला विद्युतीय बस चलाउने योजना अलपत्र ।

थोत्रा बस, लतिलपुरका छेउछाउका गाउँमा विकटजस्तै छन् । गाडीको सुविधा, बाटो निर्माण पनि हुन सकेको छैन ।

ललितपुर कृषि उब्जनी भएको क्षेत्र पनि हो । खोकना, धापाखेल, हरिसिद्धि जस्ता क्षेत्र कृषिको लागि सम्भावित क्षेत्र हुन् । कृषिलाई आधुनिकरण गरेर उब्जनी बनाउनेतिर महानगरको ध्यान गएको पाइदैन ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र पाटन क्याम्पसको सहकार्यमा ‘शैक्षिक जनशक्ति, ललितपुरको सम्पत्ति’ कार्यक्रममार्फत जनशक्ति उत्पादन गर्ने घोषणा भएको थियो । यो विषय पनि अपूरो रयो ।
स्थानीय तरकारी बजारलाई व्यवस्थित गर्ने भनेर जाउलाखेल र लगनखेलमा कोल्डस्टोर बनाउने योजना पनि पूरा भएन ।

गजुरेलले ललितपुरमा धेरै काम गर्ने अवसर हुँदाहँदै काम नभएको बताउँछन् ।

‘सम्पदा, हाउजिङका योजना कुरा धेरै आए तर काम भने भएनन्,’ गजुरेल भन्छन्, ‘ललितपुरमा यस्ता काम गर्न सकिने ठाउँ पनि छ । कोर सिटीभन्दा पछाडि धेरै जग्गा छ, यसलाई राम्रो प्रयोग गर्ने अवसर थियो र छ ।’
उनका मेयरका प्रतिद्धन्द्धी हरिकृष्ण व्यञ्जनकार भने महानगरपालिकाले संस्थागतरुपा काम गर्न नसकेको बताए ।

‘पाँच वर्षमा देखिनेगरी कुनै पनि काम भएका छैनन्,’ व्यञ्जनकारले भने, ‘संस्थागतरुपमा नगरपालिका चल्न सकने ।’

सांस्कृतिक सहरको राजधानी बनाउने घोषणा

ललितपुर संस्कृति शहर हो । मठमन्दिर, जात्रा, नाँच, एतिहासिक पाटीपौवाको धनी छ ललितपुर । चिरिबाबुले ललितपुर महानगरपालिकालाई आधुनिक र ‘संस्कृतिक नमूना राजधानी’ बनाउने घोषणा गरेका थिए ।

२०७४ जेठ १८ मा निर्वाचित भएपछि जनप्रतिनिधिको पहिलो बैठकले महानगरलाई सांस्कृति सहरको नमुना राजधानी बनाउने निर्णय गरेको थियो । त्यस्तै, जेठ २१ को बोर्ड बैठकले रातो मत्स्येन्द्रनाथ, खोकनाको रुद्रायणी नाच, हरिसिद्धि भवानी देवी नाच, कात्तिक नाच, मतयाः जात्रा, धापाखेलको शिवालय, देवालयलगायत अमूर्त सम्पदानलाई विश्व सम्पदा सूचिमा राख्ने निर्णय गरेको थियो । त्यस्तै, खोकना, बुङमति र हरिसिद्धलाई पनि विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने निर्णय गरेको थियो ।

विश्व सम्पदा सूचीमा सूचिकृत हुने विषयमा प्रगति हुनसकेको छैन । महानगरले चालु आर्थिक वर्षमा यसलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न विज्ञ समुह गठन गरेको जनाएको छ । विश्व सम्पदा सूचिमा सूचिकृत हुन समय लाग्ने भएकाले यो प्रकृयामा गएको उनको भनाइ छ । जात्रा, नाँचमा बजेट छुट्याएर केही व्यवस्थित गर्न खोजेका छन् ।

ललितपुर हस्तकला, चित्रकला, मुर्तिकला, धातुकलाको परम्परागत व्यवसाय भएको क्षेत्र हो । यहाँको परम्परागत व्यवसायलाई विकास गरेर विश्वसामु पुर्याउने अवसर थियो । यस क्षेत्रमा पनि काम हुन नसकेको धेरैको गुनासो छ ।
भूकम्पले ललितपुर क्षेत्रका धेरै एतिहासिक क्षेत्रमा क्षति पुर्याएको थियो । महानगरपालिका कतिपय भित्री भागहरुमा टेको लगाएका भवनहरु देखिन्छन् । सम्पदा क्षेत्रभित्र परम्परागत शैलीमा घर बनाएमा केही अनुदान दिने व्यवस्था महानगर गरेको छ ।

पुराना सम्पदालाई जोगाउँदै आधुनिक सहर बनाउने अवसर नयाँ प्रतिनिधीलाई थियो ।

पुराना जात्रा, पर्व, नाच, सांस्कृतिक उत्सवको संरक्षणमा महानगरले केही प्रयास भने गरेको छ । महानगरिले ८५ भन्दा धेरै सार्वजनिक स्थल, मन्दिरको पुर्ननिर्मण गरेको जनाएको छ । सांस्कृति सम्पनाको संरक्षणमा केही काम भएका छन् ।

सम्पदा संरक्षण र यसको विकासमा केही काम गर्न खोजेको आचार्यको भनाइ छ ।

केही प्रशंसनीय काम

घोषणापत्र र आफ्नै बजेटबाट ल्याएका योजना सबै पूरा नभए पनि चिरिबाबु महर्जनले केही क्षेत्रमा भने प्रशंसनीय काम गरेका छन् ।

महानगरले विद्युत प्राधिकरणसँग मिलेर स्मार्ट सडक बत्ति जडान गरिरहेको छ । महानगरकाअनुसार गत वर्ष ४ वटा सकडमा स्मार्ट सडक बत्ति जडान गरेको थियो । चालु आर्थिक वर्षमा दोस्रो चरणमा साढे ११ सय स्मार्ट सडक बत्ति बनाउने काम अगाडि बढेको छ । ती बत्तीहरु बुङमति, खोकना, हरिसिद्धि, चापागाउँ, धापाखेल, स्वयम्भु भैसिपाटी, लगनखेल, जाउलाखेल र पुल्चोकसम्म जडान हुनेछन् । कम्पनी छनोट भएर सर्भेको काम भइरहेको छ ।

त्यस्तै, चक्रपथको ७.९ किलोमिटरमा पनि बत्ती जडान गर्न भनेर टेन्डर आह्वान भएको छ ।

अर्को प्रशंसीयन काम भनेको नगर प्रहरी उचित परिचालन हो । चिरिबाबुले पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुलाई नगर प्रहरी नियुक्त गरेपछि ललितपुरको नगर प्रहरीले राम्रो काम गरेको भनेर प्रशंसा भएको छ । धुमपान निशेषधित क्षेत्र घोषणा गर्ने काम पनि भएका छन् ।

‘प्रहरीबाट यातायात व्यवस्थापन गर्ने, गलत पार्किङ हटाउने, सार्वजनिक यातायातमा प्रयास गरेको देखिन्छ,’ गजुरेल भन्छन्, ‘तर रिजल्ट देखिएको छैन ।’

प्रहरीको समन्वयमा सीसी टिभी जोड्ने काम भएका छन् । महानगरले २ करोड रुपैयाँ छुट्याएर प्रहरीबाट सीसीटिभी जोड्ने काम भइरहेको महानगरले जनाएको छ ।

साइकल लेनमा आलोचना र प्रशंसा

उपत्यकावासीलाई आवातजावत र सहरमा बस्न सहज महशुस गर्ने वातावरण खोजिरहेका छन् । चिरिबाबुले यही कुरालाई ध्यानमा राखेर साइकल लेन भन्दै सकडमा लाइन कोर्ने काम गरे ।

साइकल लेनको विषयमा भने आलोचन र प्रशांसा दुबै आएका छन् । कतिले साइकल लेन बनाउने काम प्रशंसनीय भएको भनिरहेका छन् भने कतिले व्यस्त सकडमा लाइन कोर्नु गैरजिम्मेवार काम भएको बताएका छन् । गजुरेल चिरिबाबुको सबैभन्दा देखिने काम भनेको साइकल लेन भएको र प्रशंसनीय रहको बताउँछन् ।

आचार्य भने साइकल लेन बनाउने भनेर सकडमा लाइन कोर्नु गैरजिम्मेवारी काम भएको बताउँछन् । साइकल लेनको प्राविधिक मापदण्ड हुन्छ ।

‘ट्राफिक चाप भएको सडकमा लाइन कोरेर साइकल लेन भनिँदैन,’ ‘साइकल लेनको आफ्नै क्षेत्र, प्राविधिक कुराहरु हुन्छन् ।’ उनलाई सल्लाह दिने प्राविधिकहरुको त्रुटी भएको उनको भनाइ छ ।

महानगरका अनुसार अहिलेसम्म साढे ३२ किलोमिटरमा साइकल लेन बनिसकेको छ । त्यस्तै, चक्रपथको ७.९ किलोमटरमा अन्तर्राष्ट्रिय स्तरको वाइसाइकल लेन बनाउने टेन्डर आह्वान भइसकेको छ ।

कुपन्डोलदेखि एकान्तकुना, जाउलाखेलदेखि ग्वार्को र पुल्चोकबाट पाटन दरबार हुँदै ग्वार्कोसम्म सांकेतिकरुपमा साइकल लेनको सांकेतिक साइलन छुट्याएको छ । त्यसमा साइलक लेन बनाउने योजना महानगरको छ । अहिले कतिपय ठाउँमा भने साइकल लेख छुट्याइएको रङ उडिसकेको छ । त्यसमा यही वर्ष पुन रङ भर्ने काम गर्न बजेट छुट्याइएको छ ।


सन्तोष न्यौपाने