वीरगञ्जका मेयरको चुनावी प्रतिबद्धता कागजमै सीमित, आफैं सन्तुष्ट छैनन् सरावगी



काठमाडौं । साढे चार वर्षअघि गैर राजनीतिक पृष्ठभूमिबाट वीरगञ्ज महानगरपालिकाका मेयर बनेका विजय कुमार सरावगीको कार्यकाल सकिन लागेको छ । आगामी वैशाख ३० गते हुने चुनावले वीरगञ्ज महानगरपालिकाले मेयरको रुपमा नयाँ नेतृत्व चयन गर्नेछ ।

उक्त नेतृत्वका लागि अहिलेदेखिनै राजनीतिक दलहरूबीच रस्साकस्सी शुरु भइसकेको छ । चुनावको तयारी गरिरहँदा वर्तमान मेयर सरावगीको कार्यकालको समीक्षा हुन थालेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वीरगञ्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको फागुन १८ गतेसम्मको कार्य सम्पादन तथा मूल्यांकन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश सरकार र स्थानीय तहले कार्यसम्पादन सूचक वापत ४८.६८ प्रतिशत अंक प्राप्त गरेको छ ।

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिकाका वीरगञ्जमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएर मेयर बनेका थिए ।

मेयरमा चुनिएपछि भगवानले दिएको सबथोक छ भन्दै महानगरपालिकाबाट पाउने सुविधा केही लिन्न, गाडी पनि आफ्नै प्रयोग गर्ने घोषणा गरेका थिए ।

तर, तत्कालीन समयमा गरेको घोषणा एक वर्ष नपुग्दै महानगरपालिकाबाट पजेरो खरिद गरे । उक्त निर्णयले उनी आलोचित पनि भए । व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका सरावगीले महानगरापालिकाबाट सेवा सुविधा नलिने सबैको अपेक्षा थियो । तर, आफैले गरेको ‘कसम’ आफैले भुलेर पोजेरो किने ।

१९ हजारभन्दा बढी मत ल्याएर मेयर बनेका सरावगीले विभिन्न १४ वटा वर्ग छुट्टाएर प्रत्येक वर्गको ३ देखि १४ वटा बुँदालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । तर, कार्यकाल सकिनै लाग्दासम्म उनको प्रतिबद्धता कागजमै सीमित भएको छ ।

मेयरले आफ्नो प्रतिबद्धतामा ‘मेरो कसम’ भन्दै आफूले ५ वर्षको कार्यकालमा दिएको प्रतिबद्धतापूरा गर्ने जनाएका थिए । साथै, ‘५ ब’ अर्थात् बेरोजगारी अन्त्य, बाटो, विद्यालय, बिजुली र बैैंक क्षेत्रमा सुधार गर्ने अवधारणा अगाडि सारेका थिए । तर, उक्त प्रतिबद्धता साढे ४ वर्षको अन्तरालमा २० प्रतिशत पनि पूरा भएको छैन ।

तर मेयर सरावगी भने आफूले गरेका प्रतिबद्धतामध्ये ८० प्रतिशत काम पूरा गरेको दाबी गर्छन् । र, पनि आफ्नो कार्यकालमा जति गर्नुपर्ने थियो सोअनुसार काम नभएको उनको भनाइ छ ।

‘मैले मेरो कार्यकालमा जति पनि काम गरेको छु । त्यसमा शत प्रतिशत योगदान दिएको छु,’ उनले भने, ‘नतिजा पनि सकारात्मक रहेको छ ।’

यस्ता थिए मेयर सरावगीले जनाएका प्रतिबद्धता

मधेश तथा मधेशी सहिद
मेयर सरावगीले पहिलो पृष्ठमा मधेश र मधेशी सहिदको व्यवस्थापन गर्ने उद्देश्यले ६ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए ।

सरावगीले मधेशी सहिद पार्क तथा सहिदका नाममा सभागृह निर्माण गर्ने, वीरगञ्ज महानगरपालिकालाई प्रदेश नम्बर २ को राजधानी बनाउनको लागि पहल गर्ने, मधेसी सहीद परिवार, भूमिहीन तथा सुकुम्वासीहरुको लागि आवास योजना लागू गर्ने, मधेस आन्दोलनमा अपाङ्ग र सहिद भएका परिवारहरुका लागि रोजगार तथा जीविकोपार्जनको व्यवस्था गर्ने घोषणा गरेका थिए ।

साथै, मधेश आन्दोलनका घाइतेहरुलाई आजीवन स्वास्थ्य सुविधा तथा भत्ताको व्यवस्था गर्ने र मधेशी सहिदका सन्तानहरुलाई उच्च शिक्षा निःशुलक प्रदान गर्न आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

उक्त घोषणामध्ये सहिद पार्क निर्माणबारे कांग्रेसले विरोध जनाएपछि कार्य अगाडि बढाउन सकेनन् । साथै, बाँकी अन्य बुँदामा समेटिएको अधिकांश कार्य अधुरै भए ।

भ्रष्टाचार शून्य बनाउने प्रतिबद्धतामा आफै मुछिए
मेयर सरावगीले आफ्नो नगरलाई भ्रष्टाचारमा शून्य बनाउने लक्ष्यसहित सुशासन तथा जनमुखी प्रशासनअन्तर्गत ११ वटा बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए । तर, मेयर सरावगीको कार्यकालमा जस्तो भ्रष्टाचार अन्य मेयरले नगरेको उनका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता अजय द्विवेदी बताउँछन् ।

उनकाअनुसार भ्रष्टचार उन्मुलन गर्नुभन्दा पनि मेयर सरावगीले बढवा दिएका छन् ।

‘गैरराजनीतिक पृष्ठभूमिबाट आएका सरावगीलाई सबै जनताले विश्वास गरेर मत दिएका थिए,’ उनले भने, ‘तर, व्यवसायबाट राजनीतिमा प्रवेश गरेका मेयरलाई राजनीतिक बुझ्न नै ४ वर्ष लाग्यो ।’

राजनीतिक नबुझेकै कारण उनले लोकप्रियता कमाउनका लागि महत्वकांक्षी घोषणापत्र ल्याएर जनतालाई झुक्याएको उनको आरोप छ । साथै, उनले पाइला पाइलामा भ्रष्टाचार गरेको उनको भनाइ छ ।

तर सरावगीले भने बिना प्रमाण आफूमाथि भ्रष्टचारको आरोप लागेको बताउँछन् ।

‘हामीलाई भ्रष्टाचारको आरोप लाग्छ भने के भन्ने यसमा । भ्रष्टाचार गरे भन्न दिनुहोस् । त्यसले केही फरक पार्दैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘भ्रष्टाचार गरेको भनेर मात्रै हुँदैन । भष्ट्रचार गरेको प्रमाण पनि हुनुपर्यो ।’

उनले ६/६ वटा निकायले महानगरपालिकालाई हेरेर बसेको बताउँदै लेनदनमा मेयर सामेल नहुने उनले जिकिर गरे ।

उनका अनुसार महानगरपालिकाको सबै काम प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुने भएकाले मेयरले नीति नियममा रहेर काम गर्ने हुँदा कसरी भ्रष्टाचार बढाउन सक्छ भन्ने प्रश्न गर्छन् ?

त्यसैगरी, सरावगीले महानगरमा हुने नगद कारोबारलाई बिस्तारै निरुत्साहित गर्ने, स्थानीय तहमा हुने सबै कामपछि त्यसको समाजिक लेखा परीक्षण गरी पादर्शितालाई बढावा दिने, लैङ्गिक उत्तरदायी तथा समाजिक समावेशी बजेटको निर्माण गरी योजना सञ्चालन गर्ने र लैङ्गिक उत्तरदायी तथा समाजिक समावेशी बजेट परिक्षणलाई प्राथमिकताका साथ लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।

साथै, ‘जनता मेयर आमने सामने’ कार्यक्रम प्रत्येक महिनामा कम्तीमा १ पटक गरिने, स्थानीय तहबाट दिइने सेवा सम्भव भएसम्म घरदैलोमै उपलब्ध गराई नागरिकलाई जनमुखी प्रसाशनको अनुभुति गराउने लक्ष्य लिएका थिए । तर, कार्यकाल सकिनै लाग्दा घोषणापत्रमा उल्लेख गरिएका काममा कुनै प्रगति भएको देखिँदैन ।

बालबालिका तथा शिक्षाको कार्य अधुरै
मेयर सरावगीले आफ्नो घोषणापत्रको तेस्रो प्राथमिकतामा बालबालिका तथा शिक्षालाई राखेका थिए । उनले सो घोषणापत्रमा ‘स्लेट टु स्लाइड’, ‘बकरी से ब्याचलर तक’ र ‘बेटी बचाइ बेटी पढाइ’ अभियान अघि सारेका थिए ।

उक्त अभियानमध्ये ‘बेटी बचाइ बेटी पढाइ’ कार्यान्वयनमा आएपनि प्रभावकारी भएन ।

साथै, ‘स्लेट टु स्लाइड’ अभियान अन्तर्गत प्रत्येक स्कुलमा आधुनिक प्रबिधि जडान गरी ‘डिजिटल’ प्रविधिबाट आधुनिक तथा उपयोगी शिक्षा प्रदान गरिने जनाएका थिए । तर, उक्त घोषणा पनि कागजमै सीमित भएको छ ।

वीरगञ्ज महानगरपालिकामा गाभिएका वडाका लागि ५ वटा मदर कलेज निर्माण गरी ११ देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने र ‘बकरी से ब्याचलर तक’ भन्ने अभियान सञ्चालन गरिने उल्लेख गरेका थिए । तर, उक्त कार्य अगाडि नै बढ्न नसकेको अवस्था छ ।

महानगरपालिकामा अध्ययन केन्द्र, आधुनिक पुस्ताकालय, ‘ई–लाईबे्ररी’ (डिजिटल) को स्थापना गरिने घोषणा गरेको थियो ।

तर, सो घोषणा पनि घोषणामै सीमित भएको छ । त्यससँगै, सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत प्रत्येक गरिब तथा जेहेन्दार बालिकाहरुलाई निःशुल्क ल्यापटप वितरण प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धता जनाए पनि मेयर कुनै पनि प्रकारका विद्यार्थीलाई ल्यापटप प्रदान नगरेको महानगरपापालिकाले जनाएको छ ।

उक्त कार्य गर्न नसके पनि मेयरले महानगरापलिकामा ३ वटा मोडलको स्कुल स्थापना गर्न सफल भएका छन् ।

साथै, सामूदायिक विद्यालयको कक्षा ८ पास गरेका गरिब तथा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गर्ने भनिएकोमा अनुदानमा सीमित छात्रालाई मात्रै साइकल वितरण गरेका छन् ।

मेयर सरावगीले युवालाई समेट्दै तालिम केन्द्र, बेरोजगारी भत्ता, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन, यसवालाई बिना धितो ऋण उपलब्ध गराउने, सार्वजनिक क्षेत्रमा निःशुल्क वाइफाइ वितरण र विभिन्न विधामा युवालाई युवा प्रतिभा पुरस्कारमा १ लाख दिने प्रतिबद्धता गरेका थिए । उक्त प्रतिबद्धतामध्ये मेयर सरावगीले युवाका लागि कुनै काम गरेका छैनन् ।

मेयर सरावगीले महिलाको विधा अन्तर्गत गरिबीको रेखामुनी रहेका परिवारलाई निःशुल्क जडान गर्ने, आयआर्जनका लागि सीपमुलक तालिम गर्ने र प्रसुति सेवा सुरक्षित तथा निःशुल्क गर्ने व्यवस्था गर्ने प्रतिबद्धता लिएका थिए । तर, उक्त क्षेत्रमा मेयरले ध्यान नै नदिएको जानकारहरूले बताएका छन् ।

औद्योगिक सहर भनेर चिनिने वीरगञ्जमा मेयर सरावगीले कृषिमा जोड दिएका थिए । त्यस्तै, राहतको पनि व्यवस्था गर्ने जनाएका थिए । साथै, जेष्ठ नागरिकलाई पूर्ण निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएपनि कुनै कार्य हुन नसकेको द्विवेदीको भनाइ छ ।

पर्यटन तथा पूर्वाधारमा चुकेका सरावगी
वीरगञ्ज नेपालको प्रमुख प्रवेश बिन्दु र देशकै प्रमुख व्यपारिक नाका पर्यटन र पूर्वाधारमा सरवागीले १४ वटा बुँदासहित विभिन्न क्षेत्रमा सुधार गर्ने घोषणा गरेका थिए ।

जसमा आवश्यक ठाउँहरूमा ओभर बृजको निर्माणको योजना ल्याई स्रोतको जोहो गर्ने, चक्रपथ, सिर्सिया करिडोर, उत्तर–दक्षिणमा ४ वटा फराकिला सडक र पूर्वपश्चिममा आधा दर्जन सम्पर्क सडक निर्माण तथा स्तरोन्नतीलगायतको योजना लागू गर्ने, वीरगञ्जमा जोडिन आएका नयाँ क्षेत्रहरूमा सडक विस्तारलाई विशेष प्याकेजका रुपमा अघि बढाइने जनाएका थिए ।

‘महानगर क्षेत्रभित्र नयाँ स्थानमा सुव्यवस्थित सहरी विकास कार्यक्रम योजना बनाई लागू गरिनेछ । दैनिक जाम हुने खोलामा दुई लेनको नयाँ पुलको निर्माण यथासिघ्र सम्पन्न गरिने,’ घोषणापत्रमा उल्लेख थियो ।

उक्त उल्लेखितमध्ये अधिकांश कार्यमा सरावगी असफल भएका छन् ।

अझै पनि महानगरमा गाभिएका नयाँ क्षेत्र र पछिल्लो समयमा बिस्तार भएका नयाँ बस्तीहरूमा अविलम्ब व्यवस्थित ढल तथा नाला निर्माणको योजनामा ढलको राम्रो व्यवस्थापन हुन सकेको छैन ।

सिर्सिया नदीको दुवै किनारमा पक्की सडक सहित नाला निर्माण गरी वीरगञ्जबाट निस्केको फोहोर पानीलाई प्रशोधन केन्द्रमा लगी प्रशोधनपश्चात खानेपानी बाहेकको कार्यमा पुर्नप्रयोग गर्ने व्यवस्था मिलाइने सरावगीले बाचा गरेका थिए । तर, महानगरपालिकासँग सीमित स्रोत साधन भएकाले उक्त कार्य गर्न नसकेको मेयर सरावगी बताउँछन् ।

‘मैले फोहोर पानीलाई प्रशोधन गरी खानेपानी बाहेकको कार्यमा पुर्नप्रयोग गर्ने योजना बनाएको हो । त्यसमा हामीले खानेपानीको प्रशोधन केन्द्र बनाएका छौँ,’ उनले भने, ‘तर, पछि महानगरमा जोडिन आएका वडाहरूमा भने सो व्यवस्था गर्न नसकिएको हो ।’

उनकाअनुसार ती वडामा पनि सो व्यवस्था गर्नका लागि ५ सय करोड रुपैयाँको आवश्यक हुन्छ । महानगरपालिकासँग उक्त रकम छैन । त्यसैले महानगरले सरकारसँग सो व्यवस्थापनका लागि बजेट माग गरेको छ ।

उनले आफ्नो कार्यकालमा १८४ किलोमिटर फोहोर पानी निकासी गर्ने व्यवस्था मिलाएको बताए । जुन आफ्नो कार्यकालमा धेरै व्यवस्था गर्न सफल भएको उनको दाबी छ । आफ्नो कार्यकालमा प्रतिबद्धता गरेको ८० प्रतिशत काम गरेको उनले जिकिर गरे ।

सिर्सिया नदीको पानी सफा र प्रयोग लायक हुने बताउँदै निर्माणाधिन पानी प्रशोधन इकाई र फोहोर ब्यवस्थापन केन्द्रलाई समयसीमाभित्रै निर्माण पूरा गरी फोहोर बिसर्जनलाई व्यवस्थित बनाइने भनिएपनि विभिन्न कारणले गर्दा व्यवस्थापन गर्न नसकेको मेयर आफै स्वीकार गर्छन् ।

‘म आफ्नै कामप्रति सन्तुष्ट भने छै्रन । मेयर बनेर जाने वित्तिकै महानगरपालिका ३६ करोड रुपैयाँ ऋणमा छ भन्ने थाहा भयो । आम्दानी १७ करोड रुपैयाँ मात्रै थियो,’ उनले भने, ‘मेरो सोच केन्द्र र प्रदेशले स्रोत दिन्छ होला सोचेको थिए । केन्द्र र प्रदेशले आफ्नो कार्यकर्ताका लागि मात्रै स्रोत दिए । उनीहरुले हामीहरुलाई आवश्यकता छ कि छैन भनेर त्यो पनि बुझेनन् । जसले गर्दा आफ्नै काममा म सन्तुष्ट छैन ।’

तर, पनि आफूले जनाएका प्रतिवद्धतामध्ये ८० प्रतिशत काम गर्न सफल भएको उनले जिकिर गरे ।

वीरगञ्जमा शिक्षा, स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, औद्योगिक, व्यापारिक, सांस्कृतिक, पर्यटकीय, पार्किङ, ट्रान्सपोर्टेसन, कबाडआदि क्षेत्र तोकी वर्गीकृत गरिने, वीरगञ्जका अलग–अलग क्षेत्रलाई आफैमा विकसित र सुविधायुक्त बनाउने किसिमले ‘स्याटेलाइट सिटी’ को अवधारणा कार्यन्यवन गर्ने जनाएका थिए । तर, सो व्यवस्थामा मेयर आफै चुकेका छन् ।

यद्यपि मेयर सरावगी भने गाउँदेखि सहरसम्म मोटर बाटो पुर्याएको दाबी गर्छन् । जसले गर्दा सेवा सुविधाका लागि गाउँ छोडेर सहर जाने प्रवृत्ति रोक्न सफल भएको समेत उनले बताए ।

द्विवेदी भने साढे ४ वर्षको कार्यकालमा सँधै निरन्तर भइरहेको काम मात्रै गर्न सफल भएको बताउँछन् ।

‘गाउँमा बाटो पु¥याउने, पानीको व्यवस्था गर्ने जस्ता कार्य जुनसुकै मेयर आएपनि गर्ने काम हो,’ उनले भने, ‘महानगरपालिकाबाट भने उपलब्धिमुलक कार्य कुनै पनि हुन सकेन ।’

साथै, वीरगञ्ज महानगरपालिकाले आफ्नै मातहतमा सञ्चालन हुने एउटा विश्वविद्यालयको स्थापना गर्ने, वीरगञ्ज महानगरपालिकालाई हराभरा सहर बनाउन कम्तीमा १० लाख विरुवाहरु रोपी संरक्षण गरी हुर्काइने र वीरगञ्ज महानगरपालिकाको आदर्शनगरमा रहेको पुरानो बसपार्कलाई बृहत्तर गुरुयोजना बनाई आधुनिक सवारी पार्किङसहितको सपिङ कम्प्लेक्सको निर्माण गरिने लगाएता प्रतिवद्धता जनाएका थिए ।

यस्तै, मेयर सरावगीले अफ्नो घोषणापत्रमा औद्योगिक क्षेत्रलाई पनि समेटेका थिए ।

वीरगञ्ज महानगरपालिकाभित्र बिशेष सुविधासम्पन्न औधोगिक क्षेत्र निर्धारित गरी विकास गर्नुको साथैै वीरगञ्ज पथलैया औधोगिक करिडोरलाई ग्रेटर वीरगञ्ज्को अवधारणभित्र राखी यसलाइ मुलुककै आर्थिक तथा औद्योगिक राजधानीको रुपमा स्थापित गरिने उनको प्रतिवद्धता थियो ।

मेयर सरावगीले आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै वीरगञ्ज महानगरपालिकालाई लोडसेडिङ मुक्त बनाउने, सडक बत्तीलाई पूर्ण व्यवस्थित गर्ने, कृषि औजार कारखाना तथा वीरगञ्ज चिनी कारखाना पुरानै अवस्थामा फर्काउने घोषणा गरेका थिए ।

मेयर सरावगीले महानगरपालिकाभित्र टोल विकास सस्ंथाको संख्या १०० बटा बढाएर ५०० सम्म पुर्याई स्थानीय स्तरको विकास निर्माण, सामाजिक कार्य तथा अन्य सामाजिक गतिविधिहरुमा परिचालन तथा प्रवद्र्धन गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

तर, प्रतिवद्धता गरिएका कसम आफैले भुले ।

उनले स्वास्थ्यतर्फ प्रत्येक वडामा नियमित रुपमा ल्याब परीक्षण तथा भिडियो एक्स–रे सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने, वीरगञ्जको नारायणी उप–क्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिकसित गरी नेपाल कै नमूना अस्पताल उनको प्रतिवद्धता थियो ।

सरावगीले स्थानीय संघ संस्थाका लागि करिब एक दर्जन प्रतिवद्धता जनायता पनि ती काममध्ये केही योजनाले मात्रै पूर्णता पाएका छन् ।

सरावगीले आफ्नो कार्यकालमा महानगरपालिकाकै स्रोतमा अस्पताल बनाउने योजना अघि सारे पनि सो काम भने सम्पन्न गर्न नसकेको बताए ।

महानगरलाई प्रविधियुक्त स्मार्टसिटीको रुपमा विकास गराउँदै सञ्चार र इन्टरनेटको उपयोगलाई सघन र सर्वसुलभ तुल्याउनका निम्ति सरोकारवाला निकाय र पक्षसँग सहकार्य गरिने, ‘डिजिटलाइजेशन’लाई बढावा दिँदै कार्डमार्फत् भुक्तानीलाई बढावा दिइने प्रतिवद्धता जनाएका थिए । सो काम पनि अधुरै रह्यो ।

यस्तै, मेयर सरावगीले जनाएको अर्को प्रतिवद्धता हो गन्तव्य वीरगञ्ज । उनले यसमा विभिन्न खाले ३ बुँदे प्रतिवद्धता जनाएका थिए ।

जसमा व्यापारिक सहर वीरगन्जको व्यावसायिक कारोबार अभिवृद्धि गराउँदै नगरवासीको आयआर्जनलाई फराकिलो तुल्याइने, व्यावसायिक कारोबार र किनमेलको गन्तव्य सहरका रुपमा विकसित गर्ने, उपयुक्त पूर्वाधार र संस्थाहरूको स्थापना गरिने, सपिङ मल, व्यापारिक कम्प्लेक्स र आधुनिक सुपर मार्केट निर्माणलाई बढावा दिइने प्रतिवद्धता उनको थिए । त्यसमध्ये कुनै पनि उदाहरणीय कार्य हुन नसकेको द्विवेदीले बताए ।

जनताले फेरि उम्मेद्वारी दिन भनेका छन्: सरावगीको अन्तर्वार्ता

तपाईंले आफ्नो कार्यकालमा के–के गर्नुभयो ? आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ ?
व्यवसायिक पृष्ठभूमिबाट म मेयर हुँदै गर्दा महानगरको अवस्था र कानून कार्यान्वयनको विषय मेरा लागि नौलो थियो । म मेयर हुँदा महानगर ३६ करोड त घाटामै थियो आम्दानी वार्षिक १७ करोड थियो ।

अहिले मेरो कार्यकालमा मैले ५० करोड रुपैयाँ पुर्याएको छु । मेरो कार्यकाल भर नै केन्द्र र प्रदेशले साथ दिएन । कानून पनि थिएन । ती सबैलाई मिलाएर कार्यान्यवनमा ल्याउँदा साढे २ वर्ष बित्यो । त्यसपछि कोरोना महामारी शुरु भयो । कोभिड आएपछि काम पनि हुन सकेन । तर, पनि मैले जनाएका प्रतिबद्धतामा ८० प्रतिशत काम गर्न सफल भएको छु । साथै, आफ्नो कामलाई मैले शतप्रतिशत योगदान दिएको छु । तर पनि म आफै गरेको कतिपय कार्यबाट सन्तुष्ट छैन ।

गाउँदेखि सहर जोड्नका लागि राम्रा बाटा बनाउँछु भन्नु भएको थियो । बाटो बनाइसकेपछि बसाइँसराइँ रोक्न कति सफल हुनुभयो ?
सबै गाउँलाई सहरसँग जोडेको छु । आउन जान सजिलो भएको छ । सबै गाउँहरुमा बसहरू, टेम्पोहरु चल्न थालेका छन् । सबैलाई गाउँबाट सहर आउन आउन सहज भएको छ । जसले गर्दा बसाइँसराइँलाई पनि कम गर्न सफल भएका छौँ । अब मान्छेहरुले गाउँबाटै आफ्ना कामहरु गर्न सक्ने भएका छन् ।

कर्पोरेट क्षेत्रका मेयर आएर धेरै काम गर्छु त भनेका थिए । जो व्यक्ति व्यवसाय क्षेत्रमा धेरै काम पनि गरेका थिए । तर, मेयर बनेर आए पछि झनै भ्रष्टचार बढ्यो भन्छन् नि ?
हामीलाई भष्ट्रचारको आरोप लाग्छ भने के भन्ने यसमा । भ्रष्टचार गरे भन्न दिनुहोस् । त्यसले केही फरक पार्दैन । भ्रष्टचार गरेको भनेर मात्रै हुँदैन । भ्रष्टचार गरेको प्रमाण पनि हुनुपर्यो । कतै न कतै त त्यसको फाइल हुनुपर्यो । ६/६ वटा निकायले महानगरपालिकालाई हेरेर बसेको हुन्छ । फेरि हामी लेनदनमा कहीँ पनि हुँदैनौ । सबै काम हाम्रो प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुन्छ । हामीले त खाली पोलिसी बनाउने हो । अनि पोलिसी बनाउनेले कसरी भ्रष्टाचार बढाउन सक्छ ।

आफ्नो कार्यकालमा गर्न नसकेका काम के–के हुन् ?
बाग्मती करिडोर बनाउने काम गर्न सकिन । विद्यालयहरुमा कमी भएको पूर्वाधारलाई पूर्णता दिन सकिन । आफ्नै अस्पताल खोल्न खोजेका थियौं त्यो सकिएन ।

सबै मान्छेबाट केही न केही गल्ती हुन्छ । आफ्नो कार्यकालमा के त्रुटी गरे जस्तो लाग्छ ?
मैले मेरो कार्यकालमा केही त्रुटी गरेको जस्तो आभास हुँदैन । जे जति काम गरे सबैको नजिता सकारात्मक छ । म जुन भिजन लिएर गएको थियो । मेरो जे सोच थियो । केन्द्र र प्रदेशले स्रोतहरु दिन्छ होला सोचेको थिएँ । केन्द्र र प्रदेशले आफ्नो कार्यकर्ताका लागि मात्रै स्रोत दिए । उनीहरुले हामीहरुलाई आवश्यकता छ कि छैन भनेर त्यो पनि बुझेनन् ।

जसले गर्दा सोचिएको काममध्ये गर्न सकिने कतिपय काम पूरा गर्न सकिएन । आफ्नै पार्टीको मान्छे सरकारमा हुँदा पनि वीरगञ्जका लागि केही दिएनन् । जहाँ लगानी गर्नुपर्ने थियो त्यो ठाउँलाई वेवास्ता गरियो ।

तपाईं नयाँ पार्टीबाट फेरि पनि मेयरमा उम्मेद्वारी दिने भन्ने सुनिन्छ । जनतालाई के भन्न चाहनु हुन्छ ?
म जनताकै आग्रहमा पुनः मेयरका लागि उम्मेद्वारी दिँदै छुु । मेरो इच्छा सांसद हुने थियो । पोलिसी लेभलमा त्यत्ति धेरै मेहेनत पनि हुँदैन । तर, यसमा धेरै खट्नु पर्छ । फेरि पनि पाँच वर्षका लागि जनतालाई समय दिने छु ।

देशभरका कुनै पनि स्थानीय तहले मोडल स्कुलहरूको अवधारणा अगाडि बढाएपनि राम्रा बनाएनन् भन्ने सबैको गुनासो छ । वीरगञ्जमा त झन छँदै छैन भन्ने सुनिन्छि नि ?

वीरगञ्जमा तीन वटा मोडेल स्कुल बनाइसकेका छौं । हामीले आफ्नै स्रोतबाट तीन वटै स्कुलका लागि ३० करोड रुपैयाँ जति लगानी गरेका छौं । साथै, ४ करोड रुपैयाँको लागतमा परीक्षा हल बनाएका छौं ।


क्लिकमान्डु