काठमाडौंका मेयर विद्यासुन्दरको दाबी -५ वर्षमा गर्ने काम डेढ वर्षमै गरिसकेँ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा मेयर शाक्यले यस्तो दाबी गरे ।

‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समिक्षा गर्नुपर्छ ।’ उनले भने ।

चालू आर्थिक वर्षलाई पूर्वाधार वर्ष घोषणा गरेको पनि उनले सुनाए । महानगरले जिम्मा पाएको सहायक सडकहरु बनाउने काम लगभग पूरा भएको र सडक बनाउने कामको लागि अब ५ वर्ष पर्खिनु नपर्ने उनले जानकारी दिए ।

मेयर शाक्यले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भैसकेको दाबी गरे ।

उनले पूर्ननिर्माणसम्बन्धी कामहरुमा सम्पदा पूर्ननिर्माणको २/४ वटा कामहरु बाँकी रहेको सुनाए ।

‘धरहराको काम सुरु भैसकेको छ । दरबार हाईस्कुल पूर्ननिर्माण सुरु भैसक्यो । रानीपोखरी र काष्ठमण्डप मन्दिरको पनि काम सुरु हुन्छ ।

काठमाडौं महानगरको भवन निर्माणको पनि काम छिट्टै सुरु हुन्छ। विवादको कारण काम सुरु हुन नसकेको हो ।’ उनले भने ।

मेलम्ची खानेपानी परियोजनाको काम र सडक विस्तारको कामले गर्दा काम गर्न केही अप्ठ्यारो भएको उनले गुनासो सुनाए ।

काठमाडौं महानगरले बजेट बनाउँदा जथाभावी कर उठाउन लागेको भनेर भ्रम फैलाईएकोप्रति आक्रोश पोखे ।

‘हामीले करको दर भन्दापनि करको दायरा बढाएका छौं । कर भन्ने कुरा करले तिर्ने होईन, कर त रहर तिर्ने हो । नैसर्गिक अधिकारयुक्त अधिकारका काम गर्न सबै दस्तुत हामीले मिनाहा गरेका छौं ।’ उनले भने ।

त्यस्तै उनले मोनोरेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भैसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए ।

‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं,’ शाक्यले भने, ‘महानगरले चाँडै काठमाडौंका विभिन्न ठाउँहरु खासगरी नाकाहरुमा पार्किङ भवन बनाउनेपनि तयारी गरिरहेको छ ।’

यसको लागि ठेक्का प्रक्रिया सुरु भैसकेको र महानगरले जिआईएस डाटा कलेक्शनको लागि २२ करोड रुपैयाँ विनियोजन गरिसकेको पनि शाक्यले बताए ।

काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमरजस्ता आवश्यक उपकरण खरिद भैसकेको जनाउँदै उनले भने, ‘अहिले ५ वटा ब्रुमर आउने प्रक्रियामा छन् । अहिले मासिक २५ करोड रुपैयाँ सफाईका कर्मचारीको लागि खर्च भैरहेको छ । तर, पनि काठमाडौं सफा भैरहेको छैन् ।’

आपराधिक घट्ना घट्न नदिनको लागि नेपाल प्रहरीसँगको सहकार्यमा काठमाडौं महानगरले सिसे क्यामेराको व्यवस्थापन गर्ने पनि उनले जनाए ।


पुष्प दुलाल