एक वर्षमा वाणिज्य बैंकका लगानीकर्ताले गुमाए २३ प्रतिशत सम्पत्ति



काठमाडौं । ११ सयको विन्दुमा पुगेको सेयर बजारलाई कोरोना महामारीले उकास्यो र एतिहासिक ३२ सयको विन्दुमा पुर्यायो । यस अर्थमा कोरोनाकाल अन्य आर्थिक गतिविधिका लागि निकै पीडादायी भए पनि सेयर खेलाडी तथा लगानीकर्ताका लागि भने मिश्रित रह्यो ।

यही समयमा सेयर बजारमा पैसा लगाउने बढे । कमाउने पनि बढे । ३२ सयको आँकडा छोएर २४ सय तल झर्दै गर्दा गुमाउनेहरुको संख्या उल्लेख्य छ ।

पछिल्लो समय सेयर बजारको ओरालो यात्रालाई निर्वाचनले पनि रोक्न सकेन । इतिहास विश्लेषण गर्दै निर्वाचन घोषणाले राताम्मे सेयर बजारमा हरियाली छाउँछ भन्नेहरु फेल खाए ।

कोरोनाकालमा सर्ट ट्रम लगानीकर्ताले के कति कमाए वा गुमाए भन्ने उनीहरुलाई नै थाहा होला । तर वाणिज्य बैंकहरुमा लङ ट्रम अवधिका लागि लगानी गर्नेहरुका लागि भने पछिल्लो एक वर्ष सुखद् रहेन ।

सेयर बजारको ओरालो यात्रामा लगानीकर्ताले औसतमा २३.१६ प्रतिशत लगानी गुमाएका छन् । अघिल्लो वर्षको वैशाख ५ गतेमा भएको कम्पनीको सेयर मूल्यलाई आधार मान्दा औसतमा वाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता ४६६ रुपैयाँ थियो । जुन अहिले आइपुग्दा ३५८ रुपैयाँमा सीमित भएको छ ।

अहिले कुनै पनि वाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार रुपैयाँभन्दा बढी छैन । गत वर्षको अवधिमा एक हजार रुपैयाँभन्दा बढी सेयर मूल्य पुगेका बैंकमा नबिल र एनआइसी एशिया थिए । अहिले अधिकांशको वाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँभन्दा कम छ ।

२७ वटामध्ये हाल ३ वटा बैंकको सेयर कारोबार बन्द छ । एक आपसमा मर्जरको निर्णय गरेका हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य २०७८ वैशाख ३० देखि कारोबार हुन सकेको छैन ।

यस्तै नलिबसँग मर्जरमा जान एमओयू गरेको नेपाल बंगलादेश बैंकको पनि सेयर कारोबार गत पुस २९ गतेदेखि बन्द छ ।

एक वर्षको अवधिमा सबैभन्दा बढी प्रभ बैंकको सेयर मूल्य ३९.०८ प्रतिशतले घटेको छ । गत वैशाख ५ गते प्रतिकित्ता ४५८ रुपैयाँ रहेको बैंकको सेयर मूल्य आइतबारसम्म आइपुग्दा ३९.०८ प्रतिशतले घटेर २७९ रुपैयाँ छ ।

यस्तै एभरेष्ट बैंंकको सेयर मूल्य प्रतिकित्ता ३६.८६ प्रतिशतले घटेर ५१२ रुपैयाँमा सीमित भएको छ ।

गत वैशाख ५ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८११ रुपैयाँ रहेको छ । त्यस्तै कुमारी बैैंकको सेयर मूल्य ३४.१३ प्रतिशतले घटेर अहिले २२० रुपैयाँ रहेको छ ।

प्राइम बैंकको सेयर मूल्य एक वर्षको अवधिमा ३३.०३ प्रतिशतले घटेर ३०० रुपैयाँमा सीमित भएको छ । एनएमबी बैंकको सेयर मूल्य ३१.९४ प्रतिशते घटेर २९४ रुपैयाँ पुगेको छ ।

१० प्रतिशतभन्दा कम मूल्य घटेका बैंकमा सिभिल मात्रै हो । बाँकी सबै बैंकको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले नै घटेको छ ।

सबैभन्दा थोरै सेयर मूल्य घट्ने बैंकमा सिभिल बैंक छ । बैकको सेयर मूल्य ९.०२ प्रतिशतले घटेर ४८४ रुपैयाँमा सीमित भएको छ ।

गत वैशाख ५ गते नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ३३५ रुपैयाँ रहेकोमा आइतबार बैंकको सेयर मूल्य ९७१ रुपैयाँमा झरेको छ । एक वर्षको अवधिमा बैंकले सेयर मूल्य २७.२६ प्रतिशतले कमी आएको हो ।


क्लिकमान्डु