एक दाना कागतीको मूल्य २५ रुपैयाँ !



काठमाडौं । भारतीय बजारमा कागतीको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ ।

पछिल्लो समय पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धिका कारण ढुवानी खर्च बढेको तथा भारतको गुजरात, कर्नाटाका, अन्ध्रा प्रदेश र महाराष्ट्रमा हावाहुरी तथा वर्षाका कारण कागती खेतीमा क्षतिका कारण कागती उत्पादनमा कमी आएकाले नेपालमा आपूर्ति कम भएको हो ।

विश्वको कागती उत्पादनमा १७ प्रतिशत हिस्सा रहेको भारतले ३ करोड १७ लाख हेक्टर जमिनमा कागती उत्पादन गर्दै आएको छ । भारतमै उत्पादन कम हुँदाको असर नेपाली बजारमा देखिएको हो ।

भारतीय बजारमा औसतमा कागतीको मूल्य प्रतिकेजी २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कागतीको प्रतिकेजी औसत मूल्य प्रतिकेजी न्यूनतम ३२५ रुपैयाँदेखि अधिकतम मूल्य ३५० रुपैयाँ तोकेको छ ।

गत वर्षको सोही अवधिमा कागतीको मूल्य प्रतिकेजी औसत मूल्य प्रतिकेजी २४५ रुपैयाँ र अधिकतम मूल्य २५० रुपैयाँ तोकेको थियो ।

कालिमाटी तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार गत हप्ता कागतीको आयात न्यून थियो । जसकारण पनि माग बढेको थियो । आयात न्यून भएसँगै कालिमाटीमै कागतीको मूल्य प्रतिकेजी ४०० रुपैयाँभन्दा बढी पुगेको थियो ।

खुद्रा बिक्रेताहरुले भने कागतीको आकार र गुणस्तर अनुसार प्रतिगोटा २० रुपैयाँदेखि २५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

नेपालले ८ महिनाको अवधिमा मात्रै भारतबाट ६० करोड २३ लाख ६१ हजार रुपैयाँ बराबरको ७८ लाख ५७ हजार ९ सय केजी कागती आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।


क्लिकमान्डु