नयाँ वर्षको पहिलो कारोबारमा नै लगानीकर्ता बने निरास, रकमले साथ छोड्दै



काठमाडौं । यो वर्षको लागि सेयर कारोबारको पहिलो दिन लगानीकर्ताको लागि निकै खल्लो भएको छ ।

२०७९ सालको पहिलो कारोबारमा बजार राताम्मे भएको छ । कारोबार सुरु भएको ७ मिनेटसम्म बढेको बजारमा त्यसपछि गिरावट सुरु भएको थियो । जसको असर पुरै कारोबार अवधिभर नै रह्यो ।

नयाँ वर्षको पहिलो कारोबार नै राताम्मे भएपछि लगानीकर्ता निकै निरास बनेको बताउन थालेका छन् । नयाँ वर्षको पहिलो कारोबारमा बजार २९.६० अंकले घटेर परिसूचक २३८५.६४ बिन्दुमा रोकिएको छ । लगानीकर्ताको २३०० को मनोबललाई पनि बजारले कमजोर बनाएको छ ।

२३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता सेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबारको कारोबारमा बैंकिङ समूहको उपसूचक ८.८९, विकास बैंक ६६, वित्त कम्पनी ४२.८८, जलविद्युत कम्पनी ६०.९३, जीवन बीमा २००.८७, उत्पादन तथा प्रशोधन ८८.८०, माइक्रोफाइनान्स ४४.७४, जीवन बीमा समूहको उपसूचक १२०.६५ अंकले घटेको छ ।

नयाँ वर्षको पहिलो कारोबारमा राताम्मे बन्दा नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नती सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कारोबारमा हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । कम्पनीको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अरुण भ्याली हाईड्रोपावर र ग्लोबल आइएमई बैंकको ऋणपत्र रहेको छ ।


क्लिकमान्डु