टोयटा, आइचर र कोमट्सु ब्रान्डका सवारी साधनको आम्दानी घट्यो



काठमाडौं । नेपालका लागि टोयटा, आइचर र कोमट्सु ब्रान्डका सवारी साधनको प्रादेशिक आधिकारिक बिक्रेता अटोवे प्रालिको आम्दानी घटेको छ । कम्पनीको आम्दानी कोरोना महामारीको समयमा निकै नै घटेको जनाएको छ ।

कोरोनाअघि वार्षिक करिब ३ अर्ब रुपैयाँको आम्दानी गर्दै आएको कम्पनीले कोरोनाको समयमा वार्षिक २ अर्ब रुपैयाँ पनि आम्दानी गर्न नसकेको तथ्याङ्कले देखाउँदछ ।

कम्पनीका अनुसार सन् २०२१ मा १ अर्ब ९१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यसभन्दा अगाडि सन् २०१८ र सन् २०१९ मा लगातार कम्पनीले २ अर्ब ८१ करोड ३० लाख र २ अर्ब ७५ करोड ९० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो ।

तर, सन् २०२० मा कोरोना महामारीका कारण कम्पनीको आम्दानी निकै घटेको देखिन्छ । जसमा सो वर्ष कम्पनीले १ अर्ब ६४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

टोयटा, आइचर र कोमट्सुको आधिकारिक वितरक रहेको कम्पनीले टोयटाको यात्रुवाहक सवारी साधन, इचर ब्रान्डको व्यवसायिक सवारी साधन र कोमट्सु ब्रान्डको निर्माणसम्बन्धी सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।

सन्् २००२ देखि अटो डिलरसिप राखेर यात्रुबाहक सवारी साधन र व्यवसायिक सवारी साधन बिक्री गर्दै आएको कम्पनीले टोयटा ब्रान्डका यात्रु वाहक सवारी साधनको गण्डकी, नारायणी अञ्चल र बुटवल सहरमा आफ्नो डिलरसिप राखेको छ ।

त्यस्तै, आइचर ब्रान्डका सवारी साधन पनि गण्डकी, नारायणी, धौलागिरी र लुम्बिनी अञ्चलमा कम्पनीले आफ्नो डिलरसिप राखेर बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले कोमट्सु ब्रान्डका निर्माण सम्बन्धी सवारी साधनमा भने गण्डकी र धौलागिरी अञ्चलमामा आफ्नो डिलर स्थापन गरेको छ । यद्यपी कम्पनीले बुल ब्रान्डको निर्माण सम्बन्धी सवारी साधन सन् २०२१ को अगस्टबाट शुरु गरेको थियो ।

प्रबन्ध निर्देशकसमेत रहेको नारायण प्रसाद पौडेलको मात्रै कम्पनीमा पूर्णस्वामित्व रहेको छ । तर, कम्पनीले आफ्नो दिदीबहिनीको कम्पनीसँग सहकार्य गरेर सवारी साधनको पाटपूर्जाको पनि बिक्री वितरण गर्दै आएो छ ।

कम्पनीको हालसम्म ३ वटा शोरुम/बिक्री शाखा (पोखरा, नारायणघाट र बुटवल)मा रहेको छ ।

इक्रा नेपालका अनुसार कम्पनीले दीर्घकालिन तथा अल्पकालिन कर्जाका लागि १ अर्ब ३८ करोड १० लाख रुपैयाँ रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालिन कर्जाका लागि १८ करोड ४०लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि १ अर्ब १९ करोड ७० लाख रुपैयाँको रेटिङ दिइएको छ ।


क्लिकमान्डु