गभर्नर निलम्बन प्रकरणमा हामीलाई अनावश्यक विवादमा तान्ने प्रयास गरियोः चौधरी ग्रुप



काठाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा आएका व्यापारिक घराना चौधरी समूहलाई जोडेर केही मिडियामा समाचार प्रकाशन प्रसारण भएपछि चौधरी ग्रुपले त्यसको खण्डन गरेको छ ।

‘गभर्नर निलम्बन प्रकरणमा चौधरी ग्रुपसँग पनि जोडेर आएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ जुन विल्कुलै निराधार छ । हामीलाई लाग्छ, यो समाचार पढेर स्वयं अर्थमन्त्री र गभर्नर पनि अचम्मित हुनु भएको होला किनभने जे तर्क गरिएको छ त्यसले गभर्नर निलम्बनको बिषयसँग कुनै सरोकार राख्दैन ।’ चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

कसैले धमिलो पानीमा माछा मार्ने प्रयासस्वरूप पत्रकारहरूलाई ‘मिस इन्फम’ गरिरहेको हुनसक्ने भन्दै यसबारे सचेत रहेर समाचार सम्प्रेषण गर्नुहोला चौधरी ग्रुपले आग्रह गरेको छ ।

‘हाम्रो बारेमा समाचार सम्प्रेषण गर्दा हामीलाई पनि आफ्ना कुरा राख्ने अवसर दिनुहोला,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पारदर्शी रूपमा व्यवसाय गरिरहेका छौँ ।’

आफूहरु सँधै सरकारी सस्थाहरूप्रति सम्मान गर्ने चौधरी ग्रुपले प्रष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्रीज्यू र गभर्नरज्यू दुवैजनासँग हाम्रो सस्थागत सम्वन्ध छ । र, दुवैजनालाई हामी आआफ्नो ठाउँमा उत्तिकै सम्मान गर्दछौ । उहाँहरूप्रति हाम्रो न कुनै टिप्पणी छ न त कुनै गुनासो नै । त्यसैले यस प्रकरणमा हामीलाई अनावस्यक विवादमा तान्ने कोशिस जो जसले गरेका छन्, हामी खेद प्रकट गर्दछौँ ।’


क्लिकमान्डु