गण्डकी प्रदेशका सहिद तथा बेपत्ता परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिने



काठमाडौं । गण्डकी प्रदेशका शहिद तथा बेपत्ता भएका परिवारले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने भएका छन् ।
जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य बीमा नियमावली २०७५ मा उल्लेख भएको नियमानुसार स्वास्थ्य बीमा नगरेका गण्डकी प्रदेशका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरूहट आन्दोलनका घाइते तथा ‘ख’ वर्गका अपाङ्गहरु र अस्पतालमा नियमित डायलाईसिस सेवा लिने मृगौला पीडितहरू यस कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

साथै, यस कार्यक्रम लागू हुनुभन्दाअघि नै बीमा गरेका र २०७८ चैत मसान्त तथा २०७९ असार मसान्तसम्म नविकरण गर्नुपर्ने परिवारको समेत स्वास्थ्य बीमा गरे वापतको योगदान रकम भुक्तानी दिइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराले ती समस्याबाट पीडित भएका व्यक्तिका ५ जना सदस्य भएका परिवारहरुको स्वास्थ्य बीमा गरिदिने भएको हो ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०७८/७९ देखि नै कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ ।

प्रत्येक जिल्लाको प्रतिवेदन र लक्षित वर्गको प्रमाणपत्र/परिचयपत्रको प्रतिलिपिको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशले स्वास्थ्य बीमा कोषमा रकम भुक्तानी गर्ने उल्लेख छ ।

सहिद र बेपत्ताका परिवार, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरूहट आन्दोलनका घाइते तथा ‘ख’ वर्गका अपाङ्गहरु र अस्पतालमा नियमित डायलाइसिस सेवा लिने मृगौला पीडितहरूले निशुःक स्वास्थ्य बीमाको सुविधा प्राप्त गरी उनीहरूको स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्च घट्न गई सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने अपेक्षा प्रदेशले लिएकोे छ ।

२०७९ जेठ मसान्तभित्र स्वास्थ्य बीमा बोर्ड जिल्ला/प्रदेश कार्यालयले तोकिएको ढाँचामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशमा प्रतिवेदन पठाउनु पर्नेछ ।

गण्डकी प्रदेशले स्वास्थ्य बीमा बोर्ड, प्रदेश, जिल्ला कार्यालय र वडामा कार्यरत दर्ता सहयोगीसँग समन्वय गरी कार्यान्वयन गर्ने जनाएको छ ।


क्लिकमान्डु