गुहेश्वरी र टेकुमा मन्त्री झाँक्रीको अनुगमनः पुरातात्विक संरचना निर्माण समयमै सक्न निर्देशन



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुहेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छिन् ।

बुधबार बिहान अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् । मन्त्री झाँक्रीले आयोाजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिइन् ।

मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरुको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउँदै मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने स्मरण गराइन । उनले अन्य सरोकारवाला निकायहरुसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्प खोज्नु पर्ने बताइन् ।

अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिइन् ।

पुरातात्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उनको भनाई थियो । आगामी असारसम्म आयोजनाको म्याद रहेकाले आफूहरु समयमै काम सक्न प्रतिबद्ध रहेको बताउँदै प्याकुरेलले आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको बताइन् ।


क्लिकमान्डु