उधारो कारोबार बढ्दा ब्रोकर तनावमा, लगानीकर्ताले १० दिनसम्म पाएनन् पैसा 



काठमाडौं । काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आइरहँदा ब्रोकर कम्पनीको उधारो पनि बढ्दै गएको छ । उधारो कारोबार बढ्दै गएपछि ब्रोकर कम्पनी चल्न नसक्ने स्थितिमा पुग्न थालेका छन् । 

पछिल्लो समय विभिन्न कारण सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । बजारमा गिरावट आएका कारण लगानीकर्ताले उधारो कारोबार गर्ने क्रम बढेको छ । जसले गर्दा लगानीकर्ताले ब्रोकरलाई पनि समयमा नै पैसा तिर्न छोडेको गुनासो बढेको छ । 

सेयर कारोबारको पैसा लगानीकर्ताले समयमा नै तिर्न नसक्दा ब्रोकर चल्न नसक्ने अवस्थामा पुगेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीको भनाइ छ ।

उनका अनुसार बजार घट्न थालेपछि लगानीकर्ताले धमाधम सेयर किनेको र पुनः बजारमा निरन्तर गिरावट आउँदा समयमा नै  पैसा नतिर्नेको संख्या निकै बढेको हो ।

‘सेयर बजारमा गिरावट आउन थालेपछि लगानीकर्ताहरूले धमाधम सेयर उठाउनु भयो’ उनले भने, ‘सेयर उठाएपछि पनि बजार निरन्तर घट्न लाग्यो, बजार घटेपछि लगानीकर्ताहरू अहिले सम्पर्कमा आउनै छोडेका छन् ।’

 लगानीकर्ता सम्पर्कमा नआएपछि ब्रोकर बिस्तारै अप्ठ्यारो अवस्थामा पुग्ने हुन् की भन्ने त्रास बढ्दै गएको अध्यक्ष मैनालीको भनाइ छ । बजार घटेको बेलामा कतिपय लगानीकर्ताको पोर्टफोलियो पनि धेरै नै घाटामा रहेको उनको बुझाई छ ।

‘घटेको बजारमा उहाँहरूले सेयर किनिहाल्नु भयो’ उनले भने, ‘बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताको पोर्टफोलियो पनि निकै घटेको छ । त्यही भएर नै होला लगानीकर्ताको फोन पनि अफ भएको छ, धेरै सम्पर्कमा आउन चाहनु भएको छैन, त्यसको असर ब्रोकरलाई प्रत्यक्ष रूपमा पर्न थालिसकेको छ ।’

यसले गर्दा दीर्घकालिनरुपमा समग्र बजारमा नै असर पर्ने हो की भन्ने चिन्ता बढेको मैनालीको तर्क छ । सेयर बजार निरन्तर घट्दै जाने हो र लगानीकर्ता सम्पर्कमा नआउने हो भने ब्रोकर कम्पनीले धेरै रकम प्रोभिजनिङ गर्नुपर्ने अवस्था आउने अध्यक्ष मैनालीको भनाइ छ ।

 सुरुमा सेयर किनेको र पछि लगानीकर्ता सम्पर्कमा नआउनको कारण वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव नै हुन सक्ने मैनालीको बुझाई छ । बजारमा निरन्तर आएको गिरावट र तरलताको अभावका कारण ब्रोकर मात्रै नभएर लगानीकर्ता पनि पीडित बन्दै गएका छन् ।

सेयर बजारमा ‘टी प्लस टू’ कार्यान्वयनमा आएको भएपनि पछिल्लो समय लगानीकर्ताहरूले सेयर बिक्री गरेको पैसा १० दिन भन्दा बढी समयसम्म पनि नपाउने समस्या बढ्दै गएको छ । नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारका अनुसार पछिल्लो केही साता यता लगानीकर्ताले बिक्री गरेको सेयरको पैसा १० दिनसम्म पनि पाउन नसकेको बताउँछन् । 

‘घट्दो बजारमा लगानीकर्ताले समयमा नै पैसा नपाउँदा निराशा बढेको छ, लगानीकर्ताले बिक्री गरेको सेयरको पैसा समयमा नै पाउने हो भने बजारप्रति आशा बढ्ने थियो,’रौनियारले भने । 

एसोसिएसनका अध्यक्ष मैनाली लगानीकर्ताले पहिले सेयर किनेको, बजार घट्न थालेपछि सम्पर्कमा नआउने, पैसा नतिर्ने गर्दा ब्रोकरलाई काम गर्न निकै समस्या भएको बताउँछन् । ‘अहिले बढेको तरलता अभाव र लगानीकर्ताले समयमा नै पैसा नतिर्दा ब्रोकर, लगानीकर्ता तथा समग्र बजारलाई नै असर पारेको छ,’मैनालीले थपे । 

उधारो बढ्दै जाने हो भने ब्रोकर कार्यालय चल्न नसक्ने अवस्थामा पुग्ने उनको दाबी मैनालीको छ । 

इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल सेयर किनेर २, ३ दिनमा नै बेचौला र ब्रोकरको पैसा तिरौला भनेर किनेका लगानीकर्ता बजार निरन्तर घटेपछि पैसा तिर्न समस्या भएको हुनसक्ने बताउँछन् ।

त्यसैले गर्दा ब्रोकरलाई लगानीकर्तासँग पैसा उठाउन समस्या भएको हुनसक्ने उनको भनाइ छ । ‘लगानीकर्ताले पनि सेयर किनेपछि समयमा नै पैसा नदिएमा चार्ज तिर्नुपर्ने र ब्रोकरले पनि समयमा नै पैसा नदिएको खण्डमा लगानीकर्ताले धितोपत्र बोर्डमा निवेदन दिएका ब्रोकरको लाइसेन्स नै खारेजी हुने भएकोले लगानीकर्ता ब्रोकर दुवै सचेत हुनुपर्छ,’ उनले भने ।

धितोपत्र बोर्डका अधिकारीहरू पनि यस विषयमा अहिलेसम्म गुनासो नआएको बताउँछन्  । कसैले त्यस्तो गुनासो गरेको खण्डमा बोर्डले आवश्यक काम अघि बढाउने बोर्डले जनाएको छ । 


क्लिकमान्डु