रेमिट्यान्स बढेपनि रुस र युक्रेन युद्दले अर्थतन्त्रमा समस्या देखियोः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फागुनमा रेमिट्यान्स बढेको बताएका छन् ।

शर्माले आज चोभार सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा बोल्दै रेमिट्यान्स बढेको बताएका हुन् ।अर्थमन्त्रीले फागुन महिनामा रेमिट्यान्सको सुधार आएको बताउँदै ४ प्रतिशत माइनसमा रहेको रेमिट्यान्स ३ प्रतिशत प्लसमा आएको दाबी गरे ।

फागुनमा ९१ अर्ब रेमिट्यान्स भित्रिएको छ । शर्माले चोभार सुक्खा बन्दरगाहको निर्माणले सडकमार्फत् सिधै समुन्द्रमा जोडिएको बताए । समुन्द्रमा भरिएको कन्टेनर सिधै आउने बताउँदै जाँचपास र व्यापार सहजीकरण गराउने अर्थमन्त्रीले जिकिर गरे । 

‘अबदेखि लागत र समयको दृष्टिकोणले थप उपलब्धी हासिल गर्नेछौँ,’ अर्थमन्त्रीले भने, ‘लागत पनि कम हुनेछ भने जाँचपासमा पनि सहज  हुनेछ ।’ ८ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब आयात भएको र १ खर्ब ४७ अर्बको निर्यात गरेको बताउँदै विगतको दिनमा वैदेशिक व्यापार बढेको उल्लेख गरे । 

शर्माले कोभिडले एउटा पाठ सिकाएको र रुस र युक्रेनको युद्धले अर्थतन्त्रमा चुनौती थपिएको बताए । अहिले फागुन मसान्तसम्ममा ९ खर्ब ४० अर्बको संचिती रहेकाले अझै ६ महिनाको वस्तु आयात गर्न सक्ने जिकिर गरे । 

अब पनि केही चुनौती आउन सक्छन् भनेर केही सतर्कता अपनाएको र केही प्रयत्न अगाडि बढाएको उनको भनाइ छ ।आयातमुखी देश बन्दै गएकाले आगामी दिनमा आयातको केन्द्र नभएर निर्यात केन्द्र बन्नुपर्नेमा जोड दिए । कृषिमा आधारित वस्तुहरू आयात भइरहेको अवस्थामा नेपालमै उत्पादनमा जोड दिए आयातलाई विस्थापन गर्नुपर्ने अर्थमन्त्रीले उल्लेख गरे । 

‘आफ्नो श्रम, स्रोतलाई कार्यान्वयन गरेर उत्पादनमा जोड दिई अगाडि बढ्नुपर्छ,’ अर्थमन्त्रीले भने ।  


क्लिकमान्डु