आयात कडाइ गर्दा पनि लक्ष्य अनुसार भन्सार उठ्दै



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात कडाइ गर्दा समेत भन्सार विभागले लक्ष्य अनुसार राजस्व संकलन गरिरहेको छ । 

चैत २१ गते सम्म भन्सार विभागले ३ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ खर्ब ७६ अर्ब रुपैयाँ संकलन भएको छ ।विभागले चैतमा ४६ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत २१ गते सम्म २६ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

 चैत २१ गते सम्म भने विभागले ३२ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । ४७ बस्तुको आयातमा कडाइ गर्ने नीति लिँदा समेत विभागले चैत २१ गतेसम्म लक्ष्य भन्दा ६ अर्ब रुपैयाँ मात्रै कम संकलन गरेको छ । उच्च दरमा आयात बढेपछि नेपाल राष्ट्र बैंकले पुस ५ गते १८ वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खुल्ने र २ बस्तु आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

पुषमा लिएको नीतिले आयात नघटेपछि राष्ट्र बैंकले माघ २६ गते थप २३ वस्तु आयात गर्दा १०० प्रतिशन नगद मार्जिन राख्नु पर्ने र ४ वस्तु आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

नगद मार्जिनको नीतिले समेत चैतमा आयात नघट्ने तर विदेशी मुद्राको सञ्चिती घट्दै जान थालेपछि राष्ट्र बैंकले चैत २१ गते देखि विलासी बस्तुको आयातमा एलसी नखोल्न बैंक वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

लिखित रुपमा राष्ट्र बैंकले आयात रोक्न नपाउने हुँदा बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर बिलासी बस्तु, गाडी, मरीच, छोकडा लगायतका बस्तु आयात गर्दा एलसी नखोल्न निर्देशन दिएको थियो ।

मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले समेत बिलासी बस्तुको आयात रोक्न आग्रह गर्दै राष्ट्र बैंकले लिएको नीतिको समर्थन गरेका छन् ।राष्ट्र बैंकको एलसी रोक्ने नीतिले जेठ महिनामा हुने आयात घट्न सक्नेछ ।

 सामान्यतया ६० दिनसम्मको एलसी दिँदै आयात गरिने हुँदा चैतमा गरिएको निर्णयको प्रभाव भने जेठ देखि मात्रै देखिने छ । आगामी केही साता सम्म भने विगतमा जारी गरिएको एलसीका आधारमा समान आयात हुनेछ । 


क्लिकमान्डु