३ वर्षपछि आइरन र स्टिलमा समस्या आउँदैन: ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी तीन वर्षभित्रमा आइरन तथा स्टिलको समस्या नआउने बताएका छन् ।

निर्यात व्यवसायी महासंघको दोस्रो साधारणसभामा बोल्दै ओलीले आगामी दिनमा उद्योग स्थापना गरी हाल आएको समस्या समाधान गर्ने भएकाले आगामी दिनमा समस्या नआउने बताए ।

अहिले आइरन तथा स्टिल महंगो मूल्यमा आयात गरी आपूर्ति गर्ने भएकाले नेपालको ठूलो रकम बाहिरिएको ओलीले बताए । त्यसैले, यस क्षेत्रमा उद्योगीलाई लगानी गर्न आग्रह गर्दै सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्वता जनाए ।

सरकारले यसभन्दा अगाडी स्पञ्ज आइरन ल्याउन भन्सार शुल्क घटाएको थियो । जसले गर्दा यस क्षेत्रमा आबद्व उद्योगीहरूबीच किचलो उत्पन्न भएको थियो । अब आफैले उत्पादन शुरू गरेपछि आगामी दिनमा सो समस्या नआउने बताए ।

भारत तथा चीनमा उत्पादन हुन्छ भने नेपालमा पनि यसको उद्योग स्थापना गरी आयात विस्थापन गर्नुपर्ने उल्लेख गरे ।

नेपालले आयात कम गर्नका लागि स्वदेशी उत्पादन बढाउनुनेमा जोड दिनुपर्ने बताए । नेपालमा अहिले चाहिनेभन्दा नचाहिने बढी वस्तु आयात गरेर नै तरलता अभाव देखिएको बताउँदै अबका दिनमा नेपालमै उत्पादन हुने वस्तु नेपालमै उत्पादन गर्नुपर्ने बताए ।

साथै, उक्त उत्पादनका लागि सरकारले सहजीकरणा बनाउने उनले जिकिर गरे । त्यससँगै उत्पादन गरी निर्यात गर्न सम्भावना रहेको वस्तुमा पनि उद्योगीले जोड दिनुपर्ने उल्लेख गरे ।

महासंघले सोही कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट निर्यातकर्तालाई पनि सम्मान गरेको छ । महासंघले पस्मिनाको तर्फबाट सुर्य कुमार गुरूङ, फेल्टबाट महेश्वर श्रेष्ठ, रेडीमेड गार्मेन्टबाट हरि प्रसाद भट्ट, अलैंचीबाट निर्मल भट्टराई, नेपाली कागजबाट पद्म रत्न धाखा, चियाबाट अशोक मुरार्का, कार्पेटबाट तेन्जिङ शेर्पा र जडीबुटीबाट भरत कुमार बस्नेतलाई सम्मान गरेको छ ।


क्लिकमान्डु