गर्मीमा कस्ता पाइन्ट, टिसर्ट, वानपिस, टप्स लगाउने ? यस्तो छ अहिले चलेको ‘ट्रेन्ड’



काठमाडौं । न्यूरोड खिचापोखरीको ‘वन्डर गर्ल्स’का सञ्चालिका अन्जना गुरूङ ग्राहकलाई कपडा देखाउँदै थिइन् । उनको पसलमा गर्मीमा लगाउने हल्लका कपडा खोज्दै थिए ग्राहक ।

‘कस्तो राम्रो होला ?,’ ग्राहक अलमलमा थिइन ।

गुरुङले आफ्नो पसलमा भएका विभिन्न डिजाइनका कपडा देखाइन् । सिफन्ट तथा कटनको वान पिस, टिसर्ट, पाइन्ट, हाल्प पाइन्ट, स्कटलगायत अन्य कपडाहरु पसलमा सजिएका थिए ।

‘ल यो वान पीस हेर्नुस् त ?,’ गुरुङले ग्राहकलाई देखाइन ।

उनले त्यही वानपिस किनिन् ।

खिचापोखरीकै ओसा कलेक्सनका सञ्चालक माधव न्यौपानेले पनि गर्मी मौसमका लागि आवश्यक विभिन्न डिजाइनका कपडा सजाएर राखेका थिए । एक महिनाअघि नै उनले यी कपडा ल्याएका रहेछन् ।

न्यौपानेले विशेषगरी महिलाका लागि वानपिस, टिसर्ट, पेन्ट तथा हाफ पाइन्टहरु राखेका छन् । उनकाअनुसार पछिल्ला दिनहरूमा महिलाहरूले बढी रुचाइएको कपडा हो, वान पिस ।

‘गर्मीमा कटन तथा सिफन्टका वान पिस धेरै रुचाइएको छ,’ उन क्लिकमाण्डूसँग कुरा गर्दै भने, ‘गर्मीमा सहज र सितल हुने भएकाले ग्राहकको आकर्षण यसैमा छ ।’

यी पसल जस्तै न्यूरोड, असनका बजारमा गर्मीका विभिन्न कपडाहरु उपलब्ध छन् । ग्राहकहर कपडा छानिछानी हेरिरहेका थिए ।

बजारमा मौसमअनुसार लत्ताकपडा भित्रिने गर्छन् । चिसो मौसम सकिएसँगै गर्मीको फेसन शुरु भएको छ । बजारमा पनि गर्मीकै विभिन्न डिजाइन र फेसनमा कपडाको सजावट, बिक्री वितरण भइरहेको छ ।

गर्मीका कपडा खोज्नेहरु कोही बजारमा हेरेर किन्छन् भने कोही सामाजिक सञ्जालमा देखेको भरमा त्यही कपडा खोज्दै आउँछन् ।

सामाजिक सञ्जालहरु फेसबुक, टिकटकमा देखेको भन्दै कपडा खोज्नेहरु धेरै आउने व्यापारी बताउँछन् ।

बजारमा उपलब्ध वान पिस, टिर्सट, पाइन्ट, हाफ पाइन्ट, कुर्तासुरुवाल जस्ता विभिन्न कपडामध्ये कस्ता धेरै बिक्री भइरहेका छन् त ?

व्यवसायीहरुका अनुसार पाइन्ट, टिसर्ट, वान पिस, टप्स, सर्टहरु सदावहार बिक्री हुने कपडामा पर्ने बताउँछन् । यी कपडामा पनि हल्का, कटनका कपडा धेरै खोज्छन् ।

पाइन्ट: गर्मी मौसम होस् वा जाडो अधिकांश महिलाहरूले सबैभन्दा बढी लगाउने कपडा हो पाइन्ट ।

तर, बजारमा चलेको डिजाइन भने सबैलाई चाहिन्छ । पछिल्लो दिनमा निकै रुचाइएको पाइन्ट हो मम्मी जिन्स पाइन्ट, बोइफ्रेण्ड जिन्स पाइन्ट, स्ट्रेट पाइन्ट, रक्की पाइन्ट र बेली पाइन्ट ।

बजारमा यी विभिन्न प्रकारका पाइन्ट उपलब्ध भए पनि गर्मी मौसमका लागि ध्यान दिएर पाइन्ट लगाउनुपर्ने व्यवसायीहरूको सुझाव छ ।

उनीहरूका अनुसार जुनसुकै पाइन्ट भएपनि गर्मी मौसममा साँघुरो पाइन्टभन्दा खुकुलो पाइन्ट लगाउन उपयुक्त हुन्छ । अहिले गर्मीका लागि रक्की पाइन्ट, चेक पाइन्ट, हट पाइन्ट, हाल्फ पाइन्ट, ब्वाइफ्रेण्ड पाइन्ट जस्ता पाइन्ट लगाउन सुझाउँछिन् ओसा कलेक्सनकी अलिना शाक्य ।

‘जाडोमा बढी टाइट पेन्ट र फरवाला पाइन्ट उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘गर्मीमा खुकुलो पाइन्ट लगाउँदा सबैलाई सजिलो र सहज हुन्छ ।’

अहिले माग पनि यस्तै प्रकारका पाइन्टको बढी आउने उनको भनाइ छ ।

टिसर्ट: अधिकांशले पाइन्टसँग लगाउने कपडा हो टिसर्ट । टिसर्ट पनि मौसमअनुसार फरक हुन्छन् । जसले गर्दा व्यवसायीहरूले सोहीअनुसारको टिसर्ट बिक्री वितरणमा राखेको पाइन्छ ।

हाल गर्मी मौसमलक्षित विभिन्न डिजाइनका टिसर्ट उपलब्ध छन् । उक्त उपलब्ध टिसर्टहरू ग्राहकको इच्छाअनुसार रोजीरोजी लगाउन सक्छन् ।

व्यवसायीहरूले भने बजारमा उपलब्धमध्ये पसिना सोस्ने टिसर्ट सबैभन्दा उपयुक्त हुने बताउँछन् । उनीहरूका अनुसार बजारमा कटन, सिफन्टलगायतका सुतीको टिसर्ट लगाउनु उपयुक्त हुन्छ ।

हाल बजारमा चलेका क्रप टिसर्ट, चेक सर्ट, ओभर साइज टिसर्ट र पालतो टिसर्ट, अपसोल्डर टिसर्ट आफ्नो इच्छाइएको डिजाइनअनुसार लगाउन सक्नेछन् । सुतीको टिर्सट नरम र सितलता प्रदान गर्ने भएकाले सबैको रोजाइमा परेको शाक्यले बताइन् ।

शाक्यले चेक सर्ट पनि उपयुक्त हुने बताउँछिन् । धेरै फेसनेबल लगाउन नरुचाउने ग्राहकका लागि गर्मी मौसममा चेक सर्ट निकै राम्रो हुने सुझाउँछिन् । ‘अपसोल्डर, क्रप र ओभरसाइज नरुचाउनेका लागि चेक सर्ट उपयुक्त हुन्छ,’ उनले भनिन् ।

त्यसैगरी, अहिलेका युवायुवतीले बढी रुचाइएकोमा अपसोल्डर पनि एक हो । उक्त अपसोल्डर अहिले बजारमा बढ्दो माग रहेको व्यवसायीहरूको भनाइ छ । खुल्ला शरिरमा हावा पस्न मिल्ने, खुकुलो हुने र घुमफिरका लागि पनि पनि उपयुक्त हुने भएकाले यसको रुचि बढी छ ।

त्यस्तै, प्लेन टिसर्ट पनि चलनचल्तीको टिसर्ट रहेको हो । प्रिन्टेड टिसर्ट मन नपराउने सादा रंगको टिसर्ट पनि गर्मीको लागि उपयुक्त हुने उनीहरूले सुझाव दिन्छन् ।

अहिले बजारमा वान पिसको उच्च माग भएको उनी बताउँछिन् । गर्मीमा महिलाका लागि यसको प्रयोग गर्नु राम्रो भएको उनको भनाइ छ ।

‘वानपिसले गर्मीमा सहज तथा सितल बनाउँछ,’ उनले भनिन्, ‘पार्टी तथा घुम्दा पनि बढी प्रयोग हुने भएकाले महिलाको रोजाईमा वानपिस परेको छ ।’

वानपिसमा पाइन्टसँगै टिसर्ट आवश्यक पर्दैन । त्यसैले पनि सहज हुने उनीहरूको भनाइ छ ।

टप्स: पाइन्टसँगै टिसर्टको सट्ट कतिपयले टप्स लगाउँछन् । कुर्था आकारमा पाइने टप्स गर्मी मौसममा उपयुक्त हुने गर्दछ । पाइन्ट तथा लेगिजमा लगाउन मिल्ने टप्सका लागि सल आवश्यक नपर्ने भएकाले पछिल्ला दिनमा युवायुवतीदेखि सबैले लगाउने प्रचलन छ । त्यसैले, सुतीको टप्स र कटनको टप्स गर्मीका लागि लगाउन सक्ने यससम्बन्धी जानकारहरू बताउँछन् ।


क्लिकमान्डु