पर्यटन बोर्डका सीईओ रेग्मी निजी कम्पनीको अध्यक्ष प्रकरणः मन्त्रालयले शुरु गर्यो छानविन, कारबाहीको तयारी



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धन्नजय रेग्मी नर्थफेस हिमालयन रिसोर्ट कम्पनीको अध्यक्ष भएको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन सुरु गरेको छ ।

गत चैत १० गते क्लिकमाण्डूले ‘पर्यटन बोर्डका सीईओ रेग्मी निजी कम्पनीको अध्यक्ष, नियमावलीअनुसार पदमुक्त हुनुपर्ने’ शीर्षकमा समाचार प्रकाशित गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुसन्धान सुरु गरेको हो ।

क्लिकमाण्डूको समाचारलाई आधार बनाउँदै मन्त्रालयले चैत ११ गते कम्पनी रजिष्ट्रार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकसँग रेग्मी संलग्न रहेको नर्थफेस हिमालयन रिसोर्ट कम्पनीको विवरण माग गरेको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयले चैत १३ गते मन्त्रालयलाई पठाएको विवरणमा नर्थफेस हिमालयन रिसोर्ट कम्पनीको अध्यक्षमा रेग्मी रहेको उल्लेख छ ।

कम्पनी रजिष्ट्रार कार्यालयले मन्त्रालयमा सेयर लगत पठाउँदै नर्थफेस हिमालयन रिसोर्ट कम्पनीमा तीन जना सेयरधनी रहेको र कम्पनीको अध्यक्षमा रेग्मी रहेको उल्लेख छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको नक्साल शाखाले नर्थफेस हिमालयन रिसोर्ट कम्पनीको खाता धन्नजय रेग्मीको नामबाट सञ्चालनमा रहेको उल्लेख गरेको छ ।

नर्थफेस हिमालयन रिसोर्ट कम्पनीको उक्त खाताबाट गत भदौ २४ गते अन्तिम कारोबारसमेत भएको बैंकले मन्त्रालयलाई जानकारी गराएको छ ।

पर्यटन बोर्डको नियमावलीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त हुने व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनु पर्ने व्यवस्था भएपनि रेग्मीले नीजि कम्पनीको कार्यकारी भुमिकामा काम गरेको पाइएको हो ।

नेपाल पर्यटन बोर्डको नियम २ मा बोर्डको कार्यकारी प्रमुखका नियुक्त व्यक्तिले अन्य संस्था वा कम्पनीबाट अवकाश नदिएमा नियुक्ती स्वत बदर हुने व्यवस्था छ ।

बोर्डको नियम ९ को उप नियम २ मा ‘उपनियम १ बमोजिम कार्यकारी प्रमुखमा नियुक्त भएको व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए निजले त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनु पर्नेछ । र, त्यसरी अवकाश निलएमा त्यस्तो नियुक्ति स्वत बदर हुनेछ ।’

नियमावलीमा अर्काे संस्था वा कम्पनीबाट अवकाश नलिएको अवस्थामा नियुक्ति बदर हुने व्यवस्था भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रेग्मीको नियुक्ति बदर गर्ने तयारी गरेको हो । कम्पनी रजिष्ट्रार कार्यालय र वाणिज्य बैंकको कागजमा रेग्मी अध्यक्ष रहेको पुष्टी भएपछि मन्त्रालयले कारबाही प्रकृया अगाडी बढाएको हो ।


शरद ओझा