कोरोना संक्रमणमा नयाँ कम्पनी खोल्नेको उत्साह, दुई वर्षमा थपिए ४७ हजार कम्पनी



काठमाडौं । मुलुक कोरोना संक्रमणमा गुज्रिरहेको बेला नयाँ कम्पनी खोल्नेहरुको उत्साह भने बढेको छ ।

उद्योग व्यवसाय सञ्चालनमा लागि कम्पनी दर्ता गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार कोरोना संक्रमणको दुई वर्षमा नयाँ कम्पनी दर्ता गर्ने उल्लेख्य बढेको हो ।

विवरणअनुसार कोरोना संक्रमणको दुई वर्षको अवधिमा ४७ हजारभन्दा धेरै कम्पनी दर्ता भएका छन् । कोरोना संक्रमण घट्दै गएपछि यस्तो संख्या अझ बढेको छ ।

नेपालमा २०७६ चैतदेखि कोरोना संक्रमण शुरु भएको थियो । सरकारले उक्त वर्षको चैत ११ गते पहिलो लकडाउनको घोषणा पनि गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा भने कम्पनी दर्ताको संख्या २६ हजार ४ सय ९८ पुगेको थियो । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको दर्ता ४२.२ प्रतिशतले बढेर २६ हजार ४ सय ९८ पुगेको हो । त्यसअघिको वर्ष २०७६/७७ मा यस्तो संख्या २६.९ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कम्पनी दर्ता संख्या १८ हजार ६ सय २८ रहेको थियो ।

चालु आर्थिक वर्ष २०७८/७९ को सात महिनामा १९ हजार १ सय ७२ कम्पनी दर्ता भएका छन् ।

यस हिसाबले कोरोना संक्रमण शुरु भएको वर्षको चार महिनामा १ हजार ६ सय ८३, संक्रमण फैलिएको आर्थिक वर्ष २०७७/७८ भरी २६ हजार ४ सय ९८ कम्पनी दर्ता भएको देखिन्छ । त्यस्तै चालु आर्थिक वर्षको सात महिनामा १९ हजार १ सय ७२ वटा कम्पनी दर्ता भइसकेका छन् । पछिल्लो २३ महिनामा ४७ हजार ३ सय ५३ नयाँ कम्पनी दर्ता भइसकेका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालायले पछिल्लो समयका कम्पनी दर्ता उत्साहजनक रहेको बताएको छ । खासगरी कोभिड संक्रमण कम हुँदै जाँदा कम्पनी दर्ता गर्ने प्रकृयामा उत्साहजनक वृद्धि भएको हो ।

सबैतिर निरासको अवस्था रहेको बेला कम्पनी दर्तामा उलेख्य वृद्धि हुनु भनेको सकारात्मक आर्थिक परिसूचक पनि हो ।
पछिल्लो समयमा कम्पनी दर्तामा वृद्धि हुुनुमा केही कारण रहेका छन् । जस्तो कि कोभिडपछि सामान्य अवस्थामा फर्किएपछि व्यवसाय गर्नेहरु उत्साहित भएका छन् । कम्पनी दर्ताको संख्या हेर्दा कोभिडपछि व्यवसाय गर्ने उत्साहित छन् भन्ने बुझिन्छ ।

कम्पनी सम्बन्धी चेतना विस्तारै बढ्दै जाँदा दर्ता भएर चल्ने प्रचलन बढेको छ । पहिलाको दर्ता नभइकन पनि व्यवसाय गर्न सकिन्छ भन्ने मानसिकता परिवर्तन हुँदै गएको छ ।

कम्पनी भनेको बजार अर्थतन्त्रको सबैभन्दा औपचारिक संगठित क्षेत्र हो । दर्ता भएर संगठित रुपमा चल्नुपर्छ भन्ने सोँच बढेको छ । पछिल्लो समय युवापुस्ता व्यवसायमा हात हालेसँगै कर्पोरेट कल्चरमा बढेको छ । यसले गर्दा कम्पनी दर्ता गर्ने संख्यामा पनि वृद्धि भएको छ ।

त्यस्तै, कोभिडको संक्रमण अवस्थामा पनि कार्यालय बन्द नहुँदा त्यसले दर्तामा सहयोग पुगेको कार्यालयको भनाइ छ । कम्पनी दर्ता गर्न अनलाइन प्रणाली सुधार भएको छ । कम्पनी प्रशासनमा कम्पनी रजिष्ट्रारको स्थिरता पनि भएको छ ।

त्यस्तै, प्रत्यक्ष विदेशी लगानीको कम्पनी ‘फास्ट ट्रयाक’बाट दर्ता हुन आएमा छिटो काम सक्ने प्रणाली विकास गरिएको छ । गत वर्ष दर्ता भएको कम्पनी कम्पनी संख्या पछिल्लो पाँच वर्षकै उच्च हो ।

वार्षिक हजारौं कम्पनी दर्ता भए पनि संचालनमा आउने भने कम छन् । कति संख्यामा कम्पनी दर्ता भएका छन् भन्ने एकिन भन्न नसकिए पनि ५० प्रतिशत संचालनमा हुनुपर्ने अनुमान कम्पनी रजिष्ट्रार कार्यालयको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म मुलुकमा २ लाख ७६ हजार ४ सय १२ कम्पनी दर्ता भएका छन् । जसमध्ये प्राइभेट कम्पनीमा कुल शेयर सदस्य संख्या ७ लाख १२ हजार २ सय १७ जना रहेका छन् । त्यस्तै, मुनाफा वितरण नगर्ने कम्पनीको संख्या २५ हजार १ सय २२ छन् ।


क्लिकमान्डु