चौधरी फाउण्डेसनद्वारा निर्मित एकीकृत बस्ती हस्तान्तरण



काठमाडौं । उद्योगी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको हस्तान्तरण गरेका छन् ।

गिरानचौरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका चौधरीले बस्तीको उद्घाटन गर्दै निर्माण भएका ६२ घरहरु स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध भएका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

फाउण्डेसनका अध्यक्ष चौधरीले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा आएको बताए । उनले भुकम्प पीडितलाई सुन्दर बस्ती उपहार दिन पाउदा सन्तोष लागेको बताए । ‘हामीले भवन हस्तान्तरण गर्दमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौं, यहाँका बासिन्दाहरुको जीवनयापनलाई सहज बनाउन पनि लागीपरेका छौं’ चौधरीले भने, ‘एकीकृत बस्तीका बासिन्दालाई आर्थिक रुपले सम्पन्न बनाउने योजना पनि बनाएका छौं ।’

उनका अनुसार चौधरी फाउण्डेसनले स्थानीयबासीलाई सिएसइबी प्रविधिअनुसारका इट्टा उत्पादन गर्ने सिप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक अन्य सिपहरु सिकाएर घर प्राप्तीपछि पनि आफ्नो जीविकोपार्जनका लागि रोजगार हुनसक्ने बनाएको छ । चौधरीले इट्टा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहनेगरि हस्तान्तरण गरेका छन् । मेसिन र तालिममा सिकेको सिपको व्यवसायिक प्रयोगगरि बस्तीका बासिन्दाले आर्थिक आयआर्जन गर्न सक्ने फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले नम्डोललिङ एकीकृत बस्ती आफ्नो जिल्लाकै गहनाको रुपमा रहने बताए । उनले आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको बताए । नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कर्माश्री लामाले नयाँ प्रविधिमा बनेका चिटिक्कका घरमा बस्न पाउदा आफ्नो वर्षैको सपना पुरा भएको बताए । उनले बस्तीका चारसय जना निकै उत्साही भएको बताए । ‘मैले आफ्नो जीवनकालमा यति राम्रो घरमा बस्न पाउला भन्ने सचेको पनि थिइन’, स्थानीय ७६ वर्षे सिन्गी लामाले भने,‘चौधरी फाउण्डेसनले आफुलाई जीउदै स्वर्गको अनुभुति दिलाएको छ ।’


क्लिकमान्डु