यी हुन् उपत्यका बाहिरका महंगा र लक्जिरियस अपार्टमेन्ट र हाउजिङ



काठमाडौं । पछिल्लो समयमा उपत्यकालगायत अन्य ठूलो सहरमा जग्गाको मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ ।

सामान्यतया अहिले उपत्यकासहित अन्य ठूला सहरमा एउटा घर बनाउनका लागि आवश्यक जग्गा १ करोड रुपैयाँसम्म कम मूल्यमा नपाउने भएको छ ।

अधिकांश क्षेत्रमा जग्गाको मूल्य आचक्ली बढेसँगै विभिन्न रियल स्टेट कम्पनीहरूले व्यवस्थित बसोबासमा जोड दिएका छन् ।

विगतका दिनमा उपत्यकामा मात्रै केन्द्रित रहेको अपार्टमेन्ट तथा हाउजिङ व्यवसाय पछिल्लो दिनमा उपत्यका बाहिर पनि तीब्र रुपले निर्माण कार्य बढेको छ । अहिले विभिन्न रियल स्टेट कम्पनीहरूले ठूला सहरहरु लुम्बिनी, पोखरा, भैरहवा, रुपन्देही, झापा, वीरगञ्ज, विराटनगरलगायत अन्य विभिन्न स्थानमा सुविधासम्पन्न अपार्टमेन्ट तथा हाउजिङ निर्माण अगाडि बढाएको छ ।

उपत्यकाबाहिर अधिकांश अपार्टमेन्ट तथा हाउजिङ स्थानअनुसार १ करोडभन्दा बढीको मूल्यमा बिक्री गरिरहेको छ । कतिपय कम्पनीले उच्च सेवा सुविधासहित लक्जरियस अपार्टमेन्ट तथा हाउजिङ निर्माण गरेका छन् । जसमा कम्पनीले ३ करोडदेखि ५ करोड रुपैयाँसम्मको अपार्टमेन्ट तथा हाउजिङ निर्माण गरेका छन् ।

बिराटनगर कोलोनी (बिराटनगर)

विगत लामो समयदेखि व्यवस्थित तथा सुरक्षित आवासको क्षेत्रमा काम गर्दै आएको सीइ कन्स्ट्रक्सनले विराटनगरको सनिहाटमा सीई कोलोनी अर्थात् हाउजिङ निर्माण गर्ने भएको छ ।

कम्पनीका अनुसार सीइले विराटनगर ७ सनिहाट क्षेत्रमा साढे ४ आनादेखि ८ आनाको जग्गामा साढे दुई तल्लाको घर बनाउने भएको हो ।

उक्त क्षेत्रमा २ हजार ४५ वर्गफिट र २३ सय ९ वर्गफिटमा २ प्रकारका घर निर्माण बन्नेछन् । जसमा कम्पनीले २७ वटा युनिट बनाउने भएका छन् । निर्माण भइरहेको कोलोनीको मूल्य शुरुवाती मूल्य करिब ३ करोड रुपैयाँ तोकेको छ ।

कम्पनीले उक्त क्षेत्रमा निर्माण भएको लक्जरियस हाउजिङको मूल्य २ करोड ७० लाख तोकेको छ । सीईले विराटनगरका व्यवसायी सुरेश राठीसँगको सहकार्यमा सो हाउजिङ निर्माण गर्ने भएको हो ।

फेवा प्रिन्स रेसिडेन्सी

त्यस्तै, सीइले पोखराको चौथेमा ‘फेवा प्रिन्स रेसिडेन्सी’ बनाउने कार्य अगाडि बढाएको छ । कम्पनीले रेसिडेन्सी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ सय मिटरको दुरीमा हाउजिङ, अपार्टमेन्ट र व्यवसायिक कम्प्लेक्स बनाउने भएको हो ।

कम्पनीले चौथेमा ‘फेवा प्रिन्स रेसिडेन्सी’ निर्माणका लागि २२ रोपनी ८ आना र ३ पैसा र ३ दाम जग्गा क्षेत्रफल छुट्टाइएको छ ।

कम्पनीले २२ रोपनी क्षेत्रफलमध्ये ११ रोपनी ६ आना १ पैसा र १ दाममा २५ वटा एलो स्ट्यान्ड अर्थात् हाउजिङ बनाउने भएको हो । कम्पनीले घरहरूको मूल्य न्यूनतम २ करोड ७४ लाखदेखि अधिकतम ३ करोड ८६ लाख रुपैयाँ तोकेको छ । क्षेत्रफलको आधारमा घरको मूल्य निर्धारण गरिएको हो । उक्त क्षेत्रमा साढे २ तल्लाको घर निर्माण गर्नेछ ।

सुगम कोलोनी
झापाको बिर्तामोडमा शिवम् हाउजिङ प्रालिले बिर्तामोडमै पहिलो सुगम कोलोनी निर्माण गरिरहेको छ । कम्पनीले १ विघा १५ कठ्ठा ६ धुर क्षेत्रफलमा फैलिने ‘सुगम कोलोनी’मा २९ वटा घर बन्नेछ । सबै घर साढे दुई तल्लामा बन्नेछन् । प्रत्येक घर १५ धुर अर्थात ८ आनामा बन्नेछ ।

कम्पनीले उक्त क्षेत्रमा निर्माण भइरहेको प्रत्येक घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकेको छ ।

हरिहर कोलोनी

शिवम् सुगमसँगै बिर्तामोडमै ५ विघा ५ कठ्ठा क्षेत्रफल जग्गामा ७० युनिट घरसहित ‘हरिहर कोलोनी’ निर्माण गरिरहेको छ । कम्पनीले निर्माण भइरहेका ती घरको शुरुवाती मूल्य १ करोड २० लाख रुपैयाँ तोेकेको जनाएको छ ।

कम्पनीले टाइप ‘एच’ को घरलाई १ करोड २० लाख रुपैयाँ तोकेको छ भने भने टाइप ‘आर’को घरलाई १ करोड ७० लाख तोकेको छ । कम्पनीले कस्टमाइजेबल बिल्डिङको भने अप्सन राखेको छ । उक्त घरको अधिकतम मूल्य साढे ४ करोड रहेको छ ।

लभ्ली हिल्स रेसिडेन्सी

पोखराको पस्र्याङ ५ मा ह्वाइट हर्स डेभलपरले अपार्टमेन्टसहित हाउजिङ निर्माण गरिरहेका छन् । कम्पनीले ‘लभ्ली हिल्स रेसिडेन्सी’ नाम दिई अपार्टमेन्टसहित हाउजिङको निर्माण गरेको हो ।

कम्पनीले १० रोपनी क्षेत्रफलमा निर्माण कार्य अगाडि बढाएको जनाएको छ । सो क्षेत्रफलमा २ वटा टावर भएको अपार्टमेन्ट ‘ट्वीन बिल्डिङ’ र १२ वटा घर निर्माण गर्नेछ ।

कम्पनीले २ वटा अपार्टमेन्ट बिल्डिङमा ४६ वटा युनिट र १२ वटा घर निर्माण गर्ने भएको हो ।

कम्पनीले बेसमेन्ट पार्किङसहित १० तल्लाको अपार्टमेन्ट निर्माण गरेको हो । सो निर्माण भएको ट्वीन अपार्टमेन्टमा २३÷२३ वटा युनिटको निर्माण भएको छ ।

कम्पनीले प्रति स्क्वायरफिटको मूल्य १५ हजार रुपैयाँ तोकेको छ । जसमा कम्पनीले ५ सय स्क्वायरफिटदेखि १५ सय स्क्वायरफिटमा अपार्टमेन्ट निर्माण गरेको छ । जसमा उक्त अपार्टमेन्ट र हाउजिङको मूल्य एक करोडदेखि २ साढे २ करोड रुपैयाँ मूल्य तोकेको छ ।

द हब लुम्बिनीको हाउजिङ
सिइ कन्स्ट्रक्सनले नै धार्मिक र इतिहासिक गन्तव्य लुम्बिनीमा तारे होटलसहित हाउजिङ बनाउने कार्यलाई तीब्रता दिएको छ । कम्पनीले लुम्बिनीमा हाउजिङ, अपार्टमेन्ट र तारे होटलको निर्माण कार्य अगाडि बढाएको हो ।

कम्पनीले लुम्बिनीमा ‘द हब लुम्बिनी’ ७ विघा क्षेत्रफलमा उक्त परियोजना शुरु गरेको छ । सात बिघामध्ये करिब ४ बिघा क्षेत्रफलमा हाउजिङदेखि व्यावसायिक अर्गानिक फार्मिङसम्मका प्रोजेक्ट निर्माण गर्ने भएको छ ।

कम्पनीले ‘द हब लुम्बिनी’ परियोजनामा मिक्स रो हाउजिङ, रेष्टुराँ क्लस्टर, वाटरपार्क, व्यवसायीक भवन, होटल शाक्य मुनी, हाउजिङ क्लस्टर, माया अपार्टमेन्ट, सर्भिस जोन र पार्किङको व्यवस्था गर्ने भएको छ ।

जसमा कम्पनीले रो हाउजिङको घरको मूल्य न्यूनतम २ करोड ६० लाखदेखि ३ करोड ४३ लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले हाउजिङ निर्माणको लागि प्रतिआनाको जग्गाको मूल्य १२ लाख तोकेको छ । सो १२ लाख आना रहेको जग्गामा ५ युनिट हाउजिङ बन्नेछ ।

लेक भ्यू अपार्टमेन्ट
त्यसैगरी, सीइ कम्पनीले पोखराकै लेकसाइडमा ‘लेक भ्यू अपार्टमेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले लेकसाइडमा अन्डरग्राउन्डसहित ८ तल्लाको अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

कम्पनीले ३ रोपनी ९ आना ३ पैसा २ दाममा ८ तल्लाको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । उक्त अपार्टमेन्टको ग्राउन्डको क्षेत्रफल १ रोपनी २ आना १ पैसा छ ।

कम्पनीले ३ रोपनी क्षेत्रफलमा ५६ य्ुनिटको अपार्टमेन्ट निर्माण गर्नेछ । जसमा उक्त क्षेत्रमा निर्माण भएको अपार्टमेन्टको मूल्य ३ करोड २८ लाख रुपैयाँ तोकेको छ ।

राधा कृपा अपार्टमेन्ट

नेपालको व्यापारिक केन्द्र वीरगञ्जमा ४६ युनिटको राधे कृपा हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रालीले वीरगञ्जको आदर्शनगरमा सुविधासम्पन्न ‘राधा कृपा हाउजिङ’ निर्माण गर्ने भएको छ ।

कम्पनीले डेढ लाख स्क्वायरफिटको क्षेत्रफलमा राधा र कृपा गरी दुई वटा अपार्टमेन्ट निर्माण गर्ने भएको छ । जसमा उक्त दुई वटा अपार्टमेन्टमा ४६ वटा युनिट बन्नेछ ।

कम्पनीले विभिन्न ८ प्रकारको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । कम्पनीले स्वीमिङ पुल, बालबालिकाका लागि स्प्लास पुल, मदिर, स्पार्टस् रुम, थियटर रुम÷पार्ट हलसहित विभिन्न कोठाको व्यवस्था गरेको छ ।

कम्पनीले निर्माण गरिरहेको अपार्टमेन्टको सेवा सुविधा र क्षेत्रफलको आधारमा मूल्य तोकेको छ । कम्पनीले सामान्यतया एउटा युनिटको मूल्य पौने ३ करोडदेखि ५ करोड रुपैयाँसम्म मूल्य तोकेको छ ।

कम्पनीले फोरबीएचके र फाइबबीएचके बन्ने युनिटको प्रति स्क्वारफिटको मूल्य ११ हजार ५०० रुपैयाँ तोकेको छ । जसमा थप पार्किङको १० लाख ५० हजार, क्लब हाउसको ७ लाख ५० हजार, समाज विकास कोषको ७ लाख ५० हजार रुपैयाँ हुनेछ । उक्त अपार्टमेन्टमा बस्नेका लागि २ वटा कार १ बाइक पार्किङको व्यवस्था हुनेछ ।

त्यस्तै, कम्पनीले थ्रीबीएचके युनिटको पनि प्रति स्क्वारफिटको मूल्य ११ हजार ५०० तोकेको छ भने त्यसमा थप पार्किङको ७ लाख ५० हजार क्लब हाउसको ५ लाख र समाज विकास कोषको ५ लाख रुपैयाँ मूल्य तोकेको छ । निर्माण भइरहेको सो युनिटमा एउटा कार र एउटा बाइक पार्किङ गर्न पाउनेछ ।

सुनगाभा अपार्टमेन्ट

पोखराको फूलबारीमा सद्भावना हाउजिङ डेभलपर्स प्रालिले पोखराको फूलबारीमा कुल ७ रोपनी १० आना क्षेत्रफलमा सुनगाभा अपार्टमेन्ट निर्माण गर्ने भएको छ ।

कम्पनीले ७ रोपनी क्षेत्रफलमा २ तल्ला बेसमेन्टसहित १२ तल्लाको अपार्टमेन्ट निर्माण गर्ने भएको छ ।

कम्पनीले पोखराको फूलबारीका ५२ वटा युनिटको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । उक्त अपार्टमेन्टमा २ र ३ वटा बेडरुम भएको अपार्टमेन्ट निर्माण गर्ने कम्पनीले जनाएको छ । जसमा अधिकांश ३ वटा बेडरुम भएको अपार्टमेन्ट निर्माण हुनेछ ।

कम्पनीले सो अपार्टमेन्टमा बसोबास गर्न चाहनेका लागि साढे २ करोडदेखि साढे ३ करोड रुपैयाँ मूल्य तोकेको छ ।


अरिष्मा मोक्तान