यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक ३ बर्षमा अग्रिमरुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिनसक्ने देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम ५० हजारदेखि आयस्रोतको आधारमा चाहेअनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ ।

साथै न्युनतम ९ बर्षदेखि अधिकतम १८ बर्षसम्मको अवधि कायम गरी १६ बर्षदेखि ५० बर्षका ब्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । बीमा गर्ने ब्यक्ति बीमा अवधिसम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमासमेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।

कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने ब्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रत्येक ३ बर्ष पुरा भएको बीमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनससमेत प्रदान गरिने ब्यवस्था रहेको छ । यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने ब्यवस्था रहेको छ ।

साथै बीमालेख लिएको मितिले ३ बर्ष पुरा भए पश्चात समर्पण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन बर्षपछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरुको पहुँचमा पु¥याउने उद्देश्यले ल्याईएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको बताए ।


क्लिकमान्डु