लाभांशमा लिन लगानीकर्तामा छैन चासो, युनिलिभरले कोषमा पठायो सवा करोड



काठमाडौं । सेयर लगानीकर्ताहरुले कम्पनीले दिएको लाभांश समेत लिन जान छाडेका छन् ।

लगानीकर्ताहरुले लाभांश लिन नगएपछि युनिलिभर नेपालले १ करोड २२ लाख ७२ हजार ६७० रुपैयाँ लगानीकर्ता संरक्षण कोषमा पठाएको छ ।

कम्पनीका अनुसार तीन आर्थिक वर्षमा लगानीकर्ताले लिन नआएको लाभांश कोषमा दाखिल गरेको छ ।

कम्पनीका अनुसार कम्पनी ऐन २०६३ को दफा १८२ र १८३ बमोजिम युनिलिभरले आव २०६९-७०, २०७१-७२ र आव २०७२-७३ को बार्षिक साधारणसभाले पारित गरेको लाभांश लगानीकर्ता लिन नआएपछि कोषमा जम्मा गरेको हो ।

लगानीकर्तालाई उक्त लाभांश रकम लिन आउन पटक पटक सूचना जारी गर्दा समेत नआएको कम्पनीले जनाएको छ । कम्पनीले कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ को दफा ७ को उपदफा (३) बमोजिम माघ २१ गते उक्त रकम दाखिला गरेको जनाएको छ ।


क्लिकमान्डु