लगानीकर्ताको अनुमतिबिना सेयर बेच्ने मल्ल एण्ड मल्ल बोक्ररलाई ७५ हजार जरिवाना



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ ।

कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गरेको भन्दै बोर्डले ब्रोकर नम्बर ११ लाई कारबाही गरेको सेबोन अध्यक्ष रमेशकुमार हमालले बताए ।

लगानीकर्ताहरुको अनुमति बिना सेयर बिक्री गर्ने तथा लगानीकर्ताले समयमा पैसा नतिरेको भन्दै १३ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेको उजुरी तथा गुनासो आएपछि बोर्डले अनुसन्धान गरेको थियो ।

अनुसन्धनका क्रममा ब्रोकरले कानून विपरीत काम गरेको पाइएपछि कारबाही गरेको हो । अध्यक्ष हमालका अनुसार ब्रोकरलाई ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय समेत भएको छ ।

हमालका अनुसार धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ६ बमोजिम कारबाही गरेको हो ।

धितोपत्र बोर्ड निकट उच्च स्रोतका अनुसार ब्रोकरले लामो समयदेखि लगानीकर्तासँग लिखित सम्झौता नगरी सेयर कारोबार गर्ने गरेको गुनासो आउने गरेको थियो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली(२०७५ को दफा १० को ‘ठ’ मा कारोबार सदस्य र लगानीकर्ता बीचमा लिन वा दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धी विषयमा उल्लेख भए अुनसार कारोबार गर्नुपर्ने हो ।

दफा १० को ‘ठ’ले लगानीकर्ताको सेयर बिक्री गर्ने विषय, लिने ब्याजदर दुबै पक्षमा सम्झौता पत्रमा उल्लेख हुनुपर्छ भन्ने व्यवस्था छ ।


सोभित थपलिया