लगानीकर्तालाई थाहै नदिइ सेयर बिक्री गर्ने मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही गर्दै धितोपत्र बोर्ड



काठमाडौं । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गर्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ ।

विभिन्न लगानीकर्ताको सेयर अनुमति बिना बिक्री गर्ने, लगानीकर्ताले समयमा पैसा नतिरेको भन्दै १३ देखि १८ प्रतिशतसम्म ब्याज लिने ब्रोकरलाई कारबाही गर्न लागिएको बार्ड स्रोतले जानकारी दिएको हो ।

धितोपत्र बोर्ड निकट उच्च स्रोतका अनुसार ब्रोकरले लामो समयदेखि लगानीकर्तासँग लिखित सम्झौता नगरी सेयर कारोबार गर्ने गरेको गुनासो आउने गरेको थियो ।

‘ब्रोकरहरुले यस्ता गतिविधि समय समयमा गर्ने गरेको पाइएको थियो,’ स्रोतले भन्यो ‘हामीले त्यस्ता ब्रोकरलाई सचेत गराउने, लगानीकर्तालाई सहज बनाउँदै आएका थियौ, मल्ल एण्ड मल्लको विषयमा धेरै नै उजुरी आयो, अनुसन्धान गर्दा निकै गम्भीर खालका त्रुटी फेला परे ।’

त्यती मात्रै होइन ब्रोकरले लगानीकर्ताले लिएको ऋणमा बिना सम्झौता १३ देखि १८ प्रतिशतसम्म ब्याज लिएको गुनासो आएको र त्यो धितोपत्र ऐनअनुसार नभएको स्रोतको दाबी छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ को दफा १० को ‘ठ’ मा कारोबार सदस्य र लगानीकर्ता बीचमा लिन वा दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धी विषयमा उल्लेख भए अुनसार कारोबार गर्नुपर्ने हो ।

दफा १० को ‘ठ’ले लगानीकर्ताको सेयर बिक्री गर्ने विषय, लिने ब्याजदर दुबै पक्षमा सम्झौता पत्रमा उल्लेख हुनुपर्छ भन्ने व्यवस्था छ ।

दुबै पक्षले लिखित सम्झौता नगरी ब्रोकरले लगानीकर्ताको सेयर बिक्री गर्न पाइदैन, लगानीकर्तासँग मनलाग्दी ब्याजदर लिन पाइन्न ।

यता ब्रोकरका सञ्चालक परमेश्वरभक्त मल्ल ब्रोकरले सेयर किनेपछि पैसा तिर्यो की तिरेन भनेर पनि हेर्नुपर्ने बताउँछन् ।

ब्रोकरले लगानीकर्ताको सेयर बिक्री गर्यो, बढी ब्याज लियो भन्दै गर्दा लगानीकर्ताले पनि पैसा तिरेकी तिरेनन् भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

‘समयमा पैसा नतिर्ने, एउटा खातामा रहेको सेयर अर्को खातामा ट्रान्सफर गरेर बिक्री गर्ने, खातामा आएको बोनस सेयर बिक्री गर्ने गरेका छन्,’ उनले भने ‘पुरानो सेयर ब्रोकरकहाँ हुन्छ, सेयर रजिष्टारले बोनस पठाएको हुन्छ त्यो सेयर पनि नामसारी गरेर, अर्को खातामा नामसारी गरेर समेत बिक्री गर्ने गरेका छन् ।’

लगानीकर्ताले यस्तो गर्दा कतिपय ब्रोकर चल्न नसक्ने अवस्थामा पुग्न लागेको उनको भनाइ छ ।

‘केही समयदेखि एउटा गिरोह नै यस्ता कार्यमा लागेको छ,’ उनले भने, ‘यस्ता गिरोहले समस्या सिर्जना गर्दैछन्, यसबाट धेरै ब्रोकर पीडित छन् ।’

कतिपय लगानीकर्ता बजार घटेको बेलामा सम्पर्क बाहिर हुने र बजार बढेपछि सम्पर्कमा आएर सेयर बिक्री गरेर पैसा तिर्छु भन्दै आउने गरेको मल्लको भनाइ छ । त्यसो गर्दा ब्रोकरको पैसा लामो समयसम्म फस्ने गरेको छ । जसले गर्दा टिप्ल टु मा भुक्तानी नगर्नेलाई ब्याजसहित पैसा लिने गरेको मल्लले स्वीकार गरे । तर उनले ब्याज १२/१३ प्रतिशत मात्रै लिने गरेको बताए ।

सेयर खरिद, बिक्री गरेर नाफा लैजाने, समयमै पैसा नतिर्नेलाई ब्याज लिने गरेको उनको भनाइ छ । पैसा नतिर्ने लगानीकर्तालाई ‘टी प्लस थ्री’ मा ब्याज लिने गरेको उनको भनाइ छ ।

ब्रोकरलाई सम्झौता नगरी सेयर बिक्री गरेको भन्ने आरोप लागेको छ । मल्लका अनुसार पहिला अनलाइनबाट सेयर कारोबार गरेको मात्रै लिखित सम्झौता हुने गरेको र पछि मात्रै अफलाइनको पनि सम्झौता गर्नुपर्छ भन्ने व्यवस्था भएको उनको भनाइ छ ।
आफ्नोमा आएको गुनासो अफलाइन कारोबारको भएको मल्लले स्वीकार गरे । अहिले भने सबैसँग सम्झौता गर्ने गरेको मल्लले बताए ।

यता धितोपत्र बोर्डले लामो समय लगाएर गरेको अध्ययनले भने ब्रोकरले कमजोरी गरेको फेला पारेको छ ।

स्रोतका अनुसार महिनौ लगाएर बोर्डले गरेको अध्ययनले गल्ती गरेको पाइएपछि कारबाहीका लागि सेबोनको सञ्चालक समितिमा लगेको छ । समितिबाट पनि पारित गरेको बोर्ड निकट उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ब्रोकरलाई धितोपत्र ऐन २०६३ को दफा १०१ मा भएको दण्ड सजायमा रहेको उपदफा १ देखि ७ मा रहेको व्यवस्थामा जुन व्यवस्था उलंघन गरेको छ त्यही अनुसार कारबाही हुनेछ ।


सोभित थपलिया