८ महिनामा नेपालको व्यापारघाटा साढे ११ खर्ब नाघ्यो, निर्यात करिब डेढ खर्ब



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापारघाटा साढे ११ खर्ब नाघेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुनमसान्तसम्ममा नेपालले ११ खर्ब ६० अर्ब ९८ रोड ८७ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

नेपालले गत वर्ष सोही अवधिमा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख रुपैयाँ बराबरको मात्रै व्यापारघाटा व्यहोरेको थियो । तर, चालु आवको सोही अवधिमा नेपालको व्यापारघाटा ३४.५० प्रतिशतले बढी व्यापारघाटा व्यहोरेको छ ।

विभागको तथ्याङकअनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ४२.१३ प्रतिशत बढीले वैदेशिक व्यापार गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, नेपालले ८ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको आयात गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले ९ खर्ब ४३अर्ब ९८ करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

त्यस्तै, नेपालले १३ खर्बको आयात गर्दा नेपालबाट भने करिब डेढ खर्बको मात्रै निर्यात गर्न सफल भएको छ । नेपालले ८ महिनाको अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

गत वर्ष सो अवधिमा नेपालले ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपालले चालु आवको ८ महिनाको अवधिमा गत वर्षको तुलनामा ८२.९० प्रतिशतले निर्यातमा वृद्धि गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।


क्लिकमान्डु