राससमा सतर्कता केन्द्रको छड्के: १८ जना समयमा कार्यालय पुगेनन्, ४ जनाले लगाएनन् पोसाक

126
Shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का २२ जना कर्मचारीहरूले तोकिएको नियम पालना नगरेको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा राससका २२ जना कर्मचारीहरूको कैफियत भेटिएको हो ।

केन्द्रले गत जेठ २४ गते गरेको आकस्मिक निरीक्षणका क्रममा राससका कर्मचारीहरूमा समय पालना र अनुशासनको गम्भीर उल्लंघन भएको पाइएको हो ।

सरकारी सञ्चार माध्यमको रूपमा रहेको यस संस्थामा कर्मचारीहरूको आचरण र सेवा प्रवाहको अवस्था बुझ्न केन्द्रले विशेष टोली खटाएको थियो ।

अनुगमनको प्रतिवेदनअनुसार राससमा कार्यरत १८ जना कर्मचारीहरू कार्यालय समयमा ढिलो उपस्थित भएको वा अनुपस्थित रहेको फेला परेको छ ।

त्यसैगरी, ४ जना कर्मचारीले सरकारले तोकेको अनिवार्य पोसाक नलगाएको भेटिएको छ ।

कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय पालना र पोसाक आचरणको अनुगमन गर्दा यस्तो कैफियत देखिएपछि सतर्कता केन्द्रले रासस प्रशासनलाई निर्देशन दिएको छ ।

नियम उल्लंघन गर्ने ती कर्मचारीहरूलाई ‘निजामती सेवा ऐन, २०४९’ को दफा ५५ (क) बमोजिम विभागीय कारबाहीका लागि केन्द्रले सिफारिस गरेको छ ।

करार वा अन्य सेवामा आबद्ध कर्मचारीहरूको हकमा भने सेवा सम्बन्धी प्रचलित कानुन र सम्झौता बमोजिम कारबाही अगाडि बढाउन भनिएको छ ।

केन्द्रले दोषी देखिएका कर्मचारीहरूमाथि गरिएको कारबाहीको विवरण यथाशीघ्र केन्द्रलाई जानकारी गराउन समेत राससलाई पत्राचार गरेको छ ।

सरकारी कार्यालयहरूमा अनुशासन कायम राख्ने अभियान अन्तर्गत केन्द्रले राससमा छड्के अनुगमन गरेको हो ।