डण्डीको मूल्य केजीकै १३० रुपैयाँ पुग्यो, निर्माण व्यवसायी भन्छन्- मूल्य नघटेसम्म काम गर्न सकिन्न



काठमाडौं । निर्माण हुने मुख्य सिजनमै डण्डीको मूल्य मूल्य अप्रत्याशित रुपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेसँगै उद्योगीहरूले डण्डीको मूल्य बढाएका हुनु ।

डण्डी उत्पादक उद्योगीहरूले पछिल्लो दुई सातामै अवधिमै डण्डीको मूल्य प्रतिकेजी ३० रुपैयाँसम्म बढाएका छन् ।

घर निर्माणलगायत ठूला आयोजना निर्माणका लागि अति आवश्यक डण्डीको मूल्य बढ्दा अधिकांश आयोजना प्रभावित भएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बजारमा डण्डीको मूल्य अप्रत्याशित रुपमा बढेकाले काम गर्न नसक्ने स्थितिमा पुगेको बताए ।

साथै, निर्माण व्यवसायीहरू साझा संस्था निर्माण व्यवसायी महासंघले डण्डीको मूल्य नघटाएसम्म निर्माण कार्य अगाडि नबढाउने तयारी समेत गरेको छ । महासंघले मूल्यवृद्धिका कारण काम गर्न नसक्ने भएपछि ‘निर्माण होलिडे’ मनाउने घोषणा समेत गरिसकेको छ ।

बजारमा पछिल्लो समय डण्डीको मूल्य बढेसँगै निर्माण व्यवसायीसँगै उपभोक्ता पनि मारमा परेका छन् । अहिले घर बनाउने सिजन भएकाले पनि उपभोक्ताले चर्को मूल्यमा डण्डी खरिद गर्न बाध्य छन् ।

करिब २ हप्ताअघिसम्म प्रतिकेजी बढीमा ११० रुपैयाँ कायम भएकोमा अहिले प्रतिकेजी १३० रुपैयाँ नाघिसकेको छ ।

बजारमा अत्यधिक मूल्यवृद्धि हुँदा प्रतिकेजी १३० रुपैयाँभन्दा बढीमा खरिद गर्न बाध्यात्मक अवस्था भएको व्यवसायीहरुको दाबी छ ।

हाल बजारमा दर्जनभन्दा बढी कम्पनीका डण्डी उपलब्ध छन् । जसमा मुख्य गरी आरती स्टील, अम्बे स्टील, अशोक स्टील, हामा स्टील, हिमाल स्टील, हुलास स्टील, जगदम्बा, जागशक्ति, लक्ष्मी, पञ्चकन्या, राइनो, साखः, श्रीलगायत कम्पनीका डण्डी उपलब्ध छन् ।

हाल बजारसमा जगदम्बा स्टीलले प्रतिकेजी १३० रुपैयाँदेखि १३३ रुपैयाँमा बिक्री गरिरहेको छ छ । जसमा ८ एमएमको मूल्य प्रतिकेजी १३३ रुपैयाँ छ भने १० एमएम, १६ एमएम र २० एमएमको प्रतिकेजी १३० रुपैयाँमा बिक्री भइरहेको छ ।

सर्वोत्तम स्टील र समृद्धि स्टीलका डण्डी प्रतिकेजी १३१ रुपैयाँमा बिक्री भइरहेका छन् । त्यस्तै, राइनो स्टील १३२ रुपैयाँदेखि १३५ रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, पञ्चकन्या स्टील र अम्बे स्टीलका डण्डी प्रतिकेजी १३० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भइरहेका छन् । अन्य कम्पनीहरूले पनि डण्डीको मूल्य न्यूनतम १२० रुपैयाँमा बिक्री गरिरहेका छन् ।


अरिष्मा मोक्तान