फागुनमा निक्षेप बढाउनेमा माछापुच्छ्रे अगाडि, कर्जामा राष्ट्रिय वाणिज्य बैंक



काठमाडौं । फागुन महिनामा निक्षेप बढाउनेमा माछापुच्छ्रे बैंक अगाडि देखिएको छ । फागुन महिनामा वाणिज्य बैंकहरुले २१ अर्ब ६६ करोड निक्षेप बढाएर १७ अर्ब १५ करोड कर्जा दिएका छन् ।

बैंकर्स संघका अनुसार फागुन महिनामा सबैभन्दा बढी निक्षेप माछापुच्छ्रे बैंकको ४ अर्ब ८१ करोड रुपैयाँले बढेको छ । फागुन महिनामा १५ वटा बैंकको निक्षेप बढेको छ भने ९ वटा बैंकको निक्षेप घटेको छ ।

फागुन महिनामा माछापुच्छ्रेपछि निक्षेप बढाउने बैंकमा स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ । चार्टर्डले ४ अर्ब २ करोड रुपैयाँ निक्षेप बढाएको छ ।

यस्तै एनआईसी ३ अर्ब ४ करोड,राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३ करोड रुपैयाँ निक्षेप बढाएका छन् । प्रभुले ३ अर्ब ७८ करोड रुपैयाँले निक्षेप बढाएको छ । मेगा बैंकले २ अर्ब ७२ करोडले निक्षेप बढाएको छ भने सानिमाले २ अर्ब १३ करोडले निक्षेप बढाएको छ । फागुन महिनामा सबैभन्दा बढी निक्षेप नबिल बैंकको २ अर्ब ७८ करोडले घटेको छ । एभरेष्टको २ अर्ब २५ करोडले निक्षेप घटेको छ ।

निक्षेपमा ३ खर्ब ४ अर्ब निक्षेप राखेर एनआईसी एशिया बैंकले आफ्नो अग्रता कायम रहेको छ भने दोस्रोमा ग्लोबल आएमई बैंकको २ खर्ब ७५ अर्ब निक्षेप रहेको छ ।

माघमा भन्दा बढी कर्जा फागुनमा
माघ महिनाको तुलनामा फागुन महिनामा बैंकहरुले बढी कर्जा दिएका छन् । पुससम्मजस्तो आक्रामकता भने नभएको देखिन्छ । माघ महिनामा १२ अर्बले कर्जा बढाएका बैंकहरुले फागुन महिनामा १७ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

फागुन महिनामा सबैभन्दा बढी कर्जा राष्ट्रिय वाणिज्य बैंकले बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकले फागुन महिनामा मात्र राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ७ करोड रुपैयाँ कर्जा दिएको छ ।

फागुन महिनामा १७ वटा बैंकको कर्जा बढेको छ भने १० वटा बैंकको कर्जा घटेको छ । एनआईसी एशियाले २ अर्ब ७३ करोड रुपैयाँ कर्जा बढाएको छ । १ अर्ब ७० करोडले सिटिजन्स बैंकको कर्जा बढेको छ ।

यस्तै फागुन महिनामा सबैभन्दा बढी कर्जा घट्ने बैंकमा लक्ष्मी बैंक छ । लक्ष्मी बैंकको १ अर्ब ५१ करोडले कर्जा घटेको छ ।

फागुन मसान्तसम्म बैंकहरुसँग ४३ खर्ब ३२ अर्ब निक्षेप छ भने कर्जा ४१ खर्ब ७१ अर्ब छ ।


क्लिकमान्डु