बैंकको ब्याजदर वृद्धिले लघुवित्तमा प्रभाव, पर्याप्त मात्रामा सापटी पाउनै छोडे



काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै गर्दा ब्याजदर पनि बढ्दो क्रममा छ । जसको असर लघुवित्त कम्पनीमा पनि देखिएको छ ।

अहिले ब्याजदर बढेकाले लघुवित्त वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा १४ देखि १५ प्रतिशत ब्याजदर तिर्नुपर्छ ।

यस्तै, केन्द्रीय बैंकले लघुवित्तहरुले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने व्यवस्था गरेको छ ।

लघुवित्त कम्पनीहरुले लिने सापटीको ब्याजदर बढ्दै जाने तर कर्जामा भने १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने भएपछि लघुवित्तमा समस्या उत्पन्न भएको हो ।

लघुवित्त कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर कर्जा लगानी गरेका हुन्छन् । तर, पछिल्लो समय महङ्गो ब्याजदर तिरेर पनि पर्याप्त मात्रामा सापटी पाउन छोडेको लघुवित्त कम्पनीहरुले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थामा बढ्दो ब्याजदरको असरले व्यवसायलाई नै निरन्तरता दिन मुस्किल परेको लघुवित्त कम्पनीहरुको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अत्यधिक मात्रामा बढेको ब्याजदरको कारणले विशेष गरी साना लघुवित्त कम्पनीहरु मारमा परेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राजु शर्माले बताए ।

विशेष गरी साना संस्थाहरु जसको पुँजी कम छ, जुन कम्पनीमा ठूला लगानीकर्ताहरु छैनन्, ती कम्पनीहरु अझै समस्यामा परेको उनको भनाइ छ । ती लघुवित्त कम्पनीहरुको अस्तित्व कसरी बचाउने भन्नेमा अन्यौल्ता सृजना भएको उनले बताए ।

बैंकहरुले ब्याजदर बढाउँदा कतिपय लघुवित्त कम्पनीले व्यवसायलाई निरन्तरता दिनका लागि भए पनि महङ्गो ब्याज मै सापटी लिएर कारोबार धानिरहेको उनको भनाइ छ ।

‘ब्याजदर अत्यधिक बढेका कारणले गर्दा कतिपय लघुवित्त कम्पनीहरुले विजेशनलाई निरन्तरता दिन कै लागि भएता पनि नाफा/घाटा छोडेर कारोबार धानिरहेको अवश्था छ,’लक्ष्मी लघुवित्तका सीइओ समेत रहेका शार्माले क्लिकमाण्डूसँग भने,‘बैैंक तथा वित्तीय संस्थाले जति रेट भन्नुहुन्छ त्यती मै स्वीकार गर्नुपर्ने अवस्था छ ।’

जसले गर्दा माग अनुसार कर्जा दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ । लघुवित्त कम्पनीमा कर्जाको माग भए पनि माग अनुसार कर्जा दिन नसकेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त मात्रामा सापटी नपाए पछि लघुवित्त कम्पनीले ग्राहकको माग अनुसार कर्जा दिन नसकेका हुन् ।

‘कर्जाको माग धेरै छ । तर, बैंक तथा वित्तीय संस्थाहरुबाट हामीले नै महङ्गो ब्याजदरमा भए पनि पर्याप्त मात्रामा सापटी पाउन सकेका छैनौँ,’ शर्माले भने, ‘जसले गर्दा माग अनुसारको कर्जाको पूर्ति गर्न सकेका छैनौँ । ग्राहकहरुले कर्जा पाएका छैनन् ।’

लघुवित्तले ऋणीलाई कर्जा प्रवाह गर्ने मूख्य स्रोत बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी हो । लघुवित्त कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर ग्राहकहरुलाई कर्जा लगानी गर्छन् ।

बैंक तथा वित्तीय संस्थाले दिने सापटीको ब्याजदर बढ्दा लघुवित्तहरुले पनि कर्जा प्रवाह गर्दा लिने ब्याजदर पनि बढ्नु पर्ने हो । तर, राष्ट्र बैंकको नियमअनुसार लघुवित्त कम्पनीहरुले ब्याजदर बढाउन सक्ने अवश्था नभएको शर्मा बताउँछन् ।

केन्द्रीय बैंकले लघुवित्तहरुले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने व्यवस्था गरेको छ । सोही कारणले ब्याजदर बढाउन सकेका छैनन् ।

‘बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाउँदा लघुवित्तहरुले ऋणीका लागि दिईने कर्जाको ब्याजदर पनि बढ्नु पर्ने हो,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशनअनुसार हामीले तत्कालका लागि कर्जाको ब्याजदर बढाउन सक्दैनौं । राष्ट्र बैंकले हामीलाई १५ प्रतिशतको सीमा तोकेको छ ।’

बजार अनुसार ब्याजदर बढाउनका लागि राष्ट्र बैंकसँग पहल गरेको उनले जानकारी दिए । जसका लागि गर्भनरसँग भेटवार्ता समेत गरिएको उनले बताए । उनका अनुसार गर्भनरले पनि लघुवित्त कम्पनीहरुको ब्याजदर बढाउनका लागि गृहकार्य गर्ने बताएको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले लघुवित्त कम्पनीहरुलाई नयाँ कर्जा दिँदा १४ देखि १५ प्रतिशतसम्म लिने गरेका छन् । तर, उनका अनुसार यस्तो ब्याजदर भने बैंक तथा वित्तीय संस्थाअनुसार फरक फरक हुन्छ ।

तर, बैंक तथा वित्तीय संस्थाले लघुवित्त कम्पनीहरुलाई नयाँ कर्जा दिँदा अधिकतम १४ देखि १५ प्रतिशत ब्याजदर लिने गरेका छन् । भने पूरानो कर्जामा पनि प्रिमियम बढाएर १२ देखि १४ प्रतिशतसम्म पुर्याएको उनको भनाइ छ ।

लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकबाट सापटी लिएर ग्रामीण क्षेत्रमा साना साना कर्जा लगानी गर्ने गर्छन् ।

लघुवित्तहरुले ग्रामीण क्षेत्रमा गएर सानासाना कर्जा लगानी गर्ने हुँदा उनीहरुको लागत अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा धेरै हुने शर्माको भनाइ छ ।

अहिले कपिय लघुवित्त कम्पनीहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरिरहेको उनले जानकारी दिए ।


क्लिकमान्डु