चोभार ड्राइपोर्टमा ६ वटा भन्सारबाट प्रवेश गरेका कन्टेनरमात्रै जाँचपास हुने



काठमाडौं । सरकारले चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि मालवस्तु ल्याउन खुल्ला गरेको छ ।

सरकारले राजपत्रमा सूचना जारी गर्दै काठमाडौं जिल्लाको चोभारस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय काठमाडौंमा भन्सार जाँचपासका लागि मालवस्तु ल्याउन खुल्ला गरेको हो ।

काठमाडौंमा स्थापना गरिएको सुक्खा बन्दरगाहबाट सुविधा लिन चाहने पैठरीकर्ताले अनुमतिका लागि मालवस्तु प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयमा नेपाल भन्सार स्वचालन प्रणालीको ट्रान्जिक्ट मोड्युल प्रयोग गरी आवश्यक विवरण घोषणा गरिएको फाराम प्रणालीबाटै मुद्रण सीमास्थित भन्सार कार्यालयको भन्सार अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

सरकारले आन्तरिक परिवहनको अनुमति लिनका लागि प्रतिपत्र खोली पैठरी भएको हुनुपर्ने राजपत्रमा उल्लेख गरेको छ ।

राजपत्रअनुसार चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीहरूबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी भएको हुनुपर्नेछ ।

प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारसम्म भू–मण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित विद्युतीय ट्रयाकिङ प्रणाली भएको ताला लगाएको हुनुपर्नेछ ।

तर गुडाएर लैजाने नयाँ सवारी साधन तथा चेसिसको हकमा जीपीएस ताला आवश्यक पर्ने छैन । चलान भएको स्थानदेखि लगाइएको सिलसिलेवार नम्बरसहितको सिल दुरुस्त भएको हुनुपर्नेछ ।

त्यसैगी, काबु बाहिरको परिस्थिति परेको अवस्थामा बाहेक प्रवेश गरेको भन्सार कार्यालयबाट आन्तरिक परिवहन अनुमति लिएका मालवस्तु ढुवानीको साधन बढीमा ७२ घण्टाभित्र बन्दरगाह भन्सार कार्यालयमा पुर्याउनुपर्नेछ ।

सरकारले जीपीएस ताला उपलब्ध गराउने, कन्टेनरमा लगाएको ताला संकलन गर्ने सम्बन्धी सम्पूर्ण व्यवस्था सम्बन्धित भन्सार कार्यालयको निर्देशन र नियन्त्रणमा रही चोभार सुक्खा बन्दरगाहको सञ्चालकले गर्नुपर्नेछ ।

तालाको व्यवस्थापन गरेवापत लाग्ने शुल्क चोभार सुक्खा बन्दरगाहको सञ्चालकले इन्टरमोडल यातायात विकास समितिको निर्णय बमोजिम पैठरीकर्ताबाट लिन सक्नेछन् ।

त्यसैगरी, आन्तरिक परिवहन गरिने मालवस्तु बन्दरगाह भन्सारमा प्रवेश नगरेसम्म तोकिएका भन्सार कर्मचारीबाहेक अन्य कुनै व्यक्ति वा निकायले बाटोमा खोल्न, रोक्न हेर्न वा जाँच गर्न पाउने छैन ।

सरकारले वीरगञ्ज भन्सार, मेची भन्सार, विराटनगर भन्सार, भैरहवा भन्सार र सुक्खा बन्दरगाह भन्सार सिर्सिया, पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुका हकमा मात्र प्रदान गर्नेछ ।

तर, अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तुलाई यस्तो सुविधा दिन आवश्यक देखिएमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछ ।

राजपत्रम अनुमति पाएका ढुवानी साधन बन्दरगाह भन्सार कार्यालयमा पुगेको दिनदेखि ७२ घण्टाभित्र फर्केमा अस्थायी पैठरी महसुल लाग्ने छैन । सोभन्दा बढी अवधि बसेमा प्रचलितकानून बमोजिम हुनेछ ।


क्लिकमान्डु