त्रिशूली रिभरसाइड रिसोर्टले २५ भिल्लासहितको ‘वान हाउस



धादिङ । त्रिशूली रिभरसाइड रिसोर्टले पर्यटकलाई थप सेवा सुविधासहित एलोन स्टेका रुपमा परिवार लक्षित भिल्ला बनाउने भएको छ ।

रिसोर्टले आफ्नो व्यवसायलाई थप बिस्तार गर्दै ‘वान हाउस, वान फ्यामली’ भिल्ला बनाउने भएको हो ।

एक दशक अघिदेखि साहसिक पर्यटकहरूका लागि र्याफ्टिङ सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक उद्वव कँडेलले आफ्नो व्यवसायलाई थप बिस्तार गर्दै भिल्ला बनाउने तयारी गरेको बताए ।

उनले हाल भएको रिसोर्टको पारीपट्टी २५ परिवारका लागि २५ वटा भिल्ला बनाउने तयारी गरेको बताए ।

रिसोर्टले १५ रोपनी क्षेत्रफलमा ‘वान हाउस, वान फ्यामली’को अवधारणा सहित भिल्लामा विभिन्न सेवा सुविधाको व्यवस्था गर्ने भएको छ ।

‘अहिले रिसोर्टमा मिक्स अप छ,’ उनले भने, ‘तर, आगामी दिनमा एउटा परिवालाई आफ्नो निजी छुट्टै भिल्लाको व्यवस्था हुनेछ ।’

कुनै पनि परिवारले निजी इभेन्ट गर्न चाहेमा सहजै रमाइलो गर्न पाउनेछन् । त्यसैगरी, ३ रोपनी जग्गाको क्षेत्रफलमा गार्डेन मात्रै बन्ने भएको छ ।

‘परिवार घुम्ने मात्रै नभएर फूलबारीमा आनन्दले बसेर रमाउन सक्नेछन्,’ उनले भने ।

त्रिशूलीको हाइवेमा उक्त खालको सेवा सुविधा भएको रिसोर्ट हालसम्म स्थापना नभएको उनले दाबी गरे ।

‘पर्यटन क्षेत्रमा नयाँ प्रकारको स्वाद दिउँ भनेर ‘वान हाउस, वान फ्यामली’को अवधारणामा निर्माण शुरु गरिएको हो,’ उनले भने ।

बच्चासहित सबै परिवार आउँदा बच्चाहरू जताततै जाने हुन्छ । तर, उक्त भिल्लामा मेरो घर भन्ने वित्तिकै कसैले डिस्टर्भ गर्न नसक्ने उनको भनाइ छ । रिसोर्टले दुई रात ३ दिनको प्याकेजको लागि सो भिल्ला तयार गर्ने भएको हो ।

‘भिल्लाबाट ३० मिनेटको दुरीमा सलायम भन्ने ठाउँमा पुग्छ । उक्त ठाउँबाट हिमालहरू देख्ने भएकाले थप नयाँ मनोरञ्जन लिन पाउनेछन्,’ उनले भने ।

विगतका दिनमा त्रिशूलीमा विदेशीहरू मात्रै र्याफ्टिङका लागि आउने गरेको थियो । तर, बिस्तारै विदेशीसँगै आन्तरिक पर्यटकको भिड बढेसँगै व्यापार बिस्तार गर्दै गएको उनले बताए ।

र्याफ्टिङबाट व्यवसाय शुरु गरेका उनले अहिले रिसोर्टसँगै, जिपलाइन, स्काइ साइकिलिङ सञ्चालनमा ल्याइसकेको छ ।

जिपलाइन यसअघि नै सञ्चालनमा आइसकेको छ भने स्काई साइकलिङ भर्खरै सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, आगामी दिनमा पर्यटकलाई थप मनोरञ्जनको व्यवस्था गर्नलाई अन्य गतिविधि पनि बिस्तार गर्ने तयारी गरेको उनले जानकारी दिए ।

‘शुरुवाती चरणमा क्यानोनिङ र र्याफ्टिङ सञ्चालनमा ल्याएको थियो,’ उनले भने, ‘कोरोनापछि जिपलाइन र स्काइ साइकिलिङ सञ्चालनमा ल्याएको छ ।’

काठमाडौंबाट ७० किलोमिटरको दुरीमा रहेको त्रिशूली रिभरसाइड रिसोर्टले सञ्चालनमा ल्याएको स्काइ रोप साइकलिङ नेपालको पहिलो हो । एक करोड लगानीमा सञ्चालनमा ल्याएको स्काइ रोप साइकलिङमा सिङगल र डबल साइकलिङको व्यवस्था गरेको छ ।

दुईतर्फी ३५० मिटरको दुरीमा रहेको स्काइ साइकलिङका लागि प्रतिव्यक्ति १ हजार तिरेर मनोरञ्जन लिन सक्नेछन् । साथै, साइकलिङ गर्दा फोटो तथा भिडियोका लागि ५ सय रुपैयाँ पर्ने रिसोर्टले जनाएको छ ।

त्यसैगरी, रिसोर्टले जिपलाइनबाट गइसकेपछि ल्यान्डिङ हुने स्थानमा रिभरसाइड स्पा एण्ड रिट्रिट रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । हाल सञ्चालनमा रहेको रिसोर्ट आफ्नै भएपनि आगामी निर्माण गर्ने भनिएको भिल्ला र रिसोर्ट भने जग्गा खरिद गरेर निर्माण कार्य अगाडि बढाएको उनको भनाइ छ । उक्त रिसोर्ट १ वर्षमा तयार हुने उनले बताए ।

रिसोर्टले आगामी वैशाख १ गतेदेखि पारिवारिक जमघट र साथीभाइ रमाइलोका लागि सो जग्गामा क्याम्पिङको व्यवस्था गर्ने भएको छ । जसमा धेरै संख्यामा गएका पर्यटकहरूले निजी तरिकारले मनोरञ्जन गर्न पाउनेछन् ।

साथै, स्वीमिङ पुल, स्टिम साउना, ज्याकुजी, बडी मसाजको सेवा सुविधा हुनेछ । हाल भएको रिसोर्टको अकुपेन्सी २७५ जनाको क्षमता छ ।

अर्ग्यानिक पसल सञ्चालन गर्ने
रिसोर्टले सोही क्षेत्रमा अर्गानिक पसल सञ्चालन गर्ने भएको छ । रिसोर्टले गाउँमा उत्पादन भएको सम्पूर्ण तरकारीलगायत अन्य विभिन्न खाद्यान्नको अर्गानिक पसल सञ्चालनमा ल्याउने भएको हो ।

‘त्रिशूलीको झोलुङ्गे पुलको पारी ठूलो फार्म भएकाले उक्त फार्म हाउसमा उत्पादित सिमी, दाल, घिउ, सागलगायत उत्पादन गरेको खाद्यान्न बिक्री गर्नेछौं,’ उनले भने ।

काठमाडौंबाट शुक्रबार र शनिबार आएर रमाइलो गरेर घरमा अर्ग्यानिक कोसेली लाने सक्ने व्यवस्था गर्ने योजना बनाएको उनले बताए ।


अरिष्मा मोक्तान