टेलिकमको सेयर मूल्यमा कर्नरिङको शंका, बोनस खोजेका लगानीकर्ता बने निराश



काठमाडौंं । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले पहिलो पटक बोनस सेयरसहित ४० प्रतिशत लाभांश दिँदा पनि लगानीकर्तालाई आकर्षित भएनन् । २० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांशसहित ४० प्रतिशत लाभांश दिएको भोलिपल्ट अर्थात् मंगलबार र पर्सीपल्ट बुधबारको कारोबार सकिँदासम्म साढे ८ प्रतिशतले ओरालो लागिसकेको छ ।

कम्पनीले राम्रो बोनस सेयर दिन्छ भन्ने भित्री सूचनाका आधारमा कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता फागुन १० गते १७७९ रुपैयाँसम्म पुगेको थियो । तर लाभांश आएपछि घट्न थालेको सेयर मूल्य घट्न थालेको छ ।

कम्पनीले मंगलबार लगानीकर्तालाई २० प्रतिशत बोनस र २० प्रतिशत नै नगद लाभांश दिने घोषणा गर्यो । बोनस दिने घोषणा गर्नुअघि नै घट्न थालेको कम्पनीको सेयर मूल्य अहिले पनि कायमै छ । बोनस घोषणा गरेको दिन प्रतिकित्ता ८८ रुपैयाँले घटेर १६२६ रुपैयाँ रहेको थियो ।

बुधबार पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८ रुपैयाँ घटेर प्रतिकित्ता १५६८ रुपैयाँ रहेको छ । कम्पनीले बोनस घोषणा गरेलगत्तै अर्थात दुई दिनको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँले घटेको छ ।

पछिल्लो समयमा कम्पनीले बोनस सेयर दिन्छ भन्ने हल्ला फैलाएर पनि कम्पनीको सेयर मूल्य बनाउने भन्दै केही लगानीकर्ताले यसको मूल्य कर्नरिङ गरेको आरोप पनि लागेको थियो । केही लगानीकर्ताले धेरै बोनस आउने भनेर लगानीकर्तालाई लोभ्याएका थिए । तर त्यो पुरा हुन सकेन । जसको असर दुई दिनको कारोबारमा परेको छ ।

कम्पनीले बोनस सेयर दिन्छ भनेर केही ठूला लगानीकर्ताले हल्ला चलाएका कारण धेरैको सम्पत्तिमा ह्रास आएको छ । केही लगानीकर्ताले अघिल्लो वर्षपनि टेलिकमले बोनस सेयर दिने भनेर हल्ला चलाएर मूल्य बढाएका थिए । तर, टेलिकमले बोनस सेयर दिएको थिएन । यो वर्ष पनि त्यस्तै हल्ला चलाएर बजार बढाएको भएपनि लगानीकर्ताले केही बोनस त पाए । तर अपेक्षा अनुसार पाउन सकेनन् । जसको असर बजारमा देखिएको जानकारहरुको तर्क छ ।

एक लगानीकर्ताका अनुसार बोनस सेयरको हल्लापछि कम्पनीका केही अधिकारी मार्फत निश्चित ब्रोकरबाट सेयर कारोबार भएको थियो । ब्रोकरले अनुकुल अनुसार लगानीकर्तालाई भनेर सेयर उठाएर मूल्य बढाएको र मूल्य उच्च बिन्दुमा पुगेपछि कर्नरिङ गर्नेहरु सेयर बिक्री गरेर बाहिरिएको ती लगानीकर्ताको दाबी छ । जसको असर अहिले बजारमा परेको र सोझा लगानीकर्ता फसेका छन् ।

कुन वर्ष कति दियो लाभांश ?

कम्पनीले आव २०७०/७१ मा ४७ प्रतिशत र आव २०७१/७२ मा ५० प्रतिशत नगद लाभांश दिएको थियो । साथै, आव २०७२/७३ मा ५१ प्रतिशत र आव २०७३/७४ मा ५५ प्रतिशत र २०७४/७५ मा ५५ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले २०७५/७६ मा ४५ प्रतिशत र आव २०७६/७७ मा ४० प्रतिशत नगद लाभाशं दिएको थियो ।

बैंक र बीमाजस्तो पुँजी बढाउनुपर्ने बाध्यता नेपाल टेलिकमलाई नहुँदा पनि बोनस सेयर दिएको हो । १५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले बोनस सेयर दिएपछि पुँजी १८ अर्ब रुपैयाँ हुनेछ । सरकारी लगानीको टेलिकममा ९२ प्रतिशत सेयर हिस्सा सरकारको छ ।


क्लिकमान्डु