खर्च घटाउन सामूहिक सर्भर चलाउँदा लगानीकर्ताले दुःख पाए, आफ्नै सर्भर कहिलेदे‍खि चलाउलान् ?



काठमाडौं । सोमबार कारोबार शुरु भएको १ घन्टा ५३ मिनेटपछि सेयर कारोबार हुन सकेन । ब्रोकरहरुले सामूहिक रुपमा सञ्चालन गरेको टीएमएस सिस्टममा समस्या देखिएपछि दिनभर रिकभर भएन र कारोबार ठप्प भयो ।

धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले आफ्नै डेटा सेन्टर राख्दा लगानीकर्ताले दुःख पाएको जानकारहरुको टिप्पणी छ । नियामक निकायले कानून निर्माणमा ढिलाइ गर्दा असर लगानीकर्तामाथि परेको उनीहरुको भनाइ छ ।

हाल सञ्चालित ५० वटा ब्रोकरमध्ये करिब १५ वटाले मात्रै व्यक्तिगत रुपमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् । बाँकी ब्रोकर कम्पनीले संयुक्त रुपमा सेयरिङ मोडेलमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् ।

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ३० वटा ब्रोकरको टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द भएको बताए । उनले यसप्रकारको समस्या धेरै पछि देखिएको बताए ।

नेप्सेले २०७५ वैशाखमा ब्रोकरहरुलाई आफ्नै डेटा सेन्टर राख्न निर्देशन दिएको थियो । तर केही ब्रोकरहरुले छुट्टाछुट्टै सर्भर सञ्चालन गर्दा बढी लागत पर्ने भएपछि सामूहिक रुपमा डेटा सेन्टर प्रयोग गर्दै आएका छन् ।

सोही कारण अहिले सर्भर इररका कारण सबै ब्रोकरको सिस्टममा समस्या देखिएको हो ।

नेप्सेले २०७४ कात्तिक २९ गते अनलाइन कारोबारको शुरुवात गरेसँगै ब्रोकरहरुलाई २०७५ वैशाखदेखि छुट्टाछुट्टै डेटा सेन्टरका लागि आन्तरिक सर्कुलर जारी गरेको थियो ।

‘नेप्सेले २०७५ वैशाखमै ब्रोकरलाई क्षमता अनुसारको आफ्नै डाटा सेन्टर तथा सर्भर राख्न भनेको थियो,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ‘तर हालसम्म अधिकांश ब्रोकरले आफ्नै डेटा सेन्टर र सर्भर राख्न सकेका छैनन् ।’

नेप्सेले ब्रोकरलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरी लगानीकर्तालाई सहज सेवा दिने उद्देश्यले धितोपत्र कारोबार सञ्चालन विनियमावली पनि संशोधन गरी बोर्डमा पठाइसकेको छ । तर बोर्डले काम नगर्दा कार्यान्वयन हुन सकेको छैन ।

धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्वबिहीनहुँदा विनियमावली संशोधनको काम अघि बढ्न सकेको थिएन । तर, अहिले बोर्डमा अध्यक्ष आइसकेपछि रोकिएको संशोधनको काम धमाधम हुने अपेक्षा नेप्से र ब्रोकरहरुको छ ।

ब्रोकरहरुले तत्कालीन समयमा सामूहिक सर्भरका लागि वाइकोलाई जिम्मेवारी सुम्पिएका थिए ।

‘वाइकोलाई आउट सोर्सिङ गर्दा ब्रोकरहरुले कुनै समस्या नआउने दाबी थियो तर सोमबार समस्या आयो । समयमै सचेत नहुने हो भने समस्या फेरि नदोहोरिएला भन्न सकिन्न,’ नेप्सेका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी सामूहिक सर्भर सञ्चालनको जिम्मेवारी पाएको वाइको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिपेश प्रधान ब्रोकरहरुले सेयरिङमा डेटा सेन्टर राखेर सधै चलाउन नसक्ने बताउँछन् ।

‘अहिले ब्रोकरहरुको डेटा सेन्टरमा कुनै समस्या आयो भने समाधान कसरी गर्ने भन्ने विकल्प छैन,’ प्रधानले भने, ‘अब ब्रोकरहरुले डेडिकेटेड सर्भर राख्नै पर्छ । साथै प्रयोगकर्ता अनुसार क्षमता पनि अभिवृद्धि आवश्यक छ ।’

उनले ब्रोकर कम्पनीले यस्ता समस्या नदोहोर्याउनका लागि २ वटा डेटा सेन्टर राख्नुपर्ने सुझाव दिए । ब्रोकरले अहिले नै डेटा रिकभरी सिस्टम नराख्ने हो भने समस्या आउँदा अरुलाई देखाएर पन्छिन नमिल्ने उनको भनाइ छ ।

प्रधानले ब्रोकर र नेप्से दुबैले उपत्यका बाहिर पनि डेटा सेन्टरको बैकल्पिक व्यवस्था गर्नुपर्ने बताउँछन् ।

‘काठमाडौंमा रहेको डेटा सेन्टरमा कुनै समस्या आयो भने अहिले विकल्पको व्यवस्था छैन । तर बैकिल्पक व्यवस्था आवश्यक छ,’ उनले भने ।

८० लाखदेखि २ करोड खर्च लाग्ने
ब्रोकरहरुले छुट्टाछुट्टै नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सञ्चालनका लागि न्यूनतम ८० लाखदेखि २ करोड रुपैयाँसम्म खर्च लाग्छ । तर लागत बढी पर्ने भएकाले ब्रोकरहरुले सामूहिक रुपमा सर्भर प्रयोग गरिरहेका छन् ।

तत्कालीन समयमा ५० वटै ब्रोकरले आफ्नै नट्स राख्न सक्दैनौ भनेका थिए । शुरुमा नेप्सेले आफै डाटा सेटर सञ्चालनका विषयमा नसोचेको होइन, तर त्यसले पछि समस्या आउने देखिएपछि कम्पनीलाई नै भनिएको थियो ।

ब्रोकरहरुले पनि तत्कालीन समयमा विभिन्न कम्पनीमा डाटा सेन्टर खोज्दै हिँडेका थिए । तर पछि डेटा हबसँग सम्झौता गरी सर्भर प्रयोग गरेका थिए ।

ब्रोकर एसोसिएसनका अध्यक्ष मैनालीका अनुसार ब्रोकरले लगानीकर्ता र कारोबार रकमको आकार अनुसार सोही क्षमता अनुसारको डेटा सेन्टर राख्दै आएका छन् ।

उनका अनुसार ठूलो रकमको कारोबार गर्ने तथा धेरै लगानीकर्ता भएका ब्रोकरले आफ्नै डेटा सेन्टर राखेका छन् भने थोरै रकमको कारोबार गर्ने, थोरै लगानीकर्ता रहेका ब्रोकरले सेयरिङमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् ।

उनले लगानीकर्ता तथा कारोबार रकम पनि बढ्दै जाँदा सर्भरको क्षमता बढाउनु पर्ने हुन्छ । यस्तो अवस्थामा ब्रोकर कम्पनीहरुले ठूलो लगानी गर्नुपर्ने बताए । जुन तत्काल सम्भव नभएको उनको भनाइ छ ।

नेप्सेलाई दोष दिएर पन्छिँदै ब्रोकर कम्पनी
सेयर बजारमा लगानीकर्ताका लागि कहिले नेप्से, वाइको र ब्रोकर आफ्नै कारणले पनि समस्या आउँछन् । समस्या जसका कारण आए पनि ब्रोकरहरु भने नेप्सेलाई नै दोष दिँदै आएको छ ।

सोमबार पनि समस्या आउँदा ब्रोकर कम्पनीहरुले नेप्सेलाई नै दोष देखाएका थिए ।

‘एकजना लगानीकर्ताको फोन आयो, उनले टीएमएसमा समस्या आएको रहेछ, कहिले बन्छ भनेर प्रश्न गरे,’ नेप्सेका एक अधिकारीले भने, ‘मैले नेप्सेको प्रणालीमा समस्या छैन, ब्रोकरलाई नै सोध्नु भनेको भनेर जवाफ दिएँ । फोन गर्ने लगानीकर्तालाई ब्रोकरले नेप्सेमै सोध्न लगाएको उनले मलाई बताए ।’

उनले आफ्नो कमजोरी हुँदा पनि ब्रोकर कम्पनीहरु नेप्सेलाई नै दोष दिएर उम्कन खोजेको बताए ।

ब्रोकरहरुले समयमा नै आफ्नै डेटा सेन्टर नराख्ने हो भने यस्ता समस्या फेरि दोहोरिने नेप्सेका ती अधिकारीको भनाइ छ ।


सोभित थपलिया