निर्देशन नमान्ने १४ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लघन गरेको भन्दै १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकको सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा निर्देशन उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र सेञ्चुरी बैंक छन् ।

केन्द्रीय बैंकले प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात कायम नगरेको भन्दै कारबाही स्वरुप १ लाख ८० हजार ४३० रुपैयाँ जरिवाना गराएको छ ।

साथै, नेपाल बैंकलाई बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन तथा नेपाल बैंकले एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना नगरेको भन्दै कारबाही गरिएको हो । यसका लागि राष्ट्र बैंकले बैंकका सीइओलाई सचेत गराएको छ ।

साथै, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकले पनि बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेको भन्दै बैंकका सीइओहरुलाई सचेत गराएको हो ।

त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड र एनएमबि बैंकलाई भने कूल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेको भन्दै कारबाही गरिएको हो ।


क्लिकमान्डु