४५ लघुवित्तको लाभांशः जीवन विकासको सबैभन्दा धेरै, कस्को कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत लघुवित्तहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिहेका छन् । सूचीकृत हालसम्म लघुवित्तमध्ये ४५ लघुवित्तले लाभांश घोषणा गरेका छन् ।

४५ लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्ताका लागि वितरण गरिने लाभांश घोषणा गरेका हुन् । तीमध्ये केही लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन् ।

यस्तै, नेप्सेमा सूचीकृत भएका तीन लघुवित्तले भने गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । ग्रामीण लघुवित्त, मानुषी लघुवित्त र समाज लघुवित्तले गत आवको मुनाफाबाट लगानीकर्तालाई मुनाफा घोेषणा गर्न बाँकी रहेका कम्पनी हुन् ।

सामूदायिक लघुवित्त, घोडाघोडी लघुवित्त र नेपाल सेवा लघुवित्तले भने लाभांश घोषणा नगरी साधारणसभा गरिसकेका छन् ।

४५ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्तले ७३.३८ प्रतिशत र सबैभन्दा कम एनआइसी लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् ।

जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो भने एनआइसी लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश साधारणसभाबाट पारित समेत भएको छ ।

जीवन विकास लघुवित्तपछि धेरै लाभांश घोषणा गर्ने लघुवित्तमा महिला परेको छ । महिला लघुवित्तले गत आवको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यस्तै, महिला लघुवित्तपछि धेरै लाभांश दिने लघुवित्तको सूचीमा नेसनल माइक्रोफाइनान्स परेको छ । गत आवको मुनाफाबाट नेशनलले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

त्यस्तै, फर्वाड माइक्रोफाइनान्सले ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद, स्वाभिमान लघुवित्तले ३२.३ प्रतिशत बोनस र १.७० नगद, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस र १.६३ प्रतिशत नगद, सर्पोट लघुवित्तले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद, उन्नती सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस र वोमी लघुवित्तले २० प्रतिशत बोनस घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये ६ वटाले २० प्रतिशतभन्दा कम लाभांश दिने घोषणा गरेका छन् । २० प्रतिशतभन्दा कम लाभांश घोषणा गर्ने कम्पनीको सूचीमा एनआईसी एशिया, मनकामना लघुवित्त, फस्ट माइक्रोफाइनान्स, कालिका लघुवित्त, गुँरास लघुवित्त र आरएसडिसी छन् ।

एनआइसी एशिया लघुवित्तले ५.४१ प्रतिशत, मनकामना लघुवित्तले १७ प्रतिशत, फस्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत, गुराँस लघुवित्तले १७.८ प्रतिशत, आरएसडिसी लघुवित्तले १०.५३ र कालिका लघुवित्तले १३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।
अरु कम्पनीले भने २० प्रतिशतभन्दा माथि लाभांश दिने घोषणा गरेका छन् ।

अधिकांश कम्पनीले बोनस सेयर मात्रै दिने घोषणा गरेका छन् । केही कम्पनीले नगद लाभांश नदिइ बोनसमात्रै दिने प्रस्ताव गरेका छन् ।

नगद लाभांश नदिने कम्पनीहरुमा मिर्मिरे लघुवित्त, समिट माइक्रो फाइनान्स, कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सूर्योदय लघुवित्त, महुली लघुवित्त, उन्नती सहकार्य लघुवित्त, किसान लघुवित्त र आरम्भ चौतारी लघुवित्तले बोनस सेयर मात्रै दिने निर्णय गरेका हुन् ।


क्लिकमान्डु