रुस-युक्रेन द्वन्द्वः ५६२ नेपालीको उद्दार



लन्डन । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीको उद्दार गरिएको छ । उनीहरु अहिले सुरक्षित स्थानमा रहेको बताइएको छ ।

गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट विस्तापित भएर विभिन्न देशका सिमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर जागेका छन् ।

ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ प्रोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राज कुमार थापाले जनाकारी दिए । थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन प्रोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेल सहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सिमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काले जानकारी दिए ।

यसअघि उद्दार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको छ ।

युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहल समेत भैरहेको जनाएको छ ।


क्लिकमान्डु